बस्नेत बढुवाको विरोध

काठमाडौं : एड्भोकेसी फोरमले सरकारले मानवअधिकार उल्लंघनका  आरोपी महासेनानी राजु बस्नेतलाई सहायक रथीमा बढुवा गरेकोमा आपत्ति जनाएको छ ।
एड्भोकेसी फोरमका निर्देशक डा. हरिवंश त्रिपाठीले शुक्रबार विज्ञप्तिमार्फत उक्त निर्णयले सरकार द्वन्द्वका क्रममा मानवअधिकार उल्लंघनमा मुछिएकालाई योजनाबद्ध रूपमा पूर्ण क्षमादान दिन लागिपरेको पुष्टि भएको जनाएका छन् । ‘सशस्त्र द्वन्द्वकालमा काठमाडौंस्थित भैरवनाथ गणको गणपति हुँदा हिरासतमा राखिएका ४९ जना व्यक्ति बेपत्ता पारेको र सयौँलाई चरम शारीरिक यातना दिएकोमा राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयले अनुसन्धानबाट दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरेकोमा,’ विज्ञप्तिमा भनिएको छ, ‘कारबाहीको सट्टा सरकारले बढुवा गरेर पुरस्कृत गर्नुले दण्डहिनता पूर्णरूपमा संस्थागत भएको पुष्टि हुन्छ ।’
सरकारको उक्त निर्णय शान्ति–सम्झौता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको मर्मविपरीत रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘एकातिर द्वन्द्वकालको बेपत्तालगायत घटनाको सम्बोधन गर्न भन्दै अध्यादेशमार्फत सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिनसम्बन्धी आयोगको विधेयक राष्ट्रपतिसमक्ष गर्ने अर्काेतिर द्वन्द्वकालै सर्वपरिचित भैरवनाथ घटनामा संलग्नलाई बढुवा गरेर सरकारले दोहोरो चरित्र देखाइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । (सौस)

प्रतिक्रिया