२५ हजार हेक्टर जंगल अतिक्रमण

कैलाली, २० असोज । भू–माफियाहरूले कैलालीका २५ हजारभन्दा बढी जंगल अतिक्रमण गरेको छ । भू–माफियाहरूले बाढीपीडितको नाममा कैलालीको मसुरिया र भजनी क्षेत्रको जंगल अतिक्रमण गरेको हो । कैलालीका जिल्ला वन अधिकृत राजेन्द्रमानसिंह भण्डारीले मसुरियामा ६० र भजनीका सयभन्दा बढी परिवारले बाढीपीडितको नाममा जंगल अतिक्रमण गरेको बताए । उनीहरूलाई जिल्ला वन कार्यालयले हटाउन पहल गरिरहेको उनले बताए । दुई/तीन वर्षयता बाढी–पहिरोपीडितका नाममा जंगल अतिक्रमण गर्ने कार्य तीव्र रूपमा बढेको उनको भनाइ छ । हालसम्म २५ हजार हेक्टर बढी सरकारी वन अतिक्रमण भएको जिल्ला वन कार्यालय कैलालीले जनाएको छ ।
वन कार्यालयका अनुसार रतनपुरको भइया फाटा, खैलाडको झलझलिया, रामशिखरझालाको दहीछाप, चौमलाको खुटिया किनार र जिल्लाको अन्य क्षेत्रमा वन क्षेत्र बाढीपीडितको नाममा अतिक्रमित भएको भण्डारीले बताए । कैलालीमा ०६५ सालपछि बाढीपीडितको नाममा वनजंगल अतिक्रमण हुँदै आएको छ । त्यतिबेलाका विस्थापित भएका केही घरपरिवारलाई अर्को बसोवास नभएसम्मका लागि राज्यले जंगलछेउमा घरटहरा बनाउन दिएको थियो । त्यसपछि भूमाफियाहरूले हरेक वर्ष भूमिहीन केही घरपरिवारलाई विभिन्न स्थानबाट ल्याएर बाढीपीडितको नाममा वनजंगलभित्र बसाउने गरेका छन् ।
त्यसअघि भूमाफियाहरूले सुकुम्बासी र मुक्त कमैयाको नाममा वनजंगल अतिक्रमण गर्थे । भण्डारीले भने, ‘मुक्त कमैयाको पुनस्र्थापनाको कार्य लगभग सकिन थालेपछि भूमाफियाले बाढीपीडितको नाममा वनजंगल अतिक्रमण गर्न थालेका छन् ।’ एक वर्षअघि जिल्लाको डुडेझाडीमा वन अतिक्रमण गरी बसेकाहरूलाई हटाउन सरकारले सशस्त्र प्रहरी परिचालन गरेको थियो । उक्त घटनामा पाँचजनाको मृत्यु भएको थियो । अतिक्रमणकारीले वर्षात्को समयमा बाटो–घाटो बन्द हुने भएकाले उक्त समयमा वनजंगल अतिक्रमण गर्ने गरेका छन् ।

प्रतिक्रिया