प्रधानमन्त्री बन्न दाहालपनि उत्सुक

काठमाडौं, १९ असोज । एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले सहमतीय सरकारको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले लिन चाहेको बताए ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘अहिलेसम्म दलहरुवीच सहमति बन्न नसक्नुको प्रमुख कारण सरकारको नेतृत्व नै हो ।’ उनले अध्यक्ष दाहाल पनि प्रधानमन्त्री बन्न तयार रहेको उल्लेख गरे ।
एमाओवादी नेता गजुरेलले मुलुकको समस्या बल्झीनुको प्रमुख कारण कांग्रेसले नेतृत्वको दावी गर्नु रहेको बताए ।
कांग्रेस र एमाले तथा नेकपा–माओवादीबीच भएको सहकार्यप्रति आफूहरुमा आशंका जन्माएको उनको टिप्पणी छ ।
उनले भने, ‘संविधानसभाको विरोध गरिरहेको नेकपा–माओवादीसँग कांग्रेस–एमालेको सहकार्यप्रति आशंका उब्जीएको छ ।’ उनले नयाँ संविधानका लागि अन्तर्राष्ट्रिय समर्थन चाहिएको बेला भारतीय नम्बर प्लेटका सवारी साधन र चलचित्र रोक्ने कामले आशंका उब्जीएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले सभापति सुशील कोइराला सहमतीय सरकारको प्रधानमन्त्री बन्ने बताए । उनले नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच प्रधानमन्त्री बन्ने विषयमा विवाद भएकाले कोइराला नै प्रधानमन्त्रीको उम्मेदवार रहेको बताए ।
राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले सरकारको नेतृत्वको विषयमा दलहरुवीच सहमति बन्ने सम्भावना नरहेको बताए ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सहमतीय सरकारको नेतृत्वमा मधेसी मोर्चाले पनि दावी गर्ने बताए ।

प्रतिक्रिया