निगमको घाटा ७५ करोड

काठमाडौं, १९ असोज । नेपाल आयल निगमको मासिक घाटा ७५ करोड ३१ लाख रुपियाँ पुगेको छ । भारतीय आयल निगमले १ अक्टोबरमा पठाएको नयाँ मूल्य सूचीअनुसार निगमको घाटा बढेर ७५ करोड नाघेको हो । अघिल्लो महिना निगमको घाटा ७२ करोड रुपियाँ रहेको थियो ।
नयाँ मूल्य सूचीअनुसार अहिले निगमलाई एलपी ग्यासमा प्रतिसिलिन्डर पाँच सय ८० रुपियाँ घाटा रहेको जनाएको छ । योसँगै एलपी ग्यासमा मात्र निगमको कुल घाटा ६९ करोड ६१ करोड रुपियाँ पुगेको जनाएको छ । यस्तै, डिजेलमा प्रतिलिटर सात रुपियाँ ६८ पैसा घाटा रहेको र डिजेलमा कुल घाटा ४३ करोड ३९ लाख रुपियाँ रहेको जनाएको छ ।
नयाँ मूल्य सूचीअनुसार अहिले पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ १३ पैसा, मट्टितेलमा पाँच रुपियाँ ५४ पैसा, आन्तरिक हवाई इन्धनमा १७ रुपियाँ २३ पैसा र कर छुटसहित अन्तर्राष्ट्रिय हवाई इन्धनमा २१ रुपियाँ ९६ पैसा प्रतिलिटर नाफा रहेको निगमले जनाएको छ । यो मूल्यअनुसार पेट्रोलमा अहिले १३ करोड ८२ पैसा कुल नाफा रहेको छ । साथै, मट्टितेलमा तीन करोड ३२ लाख, आन्तरिक हवाई इन्धनमा पाँच करोड ३८ लाख र कर छुटसहित अन्तर्राष्ट्रिय हवाई इन्धनमा १५ करोड ३८ लाख रुपियाँ कुल नाफा रहेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारतीय आयल निगमले पठाएको मूल्य सूचीअनुसार घाटा बढेको निगमले जनाएको छ । अहिले नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने सम्भावना नरहेकाले घाटासमेत कम नहुने निगमले जनाउँदै आएको छ ।
लामो समयदेखि निगम घाटामा गइरहेको छ । सधैँ घाटामा जाने निगममा वार्षिक दुई अर्ब रुपियाँभन्दा बढी चुहावट हुने गरे पनि निगम प्रशासनले यसलाई घटाउन सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा सोही अनुपातमा नेपाली बजारमा पनि मूल्य समयोजना गर्ने बताए पनि निगमले अहिलेसम्म पनि यसतर्फ ठोस कार्य अघि बढाउन सकेको छैन । सोही कारण निमगको छवि दिन प्रतिदिन खस्कँदै गइरहेको छ । यता चाडपर्वको सुरुवातसँगै तेलको खपत बढ्दो अवस्थामा रहेकाले यसतर्फ पनि निगमले ठोस रणनीति अख्तियारी गर्नसकेको छैन ।

प्रतिक्रिया