अफगानमा मिलापको पक्षमा रुस

इस्लामावाद : अफगानिस्तानमा राष्ट्रिय मेलमिलाप स्थापना हुनुपर्ने रुसले जनाएको छ । सन् २०१४ मा नेटो सेना अफगान युद्धबाट फर्किने तय भएपछि रुसले बिहीबार यस्तो धारणा राखेको हो । अफगानिस्तानमा दिगो शान्ति तथा स्थिरता कायम गर्न मुलुकको भविष्य निर्माणको जिम्मा अफगान जनताले नै पाउनुपर्नेमा समेत रुसले जोड दिएको छ ।
पाकिस्तानी समकक्षी हिना रब्बानी खारसँगको संयुक्त पत्रकार सम्मेलनमा रुसी विदेशमन्त्री सेर्गे लाभ्रोभले यस्तो बताएका हुन् । अफगानिस्तानको भविष्यप्रतिको लाभ्रोभको भनाइ खारको धारणासँग मिल्जोजुल्दो थियो । दुई विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा पनि छुट्टै छलफल भएको थियो । स्मरण रहोस्, शीत युद्धताका अफगानिस्तानमा रुसले हमला गरेको थियो । त्यतिबेला अमेरिकाको रणनीतिक साझेदार राष्ट्र पाकिस्तानले अमेरिकासँग मिलेर रुसको सशक्त प्रतिरोध गरेको थियो ।
पत्रकार सम्मेलनमा रुसी विदेशमन्त्री लाभ्रोभे आर्थिक तथा राजनीतिक क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी दिए । पाकिस्तानसँग सम्बन्ध सुधार्ने पक्षमा आफू रहेको धारणा उनले व्यक्त गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाकिस्तान भ्रमण गर्ने चर्चा यसअघि चलेको भए पनि भ्रमण मिति पर सरेको छ । यस विषयमा विदेशमन्त्री लाभ्रोभले भने, ‘व्यस्तताका कारण समय मिलाउन नसकेर राष्ट्रपतिले पाकिस्तान भ्रमण गर्न पाउनुभएन । यस विषयमा हाम्रा राष्ट्रपतिले आफ्ना पाकिस्तानी समकक्षी असिफ अली जर्दारीलाई अवगत गराइसक्नुभएको छ ।’ दुई मुलुकका राष्ट्रपतिबीच चाँडो भेट होस् र द्विपक्षीय सम्बन्ध थप विस्तार होस् भन्ने आफ्नो चाहना रहेकोसमेत लाभ्रोभले उल्लेख गरे ।
भारत र पाकिस्तानबीचको सम्बन्धमाथि टिप्पणी गर्दै उनले दुई मुलुकबीच सम्बन्ध सुधारका पक्षमा भइरहेको कामले रुसलाई उत्साहित बनाएको जिकिर गरे । दुवै मुलुक द्विपक्षीय सम्बन्धमा देखापरेका समस्या र उल्झन हटाउन सक्षम रहेको विश्वास व्यक्त गरे । आतंकवादको चुनौती समाधानका लागि पाकिस्तानले देखाएका क्रियाशीलता र अग्रसरताको रुसले सदैव समर्थन गरेकोसमेत उनले उल्लेख गरे ।
पत्रकार सम्मेलनमा पाकिस्तानी विदेशमन्त्री खारले गत वर्ष पाकिस्तानी राष्ट्रपति जर्दारीको रुस भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ उचाइ थपेको बताइन् । अफगानिस्तानमा दुवै राष्ट्रका साझा हित रहेको जिकिरसमेत उनले गरिन् । साझा हित रक्षाका लागि अन्तर्राष्ट्रिय फोरममा दुई मुलुकबीच सहकार्य हुने विश्वाससमेत उनले व्यक्त गरिन् । (एजेन्सी)

प्रतिक्रिया