रुसद्वारा नेटोलाई चेतावनी

मस्को : सिरियामा सैन्य हस्तक्षेप गर्ने विचार सपनामा पनि नगर्न रुसले चेतावनी दिएको छ । सिरियामा ‘बफर जोन’ स्थापना गर्ने कुराको पनि रुसले विरोध गरेको छ ।
मंगलबार राजधानी मस्कोमा आयोजित पत्रकार सम्मेलनमा रुसी उपविदेशमन्त्री गेन्नेडी गाटिलोभले यस्तो चेतावनी दिएका हुन् । सिरियामाथि शक्ति प्रयोग गर्ने कुनै पनि बहाना नखोज्न उनले नेटोसहित अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिए । सिरियामा मानवीय सहयोगका लागि ‘मानविकी करिडोर’ अथवा ‘बफर जोन’ स्थापना गर्ने प्रसंग चलिरहेका बेला
यस्ता कुनै सम्भावनातर्फ नसोच्नसमेत उनले सजग गराए ।
त्यसैगरी, इरानी विदेशमन्त्री अली अकबर सालेहीले पनि सिरियाली द्वन्द्वमा हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय शक्तिलाई चेतावनी दिएका छन् । ‘सिरियाको आन्तरिक मामिलामा बाह्य शक्तिले हस्तक्षेप गर्न पाउँदैन । ‘तिमीहरूको राष्ट्रपतिले घुँडा टेक्नुपर्छ, सिरियाको यो कुरा राम्रो भन, यहाँयस्तो हुनुपर्छ’ भनेर कुनै विदेशी शक्तिले सिरियाली जनतालाई भन्न पाउँदैन,’ उनले भने । अमेरिकी अनुसन्धान केन्द्र काउन्सिल अफ फोरेन रिलेसनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । राष्ट्रिय छलफल र नयाँ निर्वाचन सिरियाली संकट समाधान गर्ने एक मात्र उपाय भएको जिकिर उनले गरेका छन् ।
साथै, उनले रासायनिक हतियार प्रयोग नगर्न पनि सिरियाली सरकारलाई सुझावसमेत दिएका छन् । ‘यस्ता हतियार प्रयोग भए शासनको वैधानिकता तत्कालै समाप्त हुनसक्छ । यदि रासायनिक हतियार प्रयोगको कल्पनाले सार्थकता पायो भने यसले सबै कुराको अन्त्य गरिदिनेछ,’ उनले भने । यो सिरियाको मात्रै नभई विश्वभरका सबै राष्ट्रको साझा सवाल रहेको
उल्लेख गर्दै उनले भने, ‘इरान अथवा अन्य जुनसुकै राष्ट्रले पनि आमविनाशकारी हतियार प्रयोग गरेकै दिन उसको वैधानिकता समाप्त हुनेछ ।’ यस्ता हतियार प्रयोगलाई मानवताविरोधी कार्यको संज्ञा दिँदै उनले आमविनाशकारी हतियारको प्रयोग कुनै हालतमा स्वीकार्य हुन नहुनेमा जोड दिएका छन् । (एजेन्सी)

प्रतिक्रिया