विदेशी गुहार्ने संस्कार

नेपाली कांग्रेसका सभापति सुशील कोइराला चल्तीका नेताहरूमध्ये उमेर र अनुभव दुवैले सबैभन्दा पाका हुन् । गिरिजाप्रसाद कोइरालाको अवसानपछि कांग्रेसको बागडोर सम्हालिरहेका कोइरालाको व्यवहार भने बेलाबखत कच्चा देखिने गरेको छ । अमेरिकी राजदूतसित हालै भेटेर उनले गरेको अनुनयले यही देखाउँछ । कोइरालाले अमेरिकी राजदूतसित एमाओवादीलाई पुराना सहमति पालना गर्ने विषयमा दबाब दिन आग्रह गरे । यसले एकातर्फ कोइरालाको बच्कना व्यवहार प्रदर्शन भएको छ भने यसले नेपाली राजनीतिको परनिर्भरतालाई फेरि एकपटक उजागर गरेको छ । आफ्नो देशभित्रको समस्या आफूले सल्टाउन नसकेर अर्को देशका कूटनीतिक प्रतिनिधिलाई हस्तक्षेपका लागि खुला आमन्त्रण दिनु हास्यास्पद र लज्जास्पद विषय हो । सो भेटवार्तामा कोइरालाले माओवादीकै कारण राजनीति सहमतिको हलो अड्किएको गुनासोसमेत सुनाएका थिए । बदलामा अमेरिकी राजदूतले नेपालका राजनीतिक दलहरूले चाहेको जस्तोसुकै सहयोग गर्न पनि अमेरिका तयार रहेको आश्वासन फ्याँके ।
कुनै पनि देशका सामान्यभन्दा सामान्यस्तरका कूटनीतिक प्रतिनिधि अथवा राजदूतले नेपालका शीर्ष नेताहरूसित निर्वाध भेट गर्ने अनि नेताहरूले नेपालको राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने गलत परम्परा बसेको छ नेपालमा । त्यस्तो भेटका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने भए पनि त्यो नियम केवल कागजमा सीमित छ । भेट वार्तामा प्रतिनिधिसित एक–अर्को दलविरुद्ध आक्षेप लगाउन अघि सर्छन् हाम्रा नेताहरू । सामान्यता विदेशी प्रतिनिधिसितको भेटमा द्विपक्षीय सम्बन्धबारे कुराकानी हुनुपर्ने हो । तर, नेपालका हकमा त्यस्तो हँुदैन । नेपालका नेताले एकतर्फी रूपमा आफ्नो देशको राजनीतिक अवस्थाबारे बेलिबिस्तार लाउने अनि विदेशी प्रतिनिधिले सहमतिमा अघि बढ्न एक डोज उपदेश दिने संस्कार नै बसिसकेको छ । अर्को देशको प्रतिनीधिलाई आफ्नो देशको आन्तरिक राजनीतिबारे बेलिबिस्तार लाउन कति आवश्यक छ ? कत्ति पनि छैन । तर, विदेशीहरूको गुलामी गरे मात्र सत्तामा पुगिन्छ भन्ने दरिद्र मानसिकता बोकेका दल र नेताहरूका लागि यो अत्यावश्यक छ । छिमेकी राष्ट्रहरूले नेपालप्रति गर्ने हेपाहा व्यवहार यसकै परिणति हो भन्दा फरक पर्दैन ।
नेपालको राजनीति सपार्ने जिम्मा यहीँका राजनीतिक दलहरूको हो । बाहिरी हस्तक्षेप आफैँ निम्त्याउने अनि विदेशी हस्तक्षेप भयो भनेर ठुल्ठूलो स्वरमा आफैँ चिच्याउने नेपाली राजनीतिकर्मीको चरित्र आमरूपमा परिचित भइसकेको छ । कांग्रेस सभापति कोइरालाको अमेरिकी राजदूतसितको भेट एउटा नमुना मात्रै हो । यस्ता प्रकृतिका भेटघाट र कुराकानी दिनहँुजसो भइरहेको हुन्छ । भेटघाटमा द्विपक्षीय सम्बन्धका विषयमा विरलै छलफल हुन्छ । छलफल हुन्छ केवल नेपालको आन्तरिक राजनीतिबारे । नेपालको शान्तिप्रक्रियाप्रति विदेशी राष्ट्रहरूको चासो र सद्भाव आफँैमा आपत्तिजनक होइन । त्यसलाई नकारात्मक रूपमा लिइहाल्नु आवश्यक छैन । तर, चासो र हस्तक्षेपमा फरक हुन्छ । चासो निवारण गर्ने बहानामा आन्तरिक राजनीतिका आन्द्राभुँडी सबै उनीहरूसामु पस्किनु आवश्यक हँुदैन । त्यसमाथि एक–अर्को राजनीतिक दलमाथि आरोप/प्रत्यारोप गर्नु वा अरूलाई दबाब दिन आग्रह गर्नु झनै आपत्तिजनक कुरा हुन् ।
राजनीतिक दलहरूबीचको आन्तरिक विवाद समाधान दलहरू आफैँले गर्नुपर्छ । यसका निम्ति समझदारीमा आउन अरूले दबाब दिएर हँुदैन । दलहरूबीच पछिल्लो समय समझदारीका निम्ति क्रियाशीलता बढेको छ । यसलाई निर्णायक टुंगोमा पुर्‍याउन निरन्तर संवाद र छलफल आवश्यक छ । नेताहरूले पटक–पटक आफ्नो देशको आन्तरिक समस्या आफैँले समाधान गर्ने भाषण त गर्छन् तर समाधान गर्ने तत्परता र अठोट उनीहरूमा देखिँदैन । तर, गर्ने आखिर दलहरूले नै हो । विदेशीको मुख नताकीकन आफ्नो देशको समस्या हल गर्ने सोच उनीहरूले विकास गर्न सक्नुपर्छ । विदेशी मित्रराष्ट्रहरूको समर्थन वा सद्भाव सधँै चाहिन्छ । आवश्यक पर्दा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग लिन सकिन्छ, जसरी विगतमा संयुक्त राष्ट्रसंघले नेपालको शान्तिप्रक्रियामा प्रत्यक्ष सहयोग गरेको थियो । विदेशी राष्ट्र र निकायहरूको सहयोगको एउटा सीमा हुन्छ । त्यो सीमाभित्र उनीहरूलाई प्रवेश गराउनु कदापि हँुदैन ।

प्रतिक्रिया