एमाले चुनावी अभियानमा

काठमाडौं, १८ असोज । एमालेले शुक्रबार गर्न लागेको देशव्यापी जनप्रदर्शन खासमा उसको चुनावी अभियानको प्रारम्भ हो । प्रमुख दलहरूबीच नयाँ चुनावमा जाने सहमति भएलगत्तै एमालेका मोर्चा संगठनहरूले राजधानीलगायत प्रमुख सहरमा एकै दिन जनप्रदर्शन र सभा गर्न लागेका छन् ।

संविधानसभाको गत चुनावमा राजधानीमा गुमेको साख फर्काउन र आन्तरिक विवादका कारण खस्केको संगठन सुदृढ गर्न उपत्यका विशेष समन्वय कमिटीले जनपरिचालन कार्यक्रम अगाडि सारेको हो । ‘संविधानसभाको गत चुनावमा आºनै कमजोरीले एमाले फेल भएको थियो,’ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठले सौर्यसँग भने, ‘यो अभियानसँगै हामी राजधानीमा एमालेलाई पहिलो शक्तिका रूपमा जनमतद्वारा प्रमाणित गर्नेछौँ र अर्काे चुनावमा एमालेलाई पहिलो शक्ति बनाउनेछौँ ।’ जनप्रदर्शनले सहमतिको राजनीतिक यात्राका लागि दबाब दिने तथा महँगी र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्ने पनि संयोजक श्रेष्ठले बताए । उपत्यकामा रहेका सम्पूर्ण पार्टी सदस्यलाई प्रदर्शनमा अनिवार्य उपस्थित गराइने उनको भनाई छ ।

मोर्चा संगठनले आयोजना गरेको कार्यक्रम भए पनि राजधानीमा हुने शुक्रबारको जनप्रदर्शनको व्यवस्थापन उपत्यका विशेष समन्वय कमिटीले गरिरहेको छ । त्यसका लागि उसले दुई साता अघिदेखि उपत्यकाका भूगोल र अन्य निकाय तथा जनसंगठनमा क्रियाशील कार्यकर्ताको भेला तथा बैठक चलाइरहेको छ । उपत्यकाअन्तर्गत पर्ने काठमाडांै, भक्तपुर, ललितपुर, पेसागत विशेष जिल्ला कमिटी र सम्पर्क मञ्चहरूका भेला सकिइसकेको छ । उपत्यकामा पर्ने १५ वटै निर्वाचन क्षेत्र, २ सय शाखा कमिटीमा भेला र जनपरिचालनका काम पनि गरिसकेको छ । यस्तै, पार्टीका २० वटा विभाग र समितिका बैठक पनि सकिएको एमाले उपत्यकाले जनाएको छ ।
प्रदर्शनको तयारीकै क्रममा बुधबार उपत्यकाका प्रमुख चोकमा पदयात्रा र पर्चा वितरण गरिएको थियो । यस्तै, बुधबारै पार्टी मुख्यालय बल्खुमा महासचिव ईश्वर पोखरेलले ५ सय स्वयंसेवकलाई प्रशिक्षण दिएका थिए । ‘जनप्रदर्शनको तयारीका सबै काम करिब पूरा भएका छन्,’ उपत्यका प्रचार विभाग प्रमुख नारायण सिलवालले भने, ‘बिहीबार मोटरसाइकल र्‍यालीपछि प्रचारसम्बन्धी सबै काम पूरा हुनेछ ।’
सिलवालका अनुसार शुक्रबारको प्रदर्शनलाई भने भित्री बस्तीमा पनि केन्द्रित गरिनेछ । काठमाडौं जिल्ला कमिटीले रत्नपार्कको शान्तिबाटिका, भक्तपुरले बागबजारस्थित भक्तपुर बसपार्क, ललितपुरले भद्रकाली, पेसागत विशेष जिल्ला कमिटीले पद्वकन्या क्याम्पसअगाडि, जनसंगठनहरूले बागबजारस्थित श्रेष्ठ टेलरिङअगाडि र सम्पर्क मञ्चहरूले भोटाहिटीमा जम्मा भई र्‍याली निकाल्ने भएका छन् ।
प्रदर्शनको प्रचारका लागि पनि कमिटीले विशेष अभियान चलाएको छ । बिहीबार पार्टी कार्यालय बल्खुमा अध्यक्ष झलनाथ खनालसहित वरिष्ठ नेताहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । प्रचारकै कार्यक्रमअन्तर्गत यसअघि नै कमिटीले सूचना बोर्ड तयार गरी फोनमार्फत पार्टीका गतिविधि प्रसारण गर्ने व्यवस्था मिलाएको थियो भने कमिटीले नै साप्ताहिक बुलेटिन पनि प्रकाशन गर्दै आएको छ । एमालेले मंगलबार साँझ वसन्तपुरमा दीप प्रज्वलन गरेको थियो ।
डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार, महँगी र भ्रष्टाचारविरोधी प्रदर्शनका रूपमा प्रचार गरिए पनि एमालेले जनप्रदर्शनलाई आगामी चुनावी तयारीका रूपमा अगाडि बढाएको छ । अघिल्लो शुक्रबार उपत्यका समन्वय कमिटीको सूचनाबोर्ड उद्घाटन समारोहमा पार्टी अध्यक्ष झलनाथ खनाल र बुधबार प्रेस चौतारी नेपालले जनप्रदर्शनकै विषयमा आयोजना गरेको कार्यक्रममा नेता केपी शर्मा ओलीले वैशाख, जेठसम्ममा चुनाव गर्नै पर्ने र एमाले चुनावबाट पहिलो शक्तिका रूपमा उदाउने दाबी गरेका थिए ।
जातीय पहिचान पक्षधर असन्तुष्ट नेताले पार्टी छाड्न लागेका बेला त्यसको प्रभाव कम देखाउन पनि एमालेले प्रदर्शनलाई उपयोग गर्ने भएको छ । उपत्यका संयोजक रहेका राजेन्द्र श्रेष्ठ पार्टी काममा निष्क्रिय रहेपछि उनको ठाउमा पार्टीले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी तोकेको थियो ।

प्रतिक्रिया