इलाम : मेचीमार्गअन्तर्गत इलामको कोल्बुङ–२ स्थित हर्कटे–हाँसपोखरी सडक खण्डमा पहिरोमा परी बेपत्ता भएका १४ मध्ये बुधबारसम्म ११ को शव भेटिएको छ ।
आइतबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाएका ११ मध्ये १० को सनाखत भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इन्स्पेक्टर गणेश बाँस्तोलाका अनुसार समालबुङ–१ का पदम प्रधान र मन्दिरा प्रधान, भारतीय सीमाना दार्जिलिङ सुकियापोखरीका दावा शेर्पा, आरती लामा शेर्पा, छिरिङ केसाङ शेर्पा, नांगेन भोटिया र छोटेन भुटियाको शव सनाखत भएको हो । त्यस्तै, फिक्कलका शरण प्रधान, रवि गुप्ता र ताप्लेजुङ तिम्बुदिनका १७ वर्षीय सरोज तामाङको पनि शव सनाखत भएको छ । एकजनाको भने शव क्षतविक्षत भएकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
सनाखत भएका शवलाई आफन्तको जिम्मा लगाइएको छ । प्रहरीले फेला पारेको शव र शरीरका केही भागको अनुमान गरेर सनाखत गरी शव आफन्तलाई जिम्मा लगाइएको इन्स्पेक्टर बाँस्तोलाले बताए ।
घटनामा हराइरहेका अन्य तीनजना अझै बेपत्ता छन् । घटनाको तेस्रो दिन बुधबार पनि खोजी कार्य तीव्र पारिएको थियो । नेपाली सेनाको नेतृत्वमा रहेको जनपथ र सशस्त्र प्रहरी, स्थानीय, मृतकका आफन्त, रेडक्रसकर्मी, स्थानीय सञ्चारकर्मीसहितको टोलीले पहिरो गएको करिब तीन किलोमिटरसम्मको भागमा खोजी गरिरहेको जनाइएको छ । हराइरहेका अल्ट्रो र सेन्ट्रो कारका चक्का, अन्य भागसमेत फेला परेको बताइएको छ । बुधबार बिहानदेखि खोजी कार्य जारी राखेको छ । दार्जिलिङको एक टोली घटनास्थलमा आएर पहिरोमा पुरिएका आफन्तको खोजी कार्य जारी राखेको स्थानीयले जनाएका छन् । (सौस)
प्रतिक्रिया