“हिन्दीसँ प्रतिस्पर्धा गरौँ”

काठमाडौं, १७ असोज । नेकपा–माओवादीले देशभर हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाएको प्रति चलचित्रकर्मीले बिरोध जनाएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रकर्मीले नेकपा–माओवादीको कदम गैरजिम्मेवार रहेको उल्लेख गरे । हिन्दीचलचित्र रोकेर नभई प्रतिस्पर्धा गरेर जाँदा मात्र नेपाली चलचित्रको उत्थान हुने उनीहरूले बताए ।
सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले नेकपा–माओवादीको कदम संकीर्ण रहेको आरोप लगाउँदै टेक्नोलोजीले विश्वलाई एउटा गाउँका रूपमा ग्लोबलाइजेसन गरिरहँदा चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाएर उनीहरू ढुंगेयुगमा फर्कन खोजेको बताए । मन्त्री यादबले भने– ‘सम्भावित असरबारे विचारै नगरी नेकपा–माओवादीले लगाएको प्रतिबन्ध राष्ट्रघाती र बिकासबिरोधी कदम हो ।’ नेपाली चलचित्रको हकहितका खातिर राज्यस्तरबाट आवश्यक हरेक नीतिनियम ल्याउन आफू तयार रहेको जनाउँदै मन्त्री यादवले माओवादीको कदमविरुद्ध सरकार कडाइसाथ उत्रने बताए ।
कलाकार तथा निर्माता अशोक शर्माले सांस्कृतिक अतिक्रमणका कुरा उठाएर नेकपा–माओवादीले चालेको यो कदम उसको सत्तामा पुग्ने खेल मात्र भएको उल्लेख गरे । हिन्दी चलचित्रको प्रदर्शन रोकेर बिश्वबजारमा बढ्दै गएको नेपाली चलचित्रको मार्केट साँघुर्‍याउन खोजेको आरोप उनको थियो । ‘बरु यस्ता आन्दोलन राम्रा चलचित्र निर्माणका लागि राज्यपक्षबाट प्राथमिकता दिलाउनतर्फ केन्द्रित हुनुपर्छ’, उनले भने । विदेशी चलचित्रसँग प्रतिस्पर्धा गरेरै लुट र चपलीहाइटजस्ता चलचित्रले व्यावसायिक सफलता पाएको चर्चा उनले गरे । कुनै बेला २० प्रतिशतमा सीमित रहेको नेपाली चलचित्रको व्यवसाय अहिले ८० प्रतिशत पुगिसकेकाले विदेशी चलचित्रका कारण नेपाली चलचित्रको बजार खस्कियो भन्नु गलत रहेको बताउँदै उनले माओवादीले लगाएको प्रतिबन्ध बिनासर्त फिर्ता हुनुपर्ने उल्लेख गरे ।
सिनेमा प्रदर्शनमा लगाइएको रोकले हलवाला एवम् चलचित्र प्रदर्शकहरू सबैभन्दा बढी मारमा परेको धारणा नेपाल चलचित्र संघका महासचिब प्रदीप उदयको थियो । बन्दको अवहेलना गरे हलमा बम तथा बिस्फोटक पदार्थ राख्ने धम्की आएकाले बाध्य भएर २४ गतेसम्म बिदेशी चलचित्रको प्रदर्शन रोक्ने माओवादीको योजनामा साथ दिनुपरेको उनले खुलासा गरे । भने– ‘हिन्दी चलचित्रमा प्रतिबन्ध लगाउँदैमा नेपाली चलचित्र फस्टाउँछ भन्नु सूर्यलाई हत्केलाले छोप्न खोजेजस्तो हो ।’
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले भने विदेशी चलचित्र प्रदर्शनमाथिको प्रतिबन्धमा निर्माताहरूको पूर्ण समर्थन रहेको उल्लेख गरे । नेकपा–माओवादीका यो कदम नेपाली चलचित्रको हितका लागी भएको उनको धारणा थियो । उनले भने– ‘बिदेशी आएर हाम्रो घरमा सुतेपछि हामीचाहिँ कहाँ सुत्ने नि †’ हलनै बन्द गरेर विरोध गर्नुभन्दा राष्ट्रिय स्तरबाट कोटा प्रणाली, ट्याक्समा वृद्धिलगायत प्रक्रिया अपनाएर यसको समाधान खोज्नुपर्ने विचार उनले व्यक्त गरे ।
माओवादी प्रतिबन्धका बावजुद दक्षिणी भेगका हलमा हिन्दी चलचित्र चलिरहेको तर्फ औँल्याउँदै चलचित्रकर्मी उद्धव पौडेलले यसबाट राष्ट्रिय रूपमा रहेको नेपाली चलचित्रको प्रदर्शन साम्प्रदायिकतामा सीमित हुन सक्ने जोखिमको संकेत गरे । अहिले नेपाली चलचित्र हेर्ने दर्शक एक प्रतिसत मात्र रहेकाले त्यो संख्या वृद्धि गर्नुको साटो यस्ता बन्दतिर ध्यान दिँदा भएका दर्शक पनि भाँडिन सक्ने अनुमान उनले लगाए । भने– ‘सबैभन्दा पहिले स्पष्ट चलचित्र नीतिको आवश्यकता छ ।’ कार्यक्रममा निर्देशक डा. घनश्याम खतिवडा, अभिनेत्री ऋचा शर्मालगायतले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउनुभन्दा प्रतिस्पर्धा गराएर जाँदा मात्रै नेपाली चलचित्रले फड्को मार्न सक्ने धारणा राखेका थिए ।

प्रतिक्रिया