पहिरोमा पुरिएर चारको मृत्यु

संखुवासभा, १७ असोज । सोमबार राति धुँपु गाविसमा आएको बाढीपहिरोमा परेर एकै घरका पाँचसहित सात बेपत्ता भएका छन् । उनीहरूमध्ये तीनको शव फेला परेको छ भने संखुवासभामा पहिरोमा पुरिएर चार बेपत्ता भइरहेका छन् । पहिरोले एक सयभन्दा बढी घर बगाएको छ ।

बेपत्ता सातमध्ये चारको शव भेटिएको छ । पहिरोमा परेर मृत्यु हुनेमा धुँपु–८ ज्यामिरेका चक्रबहादुर राईका दुईवर्षीय नाति प्रताप राई, १२ वर्षीया छोरी समला राई, ५२ वर्षीया दिलमाया राई र सभापोखरी–२ का श्याम राई छन् । पहिरोमा परेर चक्रबहादुरका २२ वर्षीया गर्भवती बुहारी उषा, पाहुना आएका ४५ वर्षीय कृष्ण घिमिरे र १६ वर्षीय विशेष बेपत्ता रहेको इन्स्पेक्टर अमतलाल माझीले बताए । उनीहरूको खोजी जारी छ । पहिरोमा परेर घाइते १६ वर्षीया कमला राई र २३ वर्षीय सोमबहादुर राईलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धरानस्थित विपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
पहिरो गएको स्थलमा उद्धारका लागि वराहदल गुल्मका ३९ सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक सयभन्दा बढी जवान खटिएको सहायक सिडिओ चन्द्रकान्त न्यौपानेले बताए । उनका अनुसार क्षति न्यूनीकरणका लागि प्रयास जारी रहेको छ तर पहिरो नरोकिएका कारण अहिलेसम्म क्षतिको पूर्ण विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय सखुंवासभाका अनुसार पहिरोस्थलमा
उद्घारका लागि जिल्लामा रहेका बाह्रबिसे, चैनपुर, धुँपु, सभापोखरी र खाँदबारीबाट प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पठाइसकेको जनाइएको छ ।
पहिरोले भोटेखोलामा रहेको पुल बगाएको छ भने धुँपु र लंखुवाखोलाको दोभानमा रहेको बस्ती पूर्णरूपमा बगाएको र बाह्रबिसे बजारमा एउटा ट्रयाक्टर र चार मोटरसाइकल बगाएको छ । २ स्काभेटर र ३ ट्रक सभाखोलामा आएको बाढीले डुबाएको छ । भोटेखोला, लंखेवा र सभाखोलामा आएको बाढीले निर्माणाधीन सभापुलको क्रसर बगाउँदा एक करोड ५० लाख रुपियाँभन्दा बढीको क्षति भएको पुल निर्माणकर्ता रोशन रोक्काले बताए ।
बाढीपहिरोले धरानबाट ल्याएर खोलाकिनारमा राखिएको तीन ट्रक पेप्सी र डिउ, चार सय बोरा सिमेन्ट र चार ट्रक खाद्यसामग्री बगाएको छ । पहिरोले बाह्रबिसे बजार जोखिममा परेको छ । सभापोखरी, धुँपु र खाँदबारी नगरपालिकाका वडा नम्बर १२ र १३ बढी प्रभावित बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोले बाह्रबिसेमा २१ घर बगाएको छ । पहिरोपीडितलाई रेडक्रस शाखा संखुवासभाले १३ थान पाल वितरण गरेको छ ।
यस्तै, इलामको कोल्बुङ–२ स्थित हर्कटे हाँसपोखरी सडकखण्डमा गएको पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सिडिओ कार्यालय इलामले राहत दिने भएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको मंगलबारको बैठकले मृतकका परिवारलाई
४० हजार रुपियाँका दरले राहत दिने निर्णय गरेको हो ।
सिडिओ बाबुराम खतिवडाको अध्यक्षतामा बसेको बैठकले २२ असोजमा मृतकका
घर–घरमा पुगेर राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै नेपाली सेनाका मेजर मेखबहादुर गुरुङको संयोजकत्वमा नेपाल र सशस्त्र प्रहरीका पाँच–पाँच, राजनीतिक
दलका प्रतिनिधि, पत्रकार, रेडक्रसकर्मीसहितको उद्धारटोली बेपत्ता खोजीकार्यमा लाग्ने निर्णय भएको छ ।
यसैबीच कार्यालयले कोल्बुङ र कन्यामका सचिवले सम्बन्धित निकायसँग समन्वय गरी एक साताभित्र घटनाबाट भएको क्षतिको विस्तृत विवरणसहितको प्रतिवेदन प्रशासनमा
बुझाउन निर्देशन दिइएको छ । क्षतिग्रस्त मेची राजमार्ग पूर्णरूपमा सुचारु बनाउन कात्तिक मसान्तसम्म घटनास्थलमै एउटा लोडर तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको सिडिओ खतिवडाले बताए ।
मृतकका परिवारलाई इलाम उद्योग वाणिज्य संघ र राष्ट्रिय वनपैदावार व्यवसायी संघ जिल्ला समिति इलामले १०–१० हजार रुपियाँ राहत उपलब्ध गराउने जनाएका छन् । आइतबार राति साढे ८ बजे मेची राजमार्गको कोल्बुङ–२ मा माथिबाट आएको पहिरोमा परी हराएका १४ जनामध्ये सातको शव भेटिएको छ । तीमध्ये फिक्कलका रवि गुप्ता, शरण प्रधान र दार्जिलिङ सुकियापोखरीका दावा शेर्पाको मात्र सनाखत भएको छ । बाँकी बेपत्ताको खोजीकार्य भइरहेको इन्स्पेक्टर गणेश बाँस्तोलाले बताए ।

प्रतिक्रिया