सरकारी बजेट नौ अर्ब बचतमा

काठमाडौं, १६ असोज । आर्थिक वर्ष ०६९/७० को पहिलो महिनामा सरकारी बजेट नौ अर्ब ३० करोड रुपियाँँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट १० अर्ब ९३ करोड रुपियाँ बचतमा थियो । समीक्षा अवधिमा स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून रहेकाले सरकारी बजेट बचतमा रहेको हो ।
आर्थिक वर्ष ०६९/७० को पहिलो महिनामा सरकारको राजस्व परिचालन २७ दशमलव ५ प्रतिशतले वृद्धि भई १९ अर्ब १५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १४ दशमलव १ प्रतिशतले मात्र वृद्धि भई १५ अर्ब एक करोड रुपियाँ पुगेको थियो । राजस्व प्रशासनमा सुधार, कर चुहावट नियन्त्रणमा सरकारको दिगो प्रतिबद्धता एवं विप्रेषण आयमा आएको वृद्धिसँगै उपभोग र आयातमा वृद्धि हुनु आदि कारणले समीक्षा अवधिमा राजस्व परिचालनको वृद्धिदर उच्च रहेको हो ।
भन्सार राजस्व, आय कर, रजिस्ट्रेसन शुल्क, सवारी कर, शिक्षा सेवा कर र गैर–कर राजस्वको वृद्धिदरमा समीक्षा अवधिमा विस्तार भएको छ भने मूल्य अभिवृद्धि करको वृद्धिदरमा कमी आएको छ । पहिलो महिनामा सरकारले मूल्य अभिवृद्धि करबाट सात अर्ब ९४ करोड २३ लाख रुपियाँ संकलन गरेको छ भने भन्सार करबाट तीन अर्ब ९५ करोड ६० लाख रुपियाँ संकलन गर्‍यो । आम्दानी करबाट तीन अर्ब १२ करोड १८ लाख रुपियाँ संकलन गर्नुका साथै अन्त:शुल्कबाट दुई अर्ब ४० करोड १७ लाख रुपियाँ, रजिस्ट्रेसन शुल्कबाट ३२ करोड २५ लाख रुपियाँ, गाडी करबाट ४७ करोड ११ लाख रुपियाँ, शिक्षा कर ३ करोड ३६ लाख रुपियाँ र गैरकरबाट ८९ करोड १० लाख रुपियाँ संकलन गरेको राष्ट्र बैंकले जनाएको छ । कुल राजस्वमा मूल्य अभिवृद्धि करको अंश ४१ दशमलव ५ प्रतिशत रहेको छ । त्यसैगरी, भन्सारको अंश २० दशमलव ७ प्रतिशत रहेको छ । आम्दानी करको १६ दशमलव ३ प्रतिशत र अन्त:शुल्कको अंश १२ दशमलव ५ प्रतिशत यिथो । राजस्वमा सबैभन्दा कम अंश शिक्षा करले ओगटेको छ । चालू आवको पहिलो महिनामा मूल्य अभिवृद्धि कर २० दशमजलव ४ प्रतिशतले वृद्धि भएको छ भने भन्सार कर ३७ प्रतिशतले र आम्दानी कर ३८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । त्यस्तै, चालू आवको पहिलो महिना गाडी कर सबैभन्दा बढी प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाले गाडी खरिद कर्जा सर्वसुलभ बनाउन थालेपछि गाडी आयातमा वृद्धि भएकाले गाडी करमा समेत वृद्धि भएको हो ।
समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च १०९ दशमलव २ प्रतिशतले वृद्धि भई १४ अर्ब ९१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी खर्च २८ दशमलव ५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा फ्रिज खर्चमा भएको उल्लेख्य वृद्धिको कारण कुल सरकारी खर्चमा विस्तार आएको हो । आर्थिक वर्ष ०६९/७० को पहिलो महिनामा नेपाल सरकारलाई वैदेशिक नगद ऋणबापत १४ करोड ४१ लाख रुपियाँ र वैदेशिक नगद अनुदानबापत ५७ करोड ५३ लाख रुपियाँ प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ती शीर्षकमा क्रमश: ५० करोड ९० लाख र तीन अर्ब ६६ करोड रुपियाँ प्राप्त भएको थियो ।

प्रतिक्रिया