माथिल्लो अरुण स्वदेशी लगानीमा बनाउन माग

काठमाडौं : सस्तो र आकर्षक आयोजनाका रूपमा लिइने माथिल्लो अरुण जलविद्युत् आयोजना नेपालीले नै बनाउन पाउनुपर्ने माग स्थानीयवासीले गरेका छन् ।

आयोजना छिटो र स्वदेशी लगानीमै बनाउनका लागि दबाब दिन स्थानीयवासी, राजनीतिक दल, नागरिक समाजलगायतको सहभागितामा गठित माथिल्लो अरुण सरोकार समिति संखुवासभाले उक्त माग गरेको हो । समितिका अध्यक्ष कबानसेन राईले प्रधानमन्त्री, ऊर्जामन्त्री, अर्थमन्त्री, नेपाल विद्युत् प्राधिकरणलगायतलाई पत्र लेख्दै उक्त माग गरेका हुन् । माथिल्लो तामाकोसी, चिलिमेलगायतको मोडेलमा स्वेदेशी पुँजी र प्रविधिको प्रयोगसहित माथिल्लो अरुण बनाउनका लागि वातावरण बनाउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । स्वदेशी लगानीमै बनाउनुपर्ने स्थानीयवासीको आवाजलाई बेवास्ता गरेर विदेशी कम्पनीलाई दिएमा कडा आन्दोलनमा उत्रने चेतावनीसमेत पत्रमा दिइएको छ । स्थानीयबासीले बारम्बार आवाज उठाउँदासमेत भारतीय कम्पनीलाई दिने सरकारी तयारीले स्थानीयवासीको भावनालाई सम्मान नगरेको उक्त पत्रमा उल्लेख छ । सरकारी, गैरसरकारी, वित्तीय कम्पनीहरू, सार्वजनिक संस्थान, स्थानीयवासीलगायतको रकम संयोजन गरेमा स्वेदशी लगानी जुटाएरै आयोजना अघि बढाउन सकिने सरकारी निकायलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमालले माथिल्लो अरुण निजी–सार्वजनिक साझेदारी (पिपिपी) मोडेलमा बनाउन उपर्युक्त रहेको र यसबारे युनियनले तीन वर्षदेखि आवाज उठाउँदै आएको बताएका छन् । ‘स्थानीयवासीको पनि ठूलो चाहना छ, चिलिमे, माथिल्लो तामाकोसी मोडेलमा बनाउन पनि सम्भव छ,’ उनले भने, ‘युनियनले पटकपटक प्रमदेखि ऊर्जामन्त्री र प्राधिकरण प्रमुख समेतलाई ध्यानाकर्षण गराइसकेको छ, यसलाई स्वदेशी लगानीमै बनाउनका लागि प्रयत्न गर्नुपर्छ ।’
प्राधिकरण सञ्चालक समितिले नै निर्णय गरेर आपैँmले बनाउन विद्युत् विकास विभागमा लाइसेन्सको आवेदन हाले पनि पाएको छैन । प्राधिकरणका अनुसार उक्त आयोजना निर्माण गर्दा कम डुबान क्षेत्र पर्छ भने अध्ययनका आधारमा हालसम्मकै सबैभन्दा सस्तो आयोजनामध्ये एक हो । तीन सय ३५ मेघावाटको उक्त आयोजनाको लागत पाँच सय ३४ मिलियन डलर पर्छ भने पर युनिट २.७४ रुपियाँ मात्र पर्छ । आयोजनाको क्षमतालाई बढाएर सात सय मेघावाटसम्म पुर्‍याउन सकिने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । (सौस)

प्रतिक्रिया