माहिला दाइको ठट्यौलीपूर्ण धक्कु

घरका माहिला छोरा रहेछन् उनी । त्यसैले गाउँठाउँ अनि पार्टीका मान्छेले ‘माहिला दाइ’ भन्दा रहेछन्, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई । वि.सं. १९९७ साल माघ २० गते बाग्लुङ्को मल्ममा पहिलोपटक आँखा उघारेका केसी ७२ वर्ष पुगिसके । तर, उनको स्फुर्ति उही पुरानैजस्तो छ अझै पनि । सक्रियता उत्तिकै छ । पच्चीसदेखि छयालीस सालसम्म भूमिगत जीवन बिताएका उनले नौ महिना जेलको हावा पनि खान भ्याए । नेपाली माटो, बाटो र दोबाटोमा खाइखेली हुर्केका उनले शिक्षक भएर थुप्रै वर्ष स्कुलमा पढाए । यिनको भाषणकलाका प्रशंसक थुप्रै छन् । कर्णप्रिय शैलीमा मिठासपूर्ण भाषण गर्ने गला र कला पाएका उनी आफ्ना भनाइलाई पुष्टि गर्न सुहाउँदा उखानटुक्का, उपमा र चुट्काको प्रयोग गर्छन् । उनको रोमाञ्चक प्रस्तुति सुनेर श्रोतादीर्घामा हाँसोको खित्का छुट्न थाल्छ । सरल मनका, घमन्ड नभएका तरल नेताका रूपमा चिनिन्छन्, यी माहिला दाइ ।
पत्नीका साथ दुई छोराबुहारी, एक छोरी र ६ नातिले भरिएको परिवार छ उनको । दुई नाति, एक स्वकीय सचिव र पत्नीसहित विगत १३ वर्षदेखि तीन घरधनी फेरिएर आए–गए पनि उनी घट्टेकुलाको उही डेरामा निरन्तर बसिरहेछन् ।
पहिले पार्टीमा पीएल (पुष्पलाल) लाई सबैले माहिला दाइ भन्थे । अहिले चाहिँ पार्टीका हेड कमरेडहरू उनलाई माहिला दाइ भन्दा रहेछन् । लुंगी लगाएर ठट्टाको चुंगी मतर्फ उफार्दै उनी ‘अब त पार्टीका साथीहरूले चित्रजी वा चित्र दाइ’ भनेको सुन्दा आपैँmलाई विचित्र लाग्ने गरेको सुनाउँछन् । स्वास्थ्यवार्ता लिन गएको म बबुरोलाई पार्टीवार्ता सुनाउँदै वनस्पति होइन, खाँटी नेता चित्रबहादुर पार्टीले उनलाई सोधेको कुरा सुनाउन थाले । पार्टीले उनलाई पालना गर्नुपर्ने सर्तहरू तोकिदियो, जसमा उनी राजी भए ।
– तपाईंले पार्टीको काममा दिनरात भन्न पाउनु हुन्न ।
– पार्टीमा राम्रो व्यवहार, सदाचार राखेर पार्टीको प्रचार गर्न उनी राजी भएछन् ।
– घरबार भन्न पाउनुहुन्न ।
– युवा अवस्थामा र हजुरबुबा भएको समयमा पनि उनी घरबारको वास्ता नगरी काम गर्न राजी भएछन् ।
– परिवारसँग बस्न पाउनुहुन्न ।
– टमाटरमा टिम्मुर हालेको अचार अगाडि आएपछि राजनीतिक दर्शन र विचार हराउने उनी त्यसमा पनि राजी भएछन् ।
– तपाईंले शिक्षकको नोकरी छाड्नुपर्छ ।
– आँटोमीठो मानेर खाने भएकाले नोकरी छाड्न राजी भएछन्  ।
– तपाईंले माछा मार्न पाउनुहुन्न ।
– रातो चिया मन पराउने उनको सातो गएछ ।
तर, नानीदेखिको बानी कहाँ सितिमिती जान्छ र † मौका पायो कि लुकिछिपी माछा मारिहाल्थे उनी । ०५६ को चुनावमा केही साथीहरूका साथ केसी जोडतोडले प्रचारप्रसारमा लागेका थिए । भोकले सबैको हाल बेहाल थियो । केसीले साथीहरूलाई माछा मार्न जाने प्रस्ताव राखेछन् । साथीहरू जान मानेनन् । उम्मेदवार नेताले माछा मारेको देखेमा आउने भोट पनि खेर जान्छ भन्दै उनलाई पनि जान दिएनन् । केसीले चाल खेल्दै जाल रचेछन् । झोलाबाट बमजस्तो डल्ले साबुन निकालेर देखाउँदै नुहाउन जान त पाइन्छ होला नि भन्दै खोलातिर लागेछन् । कपडा खोलेर कट्टु मात्रै लगाई खोलामा पसी दुवाली छेकेर बार लगाए । करिब एक घन्टामा एक धार्नी तसला माछा मारेर झोलामा हल्लाउँदै ल्याएछन् । साथीहरूले सोधे, ‘माछाको कति पैसा तिर्नुभो ।’ उनले भने– ‘मैले आपैँmले मारेर ल्याएको ।’ ‘यति छिटै यति धेरै माछा मार्नु असम्भव कुरा हो’ भन्दै साथीहरूले पत्याएनन् । ‘पक्कै किनेर ल्याउनुभयो’ भन्न थाले । केही गर्दा पनि आफ्नो दाल नगलेको देखेर उनले पनि विस्तारै स्वीकारे– ‘हो, मैले किनेरै ल्याएँ ।’
भाषण कलाका खम्बा केसीलाई अम्बा साह्रै मन पर्दो रहेछ, यो बुढेसकालमा पनि । दाँत तगडै छन् । शरीरमा अहिलेसम्म कुनै पनि रोगले थोक वा खुद्रा पसल खोलेको रहेनछ । त्यसैले समवयी उमेरका अन्य बूढाहरूलाई जस्तो नियमित औषधि सेवन गर्नुपर्ने बोझ यी संघीयताविरोधी नेतालाई छैन । भूमिगत हुँदा सबेरै उठ्ने बानी बसेका उनको अहिले पनि त्यही बानी कायम छ । राति बिबिसी सुनेर भुसुक्कै निदाउँछन् । पहिला प्रात: भ्रमण गर्थे, अहिले सुरक्षाका हिसाबले जाँदैनन् । गाउँमा छँदा पौडी खेलेर, भीरपाखा डुलेर, माछा मारेर आनन्द उठाउँथे, यहाँ सहरमा चाहिँ राजनीतिक कार्यक्रमबाहेक टिभीमा हास्यव्यंग्य कार्यक्रम नबिराई हेर्छन् । टिभीबाट प्रसारण हुने तीतो सत्य, झ्याइँकुटी झ्याइँ, घरबेटी बामा अर्काले हँसाएको हेरेर आनन्द उठाउनु परिरहेको छ भन्दै उल्टै हँसाउँछन् उनी ।
५५ वर्षको राजनीतिक जीवनमा कहिल्यै पछुताउने खालको खेदपूर्ण भाषण नगरेका केसीलाई फलफूलमा हलुवावेद पनि मन पर्दो रहेछ । उनी सुनाउँछन्, ‘मलाई तोरीको साग पनि औधी मन पर्छ तर बजारमा विषादी हालेको मात्र पाइन्छ । तोरीमा किन विषादी हालिस् भनेर जोरी खोज्न भएन क्यारे † त्यसैले सहरमा हुँदा कागभैँm थोरै खान्छु । गाउँ पुगेका बेला छाती फुकाएर बाघभैँm भक्कु खान्छु ।’ यसरी हँस्यौली र ठट्यौलीपूर्ण धक्कु पनि लाउन भ्याउँछन् उनी ।
जेलमा छँदा मुरली बजाउने गरेका उनी अहिलेचाहिँ मुरली बजाउन भुसुक्कै बिर्सिएछु भन्छन् । त्यसो त २६ वर्षअघि उनलाई पत्थरीले केही दु:ख पनि दिएको रहेछ । अहिले अल्ट्रासाउन्ड गराउँदा उति बेला फुटाएको त्यो पत्थरीको तुष बाँकी रहेछ । पत्थरी रोगका लक्षणको गठरी खोल्छन् उनी– ‘ब्याकबोन दुख्छ, मुख सुक्छ, थकाइ लाग्छ र कहिलेकाहिँ असिम वेदना पनि हुन्छ ।’
घरपरिवारलाई किनमेलमा सहयोग गर्न खोज्छन् तर जहिले पनि ठगिएर आउँछन् उनी । रु.३० को टमाटर रु.४० मा ल्याउँछन्, १० रुपियाँको सागलाई २० हाल्छन् । घरका मान्छे हैरान भइसके रे † उनी आÏनो बाध्यता सुनाउँदै भन्छन्, ‘के गर्नु, आफूलाई मोलतोल गर्न मन नलाग्ने, त्यसमाथि पसलेले चिनेर पहिल्यै नमस्कार गर्दै हजुरको गजुर भिराउने गर्छ । ‘हजुर’को चिप्ल्याइमा परेर जति भन्छ तिर्छु, ल्याउँछु । तर, घरमा पत्नीले ठगिनु भो भन्दा बल्ल चाल पाएर छानाबाट खस्छु । पत्नी भन्छिन्– तपाईं भाषण दिनुस्, रासन हामी आफैँ हेर्छौं । किनमेलमा कडा प्रतिबन्ध लगाइदिएकी छन् । जो आज्ञा हजुर भनेर शिरोपर गरिरहेछु ।’
वातावरणलाई हल्का बनाउन उनले जोक्स सुनाए, ‘एक पटक नि बाबु, एउटा मुसोलाई बिरालोले लखेटेछ । मुसो असिनपसिन भएर लुक्ने र जोगिने ठाउँ खोज्दै दौडेछ । त्यसले एउटा रक्सीको खाली जर्किनभित्र पसेर प्राण बचाएछ । तर, मुसोले जर्किनमा बाँकी रहेको रक्सीको एक–दुई थोपा पिएछ । मात लागेपछि जर्किनबाट टाउको बाहिर निकाल्दै कड्किएछ– कहाँ छ त्यो बिरालो †’ उनको ठट्यौली सुनेर कोठामा हाँसो गुन्जियो ।
भूमिगत भएका बेलाको कुरा झिक्दै सोफामा पलँेटी मारेपछि आँट र ठाँटका साथ आफ्नो पोलको ढोल बजाउँदै भन्छन्, ‘बत्तीस सालको असोजमा म र एक जना साथी सुरक्षित गन्तव्यतिर जाँदै थियौँ, निकै बेर उकालो चढेपछि हामी साह्रै थकित भयौँ । एक ठाउँमा बसेर साथीले कोदाको रक्सी खाए । साथी नानाभाँतीको कुरा गरेर मलाई पनि रक्सी खान प्रेरित गर्न थाले– थाकेको बेलामा खाएमा यसले नसा होइन औषधिको काम गर्छ । जे त होला भन्दै मैले पनि जीवनमा पहिलोचोटि एक गिलास रक्सी पिइदिएँ । साथीले चाहिँ ३–४ गिलास खाए ।’ त्यसपछि उनीहरू पुन: उकालो लाग्नै आँटेका थिए, माथिबाट आइरहेको एक जना लामो दाह्रीजुँगा पालेको लट्टे जोगीसँग जम्काभेट भएछ । जोगीले उनीहरूको मनपेट चोर्न थाल्यो– ‘तिमेर्को घर काँ हो, काँबाट आयौ ?’ केसीले चाहिँदो उत्तर दिएपछि जोगीले फेरि सोध्यो– ‘तिमेरु को हौ ?’ केसीले सरल जवाफ दिए– ‘हामी मान्छे हौँ ।’ जोगी दुई पाइला अगाडि बढेर भट्याउन थाल्यो– ‘कुकुर होलान् भनेको त मान्छे पो परेछन् ।’ केसीले साथीलाई तत्काल यो कुरा भने । साथीले हल्लिँदै गएर जोगीको कठालो च्याप्प समाए । जोगी त स्वचालित हतियार पड्किएभैँm बोल्न थाले– ‘हजुर म जोगी हुँ, म फुस्रे, मगन्ते, घरडुलुवा, मागिखाने कुकुर हुँ, हजुरहरू मान्छे हो, बोल्न जानिनँ माफ पाऊँ ।’
मैले उनीतर्फ हेर्दै सोधेँ– ‘यो संविधान नबनेकोमा तपाईं नेपाली जनतालाई दोष दिनुहुन्छ ?’ उनले तत्काल उत्तर दिए– ‘होइन–होइन, कठै नेपाली जनताले त हामीलाई चान्स दिएको हो । संविधान बनाएर हामी नेताहरूले डान्स गर्न सकेनौँ । संविधान नबन्नुमा अरू कसैको हातगोडा छैन, संघीयताकै पूरै करामत छ ।’

प्रतिक्रिया