‘रिभर पिस क्याम्पेन’ सम्पन्न

काठमाडौं, १५ असोज । सप्ताहव्यापी रिभर अफ पिस क्याम्पेन सम्पन्न भएको छ । नदी सरसफाइ र तिनीहरूको सम्भाव्यतासहितको पुन:स्थापना गर्न युवालाई जागरुक बनाउने उद्देश्यले गरिएको साताव्यापी अभियान आइतबार सम्पन्न भएको हो ।

विभिन्न संघसंस्था, उद्यमी, व्यवसायी, विभिन्न सरकारी तथा गैरसरकारी निकाय, स्कुल, कलेजलगायतसँगको सहकार्यमा भएको क्याम्पेनमा करिब दश हजार सहभागी थिए । क्याम्पेनमा काठमाडौं उपत्यका तथा वरपरका क्षेत्रमा वर्तमान समयका चुनौती, विभिन्न प्रकारका प्रदूषण तथा पर्यावरणीय असन्तुलन आदिबारे गरिएका अध्ययन सार्वजनिक र बहस सञ्चालन गरिएको थियो । यस्तै, नदीहरूको दुरवस्था, पिउने पानीको हाहाकार, जमिनमुनिको पानीको घट्दो सतह, खेर जाने वर्षाको पानी, फोहोर–मैलाको वैकल्पिक व्यवस्था, अतिक्रमित नदीकिनारको विषयवस्तुबारे गरिएका अध्ययन सार्वजनिक र बहससमेत भए ।
यसैबीच, आइतबार क्याम्पेनको समापन गर्दै विज्ञान तथा प्रविधिमन्त्री केशवमान शाक्यले वाग्मती नदीलाई पुरानै अवस्थामा फर्काउन महानगरवासी सबै लाग्नुपर्ने बताए । उनले सरकारले वाग्मती नदी सफा गर्न आर्थिक तथा प्राविधिक व्यवस्थापन पक्षलाई जोड दिने जानकारी दिए । ‘वातावरण प्रेमीहरूलाई नेपालमै राख्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘सरकारले उनीहरूको रोजगारीको व्यवस्था गर्ने सोच बनाइसकेको छ ।’ पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले वाग्मती नदी सफाइका लागि राजनीतिक तहबाट समेत प्रतिबद्धता आउनुपर्ने बताए । उनले नदी संरक्षणका लागि जनस्तरबाटै पहल हुनुपर्ने औाल्याए । ‘व्यक्ति–व्यक्तिसँगको सहकार्यमा आयोजना गरिएकाले नै क्याम्पेन सफल भयो,’ उनले भने, ‘नागरिकमा चेतना फैलाउन अझै आवश्यक छ ।’  कार्यक्रममा वातावरणविद् डा. किशोरराज राजभण्डारीले सरकार र राजनीतिक तहमा सुधार आए मात्र वातावरणमा सुधार आउने बताए । नदीको दयनीय अवस्थाले गर्दा आफूलाई संरक्षणमा लाग्न प्रेरित गरेको उनले स्मरण गरे । क्याम्पेनका सदस्य–सचिव विन्दु अधिकारीले सबै क्षेत्रबाट प्रतिबद्धता आएमा आगामी १० वर्ष भित्र वाग्मती नदीलाई स्वच्छ अवस्थामा पुर्‍याउन सकिने बताए ।

प्रतिक्रिया