प्रहरी संरक्षणमा जुवा

रौतहट, १५ असोज । दसैँ–तिहार नजिकिरहेका बेला प्रहरीको संरक्षणमा व्यावसायिक रूपमा जुवा खेलाउन थालिएको छ । रौतहटको जिङडियामा केही साता अघिदेखि प्रहरीकै संरक्षणमा दैनिक लाखौँको जुवा सञ्चालन भइरहेको छ ।

जिङडिया गाउँको पूर्वपट्टि रहेको इँटाको चिम्नीछेउमा रहेको घरमा व्यावसायिक रूपमै संगठित जुवाडेहरूले जुवा–तास खेलाइरहेका छन् । यस्तै, जिङडिया, शिवनगर, चन्द्रनिगाहपुरलगायत अन्य केही स्थान तथा धनुषाको तारापट्टिमा संगठित समूहले जुवा चलाइरहेका छन् । गैरकानुनी रूपमा सञ्चालित जुवालाई प्रशासनको पनि मौन सहमति रहेको स्रोत बताउँछ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका युनिटहरूले जुवा सञ्चालन भएको दर्जन बढी स्थानको सुरक्षाको जिम्मा लिएको स्रोत बताउँछ । जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा तथा अन्य घुमुवा प्रहरीले समेत रकम बुझेको स्रोतको दाबी छ ।
इलाका प्रहरी कार्यालय शिवनगर, प्रहरी चौकी विर्ता, जिङडिया, सरमुजवा, बंकुल, कोपवा, सशस्त्र प्रहरीको बिओपी बंकुल, दुधियाभार, देवाही तथा अन्य प्रहरी युनिटले जुवा संरक्षण गरेबापत अहिलेसम्म झन्डै एक लाख २५ हजार बुझेको एक जुवाडेले बताए  । संगठित जुवाडेहरूले प्रहरीका पकड भएका अधिकृत तथा घुमुवालाई व्यक्तिगत रूपमै ३० देखि ५० हजारसम्म रकम बाँडेका छन् । रकम बाँडिएपछि झन्डै एक महिनादेखि निर्वाध रूपमा जुवा सञ्चालन भइरहेको छ । जिङडियामा बिहान १० बजेबाट सुरु भएको जुवा अबेर रातिसम्म चल्ने गरेको छ । भारतसँग सीमा जोडिएका सीमावर्ती सहरहरूबाट पनि जुवा खेल्न मानिस आउने गरेको स्रोतको दाबी छ । अबेर रातसम्म चल्ने यस जुवामा हातहतियारसहित आपराधिक समूहका व्यक्ति पनि आउने गरेका छन् । ‘दैनिक १२ लाखभन्दा बढीको जुवा सञ्चालन भइरहेको छ,’ स्रोत भन्छ, ‘सञ्चालकले कुनै अवरोधको खबर पाए स्थान परिवर्तन गर्ने गरेका छन् ।’
दैनिक लाखौँको हारजित हुने यस जुवालाई रोक्न प्रहरीले कुनै पहल नगरेकाले प्रहरीको संरक्षण रहेको पुष्टि हुन्छ । तर, प्रहरी उपरीक्षक ठूले राईले भने प्रहरीको संलग्नता भेटिए कारबाही गर्ने बताए । ‘हामीलाई यससम्बन्धी कुनै सूचना आएको छैन,’ प्रहरी उपरीक्षक राईले भने, ‘हाम्रो युनिट वा व्यक्ति संग्लन भएको पाइएमा त्यसलाई तत्काल कारबाही गर्नेछु ।’ स्रोतका अनुसार उपरीक्षक राई बिदामा भएका बेला अन्य प्रहरी युनिटले जुवा सञ्चालनको वातावरण बनाएको थियो । राईलाई यसबारे जानकारी नभए पनि अन्य कर्मचारीले भने मासिक रकम बुझिरहेको प्रहरी स्रोतको दाबी छ । जिल्लाबाट प्रहरीले छापा मारेर जुवा बन्द गराउन खोजे त्यसको सूचना तत्काल जुवाडेसम्म पुग्ने पनि उनीहरूले व्यवस्था मिलाएका छन् ।
झन्डै एक वर्षअघि पनि यसरी नै व्यावसायिक रूपमा सञ्चालन भइरहेको जुवामा प्रहरीले छापा मार्न जाँदा प्रहरी निरीक्षकसहितको टोलीलाई जुवाडेहरूले कुटपिट गरेका थिए । स्थानीय प्रहरीको संलग्नतामा सञ्चालन भएको सो जुवा रोक्न जिल्ला प्रहरीको टोली प्रहरी निरीक्षक मधु थापाको कमान्डमा जाँदा थापासहित अन्य प्रहरीलाई जुवाडेले कुटपिट गरेका थिए ।

प्रतिक्रिया