हिन्दी चलचित्र नचलाइने

काठमाडौं : नेपाल चलचित्र संघले सोमबारदेखि देशभरका हलमा हिन्दी तथा अंग्रेजी चलचित्र प्रदर्शन स्थगित गर्ने भएको छ । नेकपा–माओवादी र संघका पदाधिकारीबीच शुक्रबार भएको वार्तामा केही दिन हिन्दी तथा अंग्रेजी चलचित्र नलगाइने सहमति भएको हो । नेकपा–माओवादीसँग भएको सहमतिको विस्तृत विवरण संघले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउने भएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले गत बुधबारदेखि नेपालमा हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाउनुपर्ने माग चर्काउँदै आएको थियो । माओवादीको घोषणा बावजुद हलहरुले शनिबारसम्म हिन्दी चलचित्रको प्रदर्शन कायमै राखेका थिए । दुई साताअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ७० बुँदे मागपत्र बुझाए पनि बेवास्ता गरिएकाले त्यसलाई कार्यान्वयन गराउने क्रममा हिन्दी र अहिले थप अंग्रेजी चलचित्रमा रोक लगाउने तयारी गरिएको नेकपा–माओवादीले जनाएको छ ।
नेपालीलाई गालीगलौज गरिएका, अश्लीलतापूर्ण तथा नेपालका विषयमा भ्रमपूर्ण सन्देश फैलाउने खालका चलचित्र रोक्ने तयारी मात्र गरिएको बताउदै आयको नेकपा–माओवादीले अहिले हिन्दी र अंग्रेजी पूरै चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय सार्वजनिक गरेको थियो । ‘नेपालमा प्रदर्शन गर्न उपयुक्त भए/नभएको जाँच गर्ने मापदण्ड एवं संयन्त्र तयार नहुन्जेल सबै चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय हामीले गरेका हौँ’, नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले भनिन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा आफूहरूले उठाउँदै आएको माग सरकारले कार्यान्वयन नगरेको आरोप नेकपा–माओवादीले लगाएको छ ।
चलचित्र प्रदर्शकको छाता संगठन नेपाल चलचित्र संघ स्रोतले नेकपा–माओवादीले दुई महिनासम्म चलचित्र प्रर्दशनमा रोक लगाउन आग्रह गरे पनि संघले पाँच दिन मात्र नचलाइने निर्णय गरेको जानकारी दिए । नेपाल सरकारले बनाएको ऐन–नियमका आधारमा देशैभर व्यापार गर्न पाउनु आफूहरूको अधिकार भएकाले कानुनको दायराभित्र रहेर चलचित्र प्रदर्शन गर्न पाउनुपर्ने बताउँदै आएका ंसंघका महासचिव प्रदिप उदयले आइतबार पत्रकारसम्मेलनमार्फत संघका थप धारणा सार्वजनिक गरिने जानकारी दिए । ‘अश्लीलता फैलाउने, नेपाली सार्वभौमसत्ता, र अस्तित्वमाथि खलल पुर्‍याउने चलचित्र प्रदर्शनमा मात्र रोक लगाउने हो भने हाम्रो पनि समर्थन छ तर यो कडाइ राज्यको जिम्मेवार निकाय सेन्सर बोर्डले गरे मात्र आधिकारिक हुन्छ । जो पायो त्यसले आफखुसी निर्णय गरेर हुने कुरा होइन,’ उनले भने । (सौस)

प्रतिक्रिया