खेतीयोग्य जमिन नासिँदै

चितवन, १४ असोज । खाद्यवस्तु उत्पादनका हिसाबले उत्कृष्ट जिल्लाका रूपमा रहेको चितवनमा खेतीयोग्य जमिन नासिने क्रम बढेको छ । जिल्लामा अनियन्त्रित रूपमा आवासका लागि घडेरी बनाउन थालेपछि यस्तो समस्या देखिएको हो । वैकल्पिक राजधानी बन्ने चर्चा र ७६आँै जिल्लाका रूपमा चितवन परिचित हुँदै गएपछि यहाँ खेतीयोग्य जमिन नासिँदै जान थालेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार गएको ५/६ वर्षदेखि अत्यधिक मात्रामा घडेरी बनाई बेचेपछि खेतीयोग्य जमिन नासिँदै गएको हो । स्पष्ट भू–उपयोग नीति कार्यान्वयन नहँुदा यो समस्याले विकराल रूप लिँदै गएको विज्ञहरूको भनाइ छ ।
कार्यालयको तथ्यांकअनुसार प्लटिङ, बसाइँसराइ, अव्यवस्थित सहरीकरणलगायत विविध कारणले जिल्लामा प्रत्येक वर्ष दस हेक्टरका दरले खेतीयोग्य भूमि विनास हँुदै गएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले पछिल्लो समयमा बढ्दै गएको प्लटिङ, घरजग्गाको खरिदबिक्री, बढ्दो औद्योगीकरण, कलकारखाना र स्कुल–कलेजको निर्माण, बसाइँसराइका दर, सहरी चाप आदिका कारण चितवनको सहरमुखी गाविसका कृषियोग्य जमिन नास भएको बताए । विशेषगरी चितवनमा आर्थिक वर्ष ०६१/६२ देखि खेतीयोग्य जमिनमा प्लटिङ सुरु भएको र त्यसपछिका दिनमा चितवनमा अत्यधिक मात्रामा खेतीयोग्य जमिन नासिँदै जानथालेको उनले बताए । चितवनको ४६ हजार आठ सय ९४ हेक्टर खेतीयोग्य जमिनमध्ये वार्षिक सय हेक्टर कृषि भूमि गैरकृषि प्रयोजनका लागि प्रयोग भइरहेको छ । कार्यालयले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष ०६५/६६ मा खेतीयोग्य जमिनमध्ये ४४ हजार तीन सय ४१ हेक्टर जमिनमा खेती भएको थियो भने आव ०६६/६७ मा आएर ४४ हजार दुई सय ९१ हेक्टरमा झरेको थियो ।
त्यस्तै आव ०६७/६८ मा १० हेक्टर कृषि भूमि ह्रास भएकामा आव ०६८/६९मा आउँदा ४४ हजार दुई सय ६५ हेक्टरमा खेती भएको कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत सन्तोषराज पौडेलले चितवनमा खाद्य संकट बचाउन र्भखरै बनेको भू–उपयोग नीति आए पनि ऐन र नियमवाली बनाई खेतीयोग्य जमिन ह्रास हुनबाट बचाउनुपर्ने बताए ।

प्रतिक्रिया