प्लटिङले खाद्यान्न उत्पादन घट्यो

नेपालगन्ज, १४ असोज । जग्गा प्लटिङले नेपालगन्जमा खाद्यान्न उत्पादन घट्न थालेको छ । पछिल्लो समय बाँके, बर्दियामा जग्गा प्लटिङ निकै बढेपछि खाद्यान्न उत्पादन कम भएको हो । खाद्यान्नको हिसाबले निकै उर्वर भूमिलाई प्लटिङ गरी खरिदबिक्रीका लागि बाँझो राखिदिनाले समग्र जिल्लाकै उत्पादनमा असर परेको स्थानीयवासीले बताएका छन् ।
बाँके र बर्दियामा बस्ती बढ्दै जाँदा र नयाँ सडक खुल्न थालेपछि जग्गा प्लटिङमा वृद्धि भएको हो । अहिले विशेषगरी बर्दियाको कर्णाली नदीमा पुल र गुलरिया–भुरिगाउँसडक पिच हुने भएपछि बर्दियामा जग्गा प्लटिङ बढेको छ । गुलरिया सदरमुकामदेखि भुरिगाउँसम्म सडकलाई लोकमार्ग नामकरण गरेर भारत सरकारले पक्की बनाउन थालेपछि त्यस सडक आसपास क्षेत्रमा उर्वर भूमिलाई प्लटिङ गरेर घडेरी बिक्री गर्नेको ओइरो लागेको छ । सडकको दायाँबायाँदेखि सबै क्षेत्रमा जग्गा प्लटिङ हुनथालेको छ ।
बर्दिया ढोढरी–३ का कृष्ण सिग्देल बढी नाफा हुने आशमा प्लटिङ व्यवसायमा लागेको बताउँछन् । लोकमार्ग नामकरण गरिएको सडकछेउमा रहेको उनको ५० कट्ठा जमिन उनले प्लटिङका लागि बाँझो राखेका छन् । सधैँ बाली लगाइने सो जमिनमा प्लटिङ भएकाले बाँझै छ । रेखी हालेको जस्तो सिग्देलको जग्गामा चारैतिर प्रत्येक घडेरीमा बाटो निकालिएको छ । सिग्देल भन्छन्, ‘खेती गर्नुभन्दा प्लटिङ गरेर जग्गा बिक्री गर्नु फाइदा रहेछ, त्यसैले मैले पनि घडेरी बनाएर जग्गा बिक्री गरिरहेको छु ।’
उनले ७६ वटा घडेरी निकालेको र २२ वटा घडेरी बिक्री भइसकेको बताए । गुलरिया–भुरिगाउँ सडकखण्डमा पहिले करुाको चार लाख मूल्य रहेकामा लोकमार्गको निर्माण सुरु भएपछि करुाको १० लाख देखि ३० लाखसम्म मूल्य पुगको छ । बर्दिया खाद्यान्न उत्पादनका लागि नेपालकै ख्यातिप्राप्त स्थान हो । तर, घडेरीका नाममा जिल्लाभरि यसरी जग्गा प्लटिङ गरेर बिक्री गरिनथालिएपछि उत्पादनशील जग्गाको क्षेत्र घट्दै गइरहेको छ, जसले गर्दा जिल्लाभरिको खाद्यान्न उत्पादनमा कमी आउने भएको छ । बर्दियाको राजापुरमा पनि जग्गा प्लटिङ निकै बढेको छ । द्वन्द्वका बेला दुई लाख बिगाह पर्ने जग्गा अहिले करुाको २० लाख रुपियाँसम्म पुगेको छ । धान उत्पादनका लागि राजापुर नेपालकै झापापछि दोस्रोमा पर्छ ।
बाँकेमा पनि प्लटिङ अधिक बढ्दै गइरहेको छ । नेपालगन्ज–कोहलपुरखण्ड र कोहलपुर बाँसगढीखण्डमा गहुँ, धान उत्पादन हुने जमिनलाई टुक्रा–टुक्रा गरी घडेरीमा परिणत गरिएको छ । सडकको दायाँ–बायाँ, भित्रसम्म पनि जग्गा प्लटिङ भइरहेको छ । जता हेर्‍यो नांगो र बाँझो देखिन्छ । कोहलपुरदेखि ६ किलोमिटर पश्चिम महाकाली रोडमा पर्ने बनकटवा गाविसमा कोहलपुर डेभलपर्स प्रालिले खेतीपाती भइरहेको २० बिगाह जग्गा खरिद गरेर बृहत् जग्गा प्लटिङ गरेको छ । धान, गहुँ, तोरी, मसुरो सबै किसिमका बाली उत्पादन हुने यो जग्गा अहिले घडेरीका लागि प्लटिङ भएपछि बाँझो रहेको छ । कोहलपुर न्यु–सिटीका म्यानेजर सुरेश आचार्यले सुविधा सम्पन्न सहर बसाउन सात सय प्लट तयार पारेर घडेरी बिक्री गरिरहेको बताए ।
जिल्ला कृषि कार्यालय बाँकेले जग्गा प्लटिङले कृषि उत्पादनमा ठूलो असर परिरहेको जनाएको छ । जिल्ला कृषि कार्यालय बाँकका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीले जहाँ पायो त्यहीँ जग्गा प्लटिङ गर्नु नै सबैभन्दा घातक भएको प्रतिक्रिया दिए । उनले जथाभाबी गरिएको जग्गा प्लटिङले समग्र कृषि उत्पादनमा बर्सेनि ह्रास आइरहेको टिप्पणी गरे ।
यसका लागि सरकारले भू–उपयोग नीति ल्याउन आवश्यक रहेको उनको भनाइ छ । ‘आवसक्षेत्रका लागि छुट्टै ठाउँ तोक्नु पर्छ, जहाँ उत्पादन हुँदैन त्यहाँ पो जग्गा प्लटिङ गर्ने हो,’ अधिकृत तिवारीले भने, ‘यहाँ त मनलागी प्लटिङ गरेका छन् । यही किसिमले प्लटिङ गर्दै जाने हो भने उत्पादन घट्दै जाने निश्चित छ,’ । भूमिसुधार कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले प्लटिङले जमिन टुक्रा–टुक्रा पार्दै जाँदा भूमिलाई ठूलो असर पर्ने बताउँदै यसले समग्र उत्पादनमा असर पर्ने बताए ।

प्रतिक्रिया