धार्मिक घृणाविरुद्ध कानुन बनाउन माग

न्युयोर्क : मुसलमान बहुल राष्ट्रका विदेशमन्त्रीले मुसलमान विश्वमा घातक प्रदर्शन सिर्जना गर्न तथा इस्लामलाई होच्याउन अमेरिकामा बनाइएको फिल्मको भत्र्सना गरेका छन् । धार्मिक घृणा भड्काउने कार्यविरुद्ध कानुन बनाउन पनि उनीहरूले आह्वान गरेका छन् ।
५७ मुलुक सदस्य भएको इस्लाम सहयोग संगठन (ओआइसी) का मन्त्रीहरूले अभिव्यक्तिको स्वतन्त्रतालाई जिम्मेवारीपूर्वक उपयोग गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले विश्वभरका सरकारलाई धर्मविरुद्ध घृणा, भेदभाव तथा हिंसा भड्काउने कार्यविरुद्ध कानुन लागू गर्न आग्रह गरेका छन् ।
ओआइसीका विदेशमन्त्रीहरू संयुक्त राष्ट्र संघको महासभाका समयमा यहाँ भेला भएका हुन् । महासभामा चलचित्र ‘इनोसेन्स अफ मुस्लिम’ को चर्को विरोध भएको छ । विदेशमन्त्रीहरूले जारी गरेको एक विज्ञप्तिमा उक्त चलचित्र तथा इस्लाम धर्मगुरु मोहम्मदको कार्टुनबाट सिर्जना भएको मुसलमानविरुद्ध असहिष्णुपना, भेदभाव, व्यक्तिको नक्कल, नकारात्मक भावना, होच्याउने कार्य, धार्मिक घृणा तथा हिंसाप्रति भत्र्सना गरिएको छ । विज्ञप्तिमा इस्लामलाई तर्साउने कार्य धार्मिक स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूति दिएको मानवअधिकारको उल्लंघन भएको दाबी गरिएको छ ।
विज्ञप्तिमा अभिव्यक्तिको स्वतन्त्रताको महत्त्वलाई स्वीकार गर्दै यसलाई जिम्मेवारीपूर्वक पालना गर्नुपर्नेमा पनि जोड दिइएको छ । मन्त्रीहरूले धार्मिक घृणा, भेदभाव तथा हिंसाले पार्ने खतरनात्मक प्रभावका विषयमा विश्वव्यापी चेतना जगाउन पनि आग्रह गरेका छन् । मुस्लिम जगत्लाई आक्रोशित पार्ने फिल्म ‘इनोसेन्स अफ मुस्लिम’ मा इस्लामको चर्को आलोचना गरिएको छ । साथै, मोहम्मदलाई जाली, स्त्रीलम्पट र बौलाहाका रूपमा चित्रण गरिएको छ । अमेरिकाको चरमपन्थी क्रिस्चियनको एउटा समुदायले फिल्म निर्माण गरेको बताइन्छ । (एएफपी)

प्रतिक्रिया