हवाईयात्रामा बढ्दो असुरक्षा

करिब पाँच महिनाअघि मुस्ताङको जोमसोममा अग्नि एयरको जहाज दुर्घटनामा परेपछि पछिल्लोपटक शुक्रबार बिहानै नेपाली आकाशमा अर्को हवाई दुर्घटना हुनपुगेको छ । त्यो पनि उडेको करिब एक मिनेटभित्रै जहाज दुर्घटना हुनुले थुप्रै प्रश्न उब्जाएका छन् । चालक दलका सदस्यसहित १९ जनाको ज्यान जानेगरी भएको सीता एयरको जहाज दुर्घटनाबाट हवाई यात्रा असुरक्षित बन्न थालेको नकारात्मक सन्देश प्रवाह भएको छ । शुक्रबार बिहान ६ बजेर १७ मिनेटमा उडेको जहाज त्यसको एक/डेढ मिनेटमै दुर्घटनामा पर्नुले अनेक आशंका उब्जाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको केही समयमै भएको उक्त दुर्घटनाका कारण विमानस्थल व्यवस्थापनप्रति पनि आशंका गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । विमानस्थल प्रशासनका अनुसार चरासँग ठोक्किँदा आकाशमै जहाजमा आगो लागेको थियो । विमानस्थलको कन्ट्रोल टावरसँग भएको ‘चरा जहाजमा ठोक्किएर अनियन्त्रित भएको’ भन्ने संवादले पनि यसको पुष्टि गर्छ । विमानस्थलका कर्मचारीले यस घटनाको पुष्टि हुनेगरी जहाजमा ठोक्किएर तीन टुक्रा भएको चिल पनि फेला पारिसकेका छन् । दुर्घटनाको कारणबारे योभन्दा बढी जानकारी ककपिट भ्वाइस रिकर्डर (सिभिआर)को अनुसन्धानपछि आउनेछ ।
विमानस्थल वरपर उड्ने चराचुरुंगीका कारण पनि हवाईयात्राको सुरक्षामा चुनौती थपिएको देखिन्छ । तसर्थ, हवाई दुर्घटनाको कारक हुने गरी विमानस्थल आसपास उड्ने चराचुरुंगी नियन्त्रण गर्न सरकार र विमानस्थल व्यवस्थापनले आवश्यक पहलकदमी लिर्नुपर्छ । त्यसका लागि विमानस्थल वरिपरि निश्चित क्षेत्रमा फोहर फाल्न प्रतिबन्ध लगाउन जरुरी छ । चराका कारण दुर्घटना हुनसक्ने भएकाले नागरिक उड्डयन प्राधिकरण नियमावलीले विमानस्थलको सीमाबाट तीन किलोमिटर दूरीसम्म मासु बिक्री निषेध पनि गरेको छ । तर, नियमावली कार्यान्वयनमा आउन सकेको छैन । त्यस्तै, विमानस्थलवरिपरि फोहरका डंगुर पनि प्रशस्तै देखिन्छन् । हुन त केही वर्षअघि विमानस्थल वरिपरी उड्ने चराचुरुंगी नियन्त्रणका लागि विमानस्थल प्रशासनले ‘गुलेलीले चरा मार्ने अभियान’ पनि चलाएको थियो । तर, त्यस्ता अभियानले हवाई यात्रालाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन सक्दैन । न यात्रुलाई नै सुरक्षाको प्रत्याभूति दिलाउन सक्छ । यसका लागि दीर्घकालीन रणनीति अख्तियार गर्दै नयाँ कार्ययोजनाका साथ सरकार अगाडि बढ्न अत्यावश्यक छ ।
यसअघि पनि थुप्रै हवाई दुर्घटना भइसकेका छन् । सन् १९४९ मा नेपाली आकाश उडानका लागि खुला भएपछि मात्रै ७० भन्दा बढी विमान दुर्घटना भइसकेको तथ्यांकले देखाउँछ । ती दुर्घटनामा परी सात सयभन्दा बढीले ज्यान गइसकेका छन् । बारम्बार जहाज दुर्घटना हुन थालेपछि नेपाली आकाश असुरक्षित भएको महसुस हुनथालेको छ । त्रिभुवन विमानस्थलनजिक दुर्घटना भएको यो तेस्रोपटक हो । यसअघि गत वर्ष असोजमा बुद्ध एयरको जहाज ललितपुरमा दुर्घटना भएको थियो भने १० वर्षअघि तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज स्वयम्भूनजिक दुर्घटनामा परेको थियो । सीता एयरको समेत गरी ७४ पटक जहाज दुर्घटना भइसकेका छन् । सरकारले दुर्घटनापिच्छे छानबिन आयोग गठन गर्दै आएको छ । ती आयोगले अध्ययन, अनुसन्धान र छानबिन गरी प्रतिवेदन सरकारलाई बुझाइसकेका छन् । ती प्रतिवेदन तयारीमा मात्रै राज्यकोषबाट कति रकम खर्च भयो भन्ने विषय छुट्टै अध्ययनको विषय होला । तर, हवाई दुर्घटनाका सम्बन्धमा जतिसुकै छानबिन आयोग गठन गरिए पनि आयोगका सुझाव कार्यान्वयन गर्नेतर्फ सम्बन्धित निकाय उदासीन देखिन्छ, न ती प्रतिवेदन अहिलेसम्म सार्वजनिक नै गरिएका छन् । विगतका अधिकांश दुर्घटनामा चालकलाई मात्रै दोषी देखाइएको पाइन्छ । आशा गरौँ, सीता एयरको जहाज दुर्घटना छानबिन आयोगले एउटा चालकलाई मात्रै दोषी देखाएर अरूलाई दोषमुक्त गर्ने गल्ती दोहोर्‍याउने छैन । र, सरकारले पनि विगतका छानबिन प्रतिवेदनभैँm अब आउने प्रतिवेदनलाई कुनै कुनामा थन्क्याएर राख्नेछैन ।
पर्यटकीय मौसममा भएको यो दुर्घटनाले पर्यटन क्षेत्रमा निश्चय पनि नकारात्मक असर पार्छ । नेपालजस्तो भौगोलिक रूपले विविधता भएको मुलुकका लागि हवाई यातायात सबैभन्दा भरपर्दो र सुविधायुक्त माध्यम हो । तर, राजनीतिक हस्तक्षेपमा अल्मलिएको सरकारी निकाय नेपाल वायुसेवा निगमका लागि हवाई यातायातको विकास र सुरक्षामा सुधार ल्याउनु चुनौती बनेको छ ।
पछिल्लो दुर्घटनाको प्रकृति र घटनास्थल नियाल्दा चालकले छोटो अवधिमा पनि सावधानी अपनाउन खोजेको देखिन्छ । दुर्घटनास्थलनजिकै रहेको पूरै सुकुम्बासी बस्तीमा जहाज खसेको भए सायद बस्ती सखाप हुन्थ्यो होला । बस्ती छलेर खुला चौरमा जहाज खसाल्नसक्नु चालकको सावधानी थियो भन्नुपर्छ । तापनि, दुर्घटनामा चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु हुनपुग्यो । यस्तो नियति नदोहोरियोस्, सम्बन्धित निकाय बेलैमा सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया