‘विदेशी शक्तिले एमाओवादी फुटाए’

दाङ, १३ असोज । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले जनजातिहरुको प्रस्तावित नयाँ दल ‘संघीय समाजवादी पार्टी’ले छिट्टै आकार प्राप्त गर्ने जनाएका छन् ।
दाङमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरुको नयाँ पार्टीमा विभिन्न दलमा रहेका असन्तुष्टि नेताहरुलाई समेट्ने दावी गरे ।
उनले भने, ‘जनजातिहरुको नयाँ पार्टीले आगामी चुनावमा दुई तिहाई बहुमत प्राप्त गर्ने छ ।’
नेपालमा संघीयता, गणतन्त्र र सविधानसभाको मुद्दा एमाओवादीले मात्रै उठाएको दावी गरेका महासचिव शेर्पाले भने, ‘संघीयता, गणतन्त्र र सविधानसभा असफल बनाउन चाहने विदेशी शक्तिले एमाओवादीलाई टुक्राएका हुन् ।’
एमाओवादीलाई विदेशी शक्तिले फुटाएर जनजातिहरुका मागलाई ओझेलमा पारेको उल्लेख गरे ।
उनले सविधानसभाको नयाँ निर्वाचन तत्काल सम्भावना नभएकाले एक महिनाका लागि भए पनि पुनःस्थापना गर्नु पर्ने माग गरे ।

महासचिव शेर्पा एमालेका पूर्व नेता हुन् । पार्टी नीति विपरितका क्रियाकलाप गरे पछि एमालेले शेर्पालाई साधारण सदस्यता समेत नरहने गरेर कारबाही गरेको थियो ।

प्रतिक्रिया