कोइरालालाई मञ्चमै आक्रमणको प्रयास

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई आज विहान काठमाडौंमा आक्रमणको प्रयास भएको छ ।
काठमाडौं क्षेत्र नम्वर–४ स्थित कपनमा कांग्रेसको क्षेत्रीय सम्मेलन उद्घाटन गर्न पुगेका कोइरालालाई स्थानीय प्रवेश बस्नेत नामक व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् । कोइरालाई आक्रमणको प्रयास पछि केही समय सम्मेलनस्थल तनाव पूर्ण भएको थियो ।
सभापति कोइरालालाई आक्रमण गर्ने बस्नेत कांग्रेसका पूर्व सभासद् पुरुषोत्तम बस्नेतका सहयोगी रहेको स्रोतको भनाई छ ।
मादक पदार्थ सेवन गरेर कार्यक्रममा पगेका बस्नेतले मञ्चमा उक्लिएर कोइरालालाई झ्यालको फ्रेमले प्रहार गर्न खोजेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । कोइरालासँगै छेउमा रहेका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पनि बचाउको प्रयास गरेका थिए ।
कोइरालालाई प्रहार गर्न बस्नेतले साथमा ल्याएको झ्यालको फ्रेमले लागेर कांग्रेस क्षेत्र नम्वर–४ का सचिवद्वय श्याम संगत र नर्मदा पोखरेल घाईते भएका छन् । पोखरेलको टाउकोमा गम्भीर चोट लागेको प्रवक्ता लामिछानेले बताए । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
सभापति कोइरालालाई मञ्च उक्लिएर आक्रमणको प्रयास गर्ने बस्नेतलाई कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् । बस्नेतलाई कुटपिट पछि बौद्ध प्रहरीको जिम्मा लगाईएको छ ।
आक्रमणको प्रयास भए पनि सभापति कोइरालाई कुनै चोटपटक नलागेको लामिछानेले बताए । कोइराला सकुशल छन् । लामिछानेका अनुसार बस्नेतले सभापति कोइरालालाई आक्रमण गर्नुको कारण खुल्न सकेको छैन ।
सभापति कोइराला माथि आक्रमणको प्रयास भए पछि कार्यक्रमस्थलमा बौद्ध प्रहरीले सुरक्षा बढाएको छ ।

यसैबीच, नेपाल विद्यार्थी संघले सभापति कोइराला माथि भएको आक्रमण प्रयासको निन्दा गरेको छ । संघले आक्रमणको छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया