थपिए १ सय ५६ यौनकर्मी

 

हेटौँडा, १३ असोज । ‘बिहे गर्छु भनेर प्रेमी विदेश पो हानिए,’ सुमिना क्षत्री (नाम परिवर्तन) ले भनिन्, ‘सुरुसुरुमा साथीको लहलहैमा हिँडेँ । अहिले त सम्पर्क बढेर साँच्चै बाहिर नै रात बिताउन थालेको छु ।’
सुमिनाजस्तै मकवानपुरको यौनबजारमा नयाँ अनुहार थपिने क्रम बढेको छ । कोही पछि विदेशमा भएपछि यौन चाहना पूरा गर्ने बाहनामा त कोही गरिबीका कारण यौन बजारमा नयाँ पात्र बनेर भित्रने क्रम बढेको छ । सेना, प्रहरी, सवारी चालक तथा सरकारी कर्मचारी यौन बजारका ग्राहक हुने क्रम बढेसँगै राजमार्गसँग जोडिएको मकवानपुरमा यौनकर्मीको संख्या बढेको हो ।
तथ्यांकअनुसार मकवानपुरमा एक सय ५६ नयाँ यौनकर्मी थपिएका छन् । महिला यौनकर्मीको एचआइभी सुरक्षाका लागि १७ वर्षदेखि कार्यरत जनरल वेलफेयर प्रतिष्ठान (जिडब्लुपी) को तथ्यांकअनुसार अक्टोबर ०११ देखि अगस्ट ०१२ सम्मको ११ महिनाका अवधिमा मकवानपुरमा एक सय ५६ नयाँ यौनकर्मी थपिएका हुन् ।
तीन सय ५८ सहित संस्थाको कार्यक्षेत्रभित्रका यौनकर्मी महिलाको संख्या पाँचसय १४ पुगेको फिल्ड संयोजक रामशरण सापकोटाले बताए । जिडब्लुपीले पहिचान गरेका महिला यौनकर्मीलाई सुरक्षित सम्पर्कका लागि सचेतना दिने र यौनजन्य रोग संक्रमित महिला यौनकर्मीलाई उपचारको काम गर्दै आएको छ । पहिचान गरिएका यौनकर्मी महिलासँग नियमित भेटघाटमार्फत संस्थाले कन्डम वितरण तथा सचेतना प्रदान गर्दै आएको छ । यौन पेसा अँगाल्नेमा गाउँबाट सहर पसेका २० देखि ३० वर्ष उमेरका महिलाको संख्या बढी रहेको कार्यालयले जनाएको छ ।
गरिबी र सोखका कारण पेसामा लाग्नेहरू बढेको बताइएको छ । ‘एकपटक सौराह जाँदा उसले मोबाइल सेट दियो,’ मन्दिपा तामाङ (नाम परिवर्तन) ले भनिन्, ‘खाइपिई आनन्दसँगै जिनिस पनि आउन थालेपछि जिस्मको धन्दा लत बन्न लाग्यो तर सम्पर्क चैँ कन्डमविना गरेको छैन ।’ गाउँबाट सहरमा अध्ययनका लागि आएका कलेजका विद्यार्थी र पति विदेश गएका महिला यस पेसामा संलग्न हुने क्रम पनि बढेको छ । कलेज पढ्ने क्रममा सहरमा अनेक रहर पूरा गर्ने क्रममा यौन धन्दामा लाग्नेको संख्या बढेको हो । स्कुल तह पार गरी अध्ययनका लागि सहर आएका विद्यार्थी खर्च अभावमा यौन पेसामा लागिरहेको पाइएको छ ।
यौनकर्मी महिलाको उमेर र शारीरिक अवस्थाका आधारमा फरकफरक ग्राहक छन् । ग्राहकअनुसार उनीहरूको आम्दानी निर्भर रहने गर्दछ । कम उमेरका आकर्षक यौनकर्मी महिलाको ग्राहक उच्च तहका कर्मचारी र व्यापारी हुने गरेका छन् भने ३५ वर्ष उमेर कटेका यौनकर्मीका ग्राहक सामान्य श्रमिक, मजदुर हुने गरेको तथ्यांक छ ।
यसबाहेक सेना, प्रहरी र चालक यौनकर्मीकहाँ पुग्ने नियमित ग्राहक हुन् । बाध्यता र सोखका कारण पेसा अँगाल्नेले पेसा परिवर्तन गर्न गाह्रो मान्ने गरेको सापकोटाको अनुभव छ । उनीहरूमा सुरक्षित सम्पर्क र यौन व्यवसायको नकारात्मक असरबारे जानकारी भए पनि रमाइलो र आम्दानीका सहजताले यौनकर्मी महिलाको व्यवहार परिवर्तनमा कठिनाइ भएको तर्क उनी गर्छन् । तर, बाध्यताले यौन पेसामा लागेका कतिपय महिला फरक पेसा गरी आम्दानी गरेको उदाहरण पनि छन् । जिडब्लुपीबाट झोला बनाउने तालिम पाएका पाँचजना पूर्वयौनकर्मी महिला झोला बिक्री गरेर आम्दानी गर्छन् । संस्थाले यौनकर्मी महिलालाई ग्राहकले कन्डम प्रयोग गर्न नमान्दा सम्झाउने उपायबारे प्रशिक्षण दिएको छ । ग्राहकलाई कन्डम लगाउन बाध्य पार्छन् यौनकर्मी महिलाहरू । पतिको मृत्युपछि यो पेसामा लागेकी एक महिलाले भनिन्, ‘यही पेसा गरेर बालबच्चा पढाउनुछ, हुर्काउनु छ, एचआइभी लाग्न सक्छ भन्दा नमान्नेलाई झपारेर कामविना नै पनि फर्किएको छु,’ उनले भनिन्, ‘तिम्रा पनि छोराछोरी सानै होलान्, किन पत्नीलाई सार्छौ, एक छिन कन्डम लगाऊ भनेको मानेन अनि कबोलेको पैसा लिएर गाडी चढेर फर्केर आएँ ।’
यौनकर्मी महिलालाई असुरक्षित सम्पर्कको असरबारे जानकारी भए पनि कतिपय ग्राहकले असुरक्षित सम्पर्कको असर नबुझ्दा उनीहरू हैरान पनि हुने गरेका छन् । ‘मजा आउँदैन’ भन्दै कन्डम प्रयोग गर्न नमान्ने ग्राहकलाई उनीहरू आफैँले सुरक्षित सम्पर्कका लागि मनाउने गरेका छन् । नमाने यौनकार्य नै नगरी फर्कने गरेका छन् । पूर्व–पश्चिम राजमार्गले छोएको लोथरदेखि चुरियामाईसम्म र भीमफेदीदेखि चौघडासम्मको स्थानलाई संस्थाले कार्यक्षेत्र बनाएको छ ।

प्रतिक्रिया