बस्तीबीचमा खस्यो जहाज

काठमाडौं, १३  असोज । भक्तपुरको लोकन्थलीस्थित मनहरा खोलाकिनार दिनदिनै केटाकेटीले फुटबल खेल्ने ठाउँ हो । शुक्रबार एकाबिहानै यही ठाउँमा सीता एयरको जहाज ढुन्मुनिँदै खस्यो, जसमा रहेका सबै १९ यात्रुको मृत्यु भएको छ ।

यो नेपाली आकाशमा यस वर्षको दोस्रो ठूलो हवाई दुर्घटना हो । पाँच महिनाअघि मात्र मुस्ताङको जोमसोममा अग्नि एयरको जहाज दुर्घटना भएको थियो । दुई घनाबस्तीको बीचमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा सातजना नेपाली र १२ जना विदेशी नागरिक छन् । पर्यटक बोकेर लुक्लाका लागि ६ बजेर १७ मिनेटमा उडेको सो जहाज ६ बजेर २० मिनेटमै दुर्घटनामा परेको दुर्घटनास्थलमा रहेका त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा ठोक्किएकाले जहाज दुर्घटना भएको बताएको छ । दुर्घटनापछि तीन टुक्रा भएको चिल दुर्घटनास्थलनजिकै भेटिएको थियो । तथापि चरा ठोक्किएकै कारण दुर्घटना भएको पुष्टि भने भइनसकेको महाप्रबन्धक सुमनले बताए । ‘दुर्घटनास्थलमा मरेको चरा भेटिएकाले यो अनुमान गरिएको हो । बाँकी कुरा अनुसन्धानले देखाउँछ,’ उनले भने ।

विमानस्थल कार्यालयका अनुसार पाइलट विजय तन्डुकारले विमानस्थलको कन्ट्रोल टावरसँग चरा जहाजसँग ठोक्किएर अनियन्त्रित भएको जानकारी दिन भ्याएका थिए । चालकको एयर ट्राफिक कन्ट्रोलर
(एटिसी) सँग भएको यही संवादका आधारमा पनि दुर्घटनाको कारण चरा भएको हुनसक्ने अनुमान गरिएको हो । महाप्रबन्धक सुमनले घटनाबारे जारी गरेको विज्ञप्तिमा चरासँग जहाज ठोक्किएको उल्लेख छ ।


उनका अनुसार यो लुक्लाका लागि शुक्रबारको दोस्रो उडान थियो भने सीता एयरको पहिलो । जहाजमा चरा ठोक्किएपछि आगो लाग्न सुरु भएको बताइएको छ । दुर्घटना भएको जहाजको पोजिसन हेर्दा आपत्कालीन अवतरणका लागि फर्किंदै गर्दा दुर्घटना भएको देखिन्छ । चालकले पानीमा ‘फोर्स ल्यान्ड’ गर्न खाजेको अनुमान विज्ञले गरेका छन् । पाइलटलाई तालिमका क्रममा आपत्कालीन अवतरण गर्नुपर्ने अवस्था आए जमिनको सट्टा पानीमा ‘ल्यान्ड’ गर्न सिकाइएको हुन्छ ।
‘यो केसमा पनि पाइलटले पानीमा ल्यान्ड गर्न खोजेको देखिन्छ,’ दुर्घटनास्थलमा भेटिएका प्राधिकरणका एक अधिकारीले भने । दुर्घटनास्थल विमानस्थलबाट ५ सय मिटरको दूरीमा पर्छ । त्रिभुवन विमानस्थलनजिकै जहाज दुर्घटना भएको यो तेस्रोपटक हो । यसअघि गत वर्ष असोजमा बुद्ध एयरको जहाज ललितपुरमा दुर्घटना भएको थियो भने दश वर्षअघि नेपाल वायुसेवाको जहाज स्वयम्भूनजिक दुर्घटनामा परेको थियो ।
विमानस्थल स्रोतका अनुसार जहाज उड्ने क्रममै केही असामान्य लक्षण देखिएको थियो । त्यसपछि एटिसीले चालकसँग जानकारी माग गर्दा चालक तन्डुकारले जहाज चरासँग ठोक्किएको जानकारी गराएका हुन् । टावर र चालकबीचको यो कुराकानीको केही मिनेटमै जहाज दुर्घटना भयो । सबै मृतकको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
के भन्छन् प्रत्यक्षदर्शी ?
गोरखापत्रका समाचारदाता लक्ष्मीप्रसाद उपाध्याय घरको छतमा बसेर छोरीलाई दूध खुवाउँदै थिए । जहाज उडेको देखाउँदै दूध खुवाइरहेका बेला अचानक एउटा जहाज मोडिएको उनले देखे । ‘उड्नेबित्तकै अर्को दिशातिर मोडिएको देखेर छक्क पर्दापर्दै जहाज बिस्तारै तल खस्यो,’ उनले भने ।
प्रत्यक्षदर्शीका अनुसार जहाज उड्दै गर्दा पुच्छरमा धुवाँ देखिएको थियो । मनोहरा खोलाकिनारको बगरमा खसेको ३/४ मिनेटपछि बल्ल आगो लागेको प्रत्यक्षदर्शीको भनाइ छ । ‘पुच्छरबाट धुवाँ निस्कँदै थियो, ढुन्मुनाउँदै यहाँ आएर खस्यो ।’ प्रत्यक्षदर्शी तुलसा पोखरेलले भनिन् । यात्रुहरू चिच्याएको आवाजसमेत सुनेको केहीले दाबी गरे । दुर्घटना हुनेबित्तिकै स्थानीय भेला भए पनि पड्किने डरले आगो निभाउन डराएका थिए । सामान्यतया दुर्घटनामा जहाज टुक्राटुक्रा हुने भए पनि यो दुर्घटनामा भने टुक्राटुक्रा भएको थिएन ।
सुरक्षा निकायका तीनै अंग सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त प्रयासले ४० मिनेटमा आगो निभाइएको थियो । आगो निभिसक्दा जहाजको पुच्छरबाहेक सबै भाग जलेको अवस्थामा थियो । सामान्यतया जहाज दुर्घटनामा पछाडिको भाग जलेको हुँदैन । जहाजभित्र रहेका शव पनि जलेर नचिनिने अवस्थामा थिए ।
को–को थिए जहाजमा ?
जहाजमा क्याप्टेन विजय तन्डुकार थिए भने को–पाइलट ताकेसी थापा थिए । त्यस्तै, एयर होस्टेज रुजा शाक्य थिइन् । थापाले सीता एयर प्रवेश गरेको दुई वर्ष भएको थियो भने शाक्य पाँच महिनादेखि त्यहाँ काम गरिरहेकी थिइन् । सीता एयरले सेवा सुरु गरेदेखि नै तन्डुकार यसमा थिए । ६ वर्ष जहाज उडाएपछि उनी क्याप्टेन भएका हुन् । उनले लुक्लामा विमान उडाउन थालेको भने साढे तीन वर्ष भएको थियो ।
मृत्यु हुनेमा ७ बेलायती छन् भने ५ चिनियाँ नागरिक परेका छन् । मृत्यु हुने विदेशीमा बेलायती नागरिकहरू आर इगल, सी डाभे, भी केल्ली, डी, टी ओकास, एस होल्डिङ, वी ओग्डेन तथा चिनियाँ नागरिकहरू निगम कियान, लिन उ, झिहाउ वाङ, चेन योङ, हुई उ छन् । चालक दलबाहेक मृत्यु हुने अन्य नेपालीहरूमा एलएन शेर्पा, श्रीमती एनके तामाङ, डी राई र कुमार मस्र्याङ्दी मगर रहेको सीता एयरले जनाएको छ । नेपाली सेनामा कार्यरत मगर टिकट नलिई सोझै विमानमा चढेको बताइएको छ ।
विमानमा लोडसिट भारबाहेक एक सय २० केजी वजन रहेको थियो । दुर्घटनाग्रस्त डोर्नियर जहाजको कलसाइन ‘९ एन–एएचए डी २२८’ हो । यसअघि जोमसोममा दुर्घटना भएको अग्नि एयरको जहाज पनि यही सिरिजको थियो । डोर्नियर जहाज नेपालमा दुर्घटना भएको यो छैटौँपटक हो ।
सीता एयरको तेस्रो दुर्घटना
एउटा डोर्नियर जहाजबाट नौ वर्षअघि सेवा सुरु गरेको सीता एयरको इतिहासमा यो तेस्रो दुर्घटना हो । उडान सुरु गरेको पहिलो वर्षमै सीताको जहाज लुक्लामा दुर्घटना भएको थियो । त्यसैगरी, दुई वर्षअघि पनि असोज महिनामै लुक्ला विमानस्थलमा सीताको जहाज दुर्घटनामा परेको थियो । सीतासँग तीनवटा डोर्नियर रहेकोमा शुक्रबारको दुर्घटनामा एउटा नष्ट भएपछि अब दुईवटा डोर्नियर बाँकी छन् ।
कस्तो जहाज हो डोर्नियर ?
दुईवटा इन्जिन हुने डोर्नियर आधुनिक प्रविधियुक्त जहाज हो । दुवै इन्जिन बन्द भए पनि यो जहाज हावामा तैरिँदै ‘ल्यान्ड’ हुनसक्ने विज्ञहरू दाबी गर्छन् । संसारका थुप्रै धनाढयले व्यक्तिगत जहाजका रूपमा जर्मनीमा बनेका डोर्नियर जहाज प्रयोग गरिरहेका छन् । सुरक्षा दृष्टिले यो जहाजलाई मजबुत नै मानिन्छ । नेपालजस्तो भौगोलिक विशेषता भएको मुलुकमा यो जहाज उपयुक्त हुने विज्ञहरू बताउँछन् । नेपालमा उडिरहेका डोर्नियर जहाज भने २० वर्षभन्दा पुराना छन् तर जहाजको इन्जिन तथा अन्य पार्टपुर्जा भने समय समयमा फेरिने गरिन्छ ।
कसरी ठोक्किन्छ चरा ?
जहाजमा चरा ठोक्किएको यो पहिलो घटना होइन । यसअघि गत असारमा भोजपुरबाट काठमाडौं आइरहेको नेपाल वायुसेवाको ट्विनअटरमा चरा ठोक्किएको थियो । त्यस्तै, विमान बंगलादेशको जहाजमा पनि चरा ठोक्किएको थियो । विमानस्थल वरपर बढेको फोहोरका कारण चराको संख्या बढेको छ । विशेषगरी बिहान तथा साँझ चराको संख्या बढी देखिन्छ आकाशमा । विमानस्थल वरपर फस्टाएका बधशाला र मासुजन्य पदार्थको गन्धका कारण चराको गतिविधि बढेपछि सुरक्षा खतरा बढेको प्राधिकरण अधिकारी स्वयंले समेत बताउँदै आएका थिए । विमानस्थल नजिकका सेकुवा क्याफेहरूले पनि समस्या सिर्जना गरेको बताइन्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार विमानस्थलको १३ किलोमिटर वरपर बधशाला र डम्पिङ साइट राख्न पाइँदैन । नेपालकै नागरिक उड्ययन नियमावली २०५८ मा पनि विमानस्थल वरपर तीन किलोमिटर क्षेत्रभित्र बधशाला राख्न र वातावरण दूषित गर्न नपाइने उल्लेख छ । तर, विमानस्थलको चारैतिर खोला किनारमा दर्जनौँ वधशाला छन् ।
विशेषगरी कालो चिल सुरक्षाका लागि खतरनाक मानिन्छ । गह्रौँ र बलियो भएकाले यो विमान छेउमा आइपुग्दा पनि भाग्न सक्दैन । विमानको इन्जिनको तीव्र हावाले समेत चरालाई विमानतिरै तान्छ । विशेषगरी विमान टेक अफ गर्ने र ल्यान्डिङ क्रममा पाँच सय फिट उचाइसम्म घुमिरहेका चराले अवरोध गर्ने गरेका छन् । विमानस्थलमा प्रशासनले चरा नियन्त्रणका लागि सिकारीको समेत व्यवस्था गरेको बताइएको छ । विमानस्थलदेखि तीन किलोमिटर वरपरका बाग्मती, मनहरा, हनुमन्ते र विष्ण्ुामती नदी किनारामा सयौँको संख्यामा बधशाला छन् ।
छानबिन आयोग गठन
दुर्घटनाको वास्तविकता पत्ता लगाउन सरकारले शुक्रबार नै छानबिन आयोग गठन गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन भएको हो । आयोगका सदस्यमा अग्नि एयरका डेपुटी इन्जिनियरिङ डाइरेक्टर एमके श्रेष्ठलगायत छन् । त्यस्तै, सदस्य–सचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य तोकिएका छन् । आयोगलाई प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।

 

प्रतिक्रिया