आएनन् सीमा बजारमा भारतीय गाडी

 

राजविराज,१३ असोज । नेकपा–माओवादीको आन्दोलनको त्रासले दुई दिनयता सप्तरीमा भारतीय नम्बर प्लेटका सवारीसाधन आवतजावतमा ७५ प्रतिशतले कमी आएको छ । भारतीय सवारीसाधन नेपाल प्रवेशमा रोक लगाउने पार्टीको निर्णयसँगै सवारीसाधन आवतजावतमा कमी आएको हो ।

सप्तरीको पातो, छिन्नमस्ता, हनुमाननगर र कुनौली भन्सार हुँदै नेपाल प्रवेश गर्ने सवारीसाधन हाल फाटफुटमात्र आउने गरेका छन् । मोटरसाइकलबाहेक कुनै पनि सवारीसाधन नेपाल प्रवेश नगरेको नाकामा तैनाथ प्रहरी अधिकारीले बताए । भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेकपा–माओवादीका कार्यकर्ताले अवरोध गर्ने डरले यस्तो अवस्था देखिएको उनीहरूको भनाइ छ ।
कुनौली नाकाबाट मात्र दैनिक २० देखि २५ वटा भारतीय ठूला गाडी र चार दर्जनभन्दा बढी मोटरसाइकल भन्सार कटेर नेपाल प्रवेश गरेको तर आन्दोलनको त्रासका कारण हाल ठूला सवारीसाधन लगभग ठप्प भएको र मोटरसाइकलसमेत एकदर्जनका हाराहारीमा सीमित भएको कुनौलीका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए ।
कतिपय भारतीय नागरिक डरकै कारण नेपाल–भारत नाकामै सवारीसाधन थन्क्याएर रिक्सा, टेम्पो र अन्य सवारीसाधनको व्यवस्था गरेर गन्तव्यसम्म पुग्ने गरेको स्थानीय पंकजकुमार झाले बताए । प्रहरीको सक्रियतामा कतिपय भारतीय सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याइरहेको झाको भनाइ छ ।
यसैगरी अधिकांश भारतीय तीर्थयात्रु आउने गरेको छिन्नमस्ता मन्दिरमा समेत दुई दिनयता दर्शनार्थीको संख्यामा कमी आएको मन्दिरका मूल पूजारी महाकान्त ठाकुरले बताए । ‘दैनिक २० देखि २५ भारतीय तीर्थयात्रु बोकेका सवारीसाधन मन्दिरमा आउँथे,’ ठाकुरले भने, ‘गाडीमा तोडफोड होला भन्ने डरले भारतीय तीर्थयात्री डराएर आउनै छाडे ।’
हरेक वर्ष दसैँमा भगवतीको दर्शनका लागि झन्डै पाँचलाखभन्दा बढी दर्शनार्थी भारतबाट आउने गरेको जानकारी दिँदै उनले दसँै नजिकिँदै जादा सुरु भएको माओवादीको आन्दोलनले आफूहरूलाई चिन्तित तुल्याएको बताए । यसैबीच नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज मुण्धडाले समेत भारतीय नम्बर प्लेटका सवारीसाधन प्रवेश गर्न नदिने तथा हिन्दी भाषाका चलचित्र र गीतमा समेत रोक लगाउने नेकपा–माओवादीको घोषणा दुर्भाग्यपूर्ण रहेको बताए । यस्ता आन्दोलनले सदियाँैदेखि नेपाल र भारतबीच रहेको सम्बन्ध र सामाजिक सद्भाव बिग्रनसक्ने सम्भावना बढ्दै गएको उनले बताए ।

भारतीयले नेपाली गाडी रोके 

नरेश केसी

भैरहवा, १३  असोज । नेकपा–माओवादीले भारतीय नम्बर प्लेट र भारतीय चलचित्र नेपालमा प्रतिबन्ध लगाएको घोषणाले नेपाल भारत सीमा नाका बेलहिया नाका प्रभावित भएको छ ।
दैनिक दर्जनाँै भारतीय साना ठूला सवारी तथा मालबाहक गाडी प्रवेश गर्ने नेपालको दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार नाकाबाट शुक्रबार एउटा पनि गाडी नेपाल प्रवेश गरेन । जसका कारण दिनभर व्यस्त हुने भैरहवा भन्सार नाका शुक्रबार सुनसान रह्यो ।
नेपालमा नेकपा–माओवादीले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रवेशमा रोक लगाएपछि भारतीयले पनि नेपाली नम्बर प्लेटका सवारीसाधन भारत प्रवेशमा रोक लगाएका छन् ।
दसगजा छेउमै भारतीय सीमा सुनौलीमा बसेका दर्जनौँ भारतीय नागरिकले नेपाली सवारीसाधनलाई भारत प्रवेशमा रोक लगाएका हुन् । नेपाली नम्बर प्लेटका सवारीसाधन दसगजा क्षेत्रबाट नै नेपाल फर्काउँदै गर्दा भारतीयले नाराबाजीसमेत गरेका थिए ।
नेपालतर्फ बेलहिया सीमा नाकामा नेकपा–माओवादी रूपन्देही इन्चार्ज वसन्तकुमार श्रेष्ठको नेतृत्वमा दर्जनौँ कार्यकर्ता भारतीय गाडी प्रवेशलाई रोक गर्न बिहानैदेखि खटिएका थिए । इन्चार्ज श्रेष्ठले भारतीय सवारीसाधनलाई नेपालमा विनारोकटोक प्रवेश गरी नेपालभर जान पाउँछन्, त्यसरी नै नेपाली सवारीसाधन भारतभर निर्वाध घुम्न पाउनुपर्ने मागसहित राष्ट्रिय स्वाधीनताको आन्दोलन स्वरूप अनिश्चितकालीन आन्दोलन गरिएको बताए । उनले पहिलो दिनको आन्दोलन शान्तिपूर्ण भएको बताए ।

 

प्रतिक्रिया