“अर्बौं खर्च गर्दा पनि उपलब्धि भएन”

काठमाडौं : मुख्यसचिव लीलामणि पौडेलले सरकारले कर्मचारीलाई तालिमका लागि अर्बौं खर्च गरे पनि उपलब्धि हुन नसकेको बताएका छन् । ‘कर्मचारीका लागि तालिमका नाममा सरकारले प्रत्येक वर्ष अर्बाैं खर्च गरेको छ,’ मुख्यसचिव पौडेलले भने, ‘तर, तालिमबाट भनेजस्तो जनशक्ति उत्पादन हुनसकेको छैन ।’
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३०औँ वाषिकोत्सवका अवसरमा ललितपुरको जावलाखेलमा बिहीबार आयोजित कार्यक्रममा पौड्यालले यसरी आक्रोश पोखेका हुन् । ‘यसले गर्दा सरकारको लगानी बालुवामा पानीजस्तो देखिएको छ ।’ सरकारी खर्चमा स्वदेशमा भएका कार्यक्रम मात्र होइन, विदेशमा भएका तालिमबाट पनि कुनै उपलब्धि हात लाग्न नसकेको उनले बताए । प्रतिष्ठानका काम पूर्णरूपमा सन्तोषजनक नभए पनि सुधार गरिरहेको उल्लेख गर्दै उनले प्रतिष्ठानमा स्रोतसाधनमा ध्यान दिने बताए । ‘प्रतिष्ठानका कुनै पनि समस्या हल गर्न सरकार तयार छ,’ उनले भने, ‘पैसाका कारण काम प्रभावित हुने अवस्थामा मलाई तत्काल जानकारी गराउनुस् सहयोगको वातावरण मिलाउँछु ।’ (सौस)

प्रतिक्रिया