नवलको उम्मेदवारी घोषणा

काठमाडौ : नेपाल चलचित्र कलाकार संघको महाधिवेशन आउन अझै केही समय बाँकी छ तर कलाकारलाई चुनावी माहोलले छुन थालिसकेको छ । यसै क्रममा निर्माता तथा अभिनेता नवल खड्काले संघमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेरै उनले उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारीका क्रममा उनले ‘आत्मनिर्भर एवं प्रतिष्ठापूर्ण कलाकार संघ मेरो प्रतिज्ञा, प्रतिबद्धता र जीवनदर्शन’ नारा अघि सारेका छन् ।

कलाकार संघको ११औँ महाधिवेशन आगामी असोज २७ गते राजधानीमा हुँदै छ । यसअघि संघका विभिन्न पदमा रहेर काम गरेको अनुभवका आधारमा अहिले अध्यक्षमा उम्मेदवारी दिएको खड्काले बताए । उम्मेदवारी घोषणा कार्यक्रममा खड्काले २५ बुँदे प्रतिज्ञापत्र पनि सार्वजनिक गरेका छन् । जसमा कलाकारलाई बिमाको व्यवस्था, एम्बुलेन्स सञ्चालन, पेसागत हकहितका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा संगठन विस्तार, संघको भवन निर्माण तथा वृद्ध कलाकर्मीलाई होस्टेलको व्यवस्था, चलचित्र प्रज्ञा–प्रतिष्ठान स्थापनालगायत विषय छन् । (सौस)

प्रतिक्रिया