पोखरीमा डुबेर तीन बालकको मृत्यु

विराटनगर : मोरङको सोराभाग–४ का तीन बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
बुधबार पोखरीमा डुबेर सोराभाग–४ का सात वर्षीय रोहण ऋषिदेव, पाँचवर्षीय कल्मिन्द्र ऋषिदेव र सातवर्षीय शोभानन्द ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको शव इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले पानीबाट निकालेको थियो ।
पोखरीको डिलमा खेल्न भेला भएकामध्ये तीन जनाको पानीमा डुबेर मृत्यु भएको इन्स्पेक्टर घजिन्द्रबहादुर कार्कीले बताए । कार्कीका अनुसार पोखरीको डिलमा खेल्ने क्रममा पोखरीमा पसेका बालकको डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेर बालक बेपत्ता भएको खबर स्थानीय बासिन्दाले प्रहरीलाई गरेका थिए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेलीमा लगिएको प्रहरीले जनाएको छ ।
पाँच फिट गहिरो र १५ धुर जग्गामा फैलिएको पोखरीमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनमध्ये कल्मिन्द्र स्थानीय हंसवाहिनी निम्नमाध्यमिक विद्यालयको शिशु कक्षा र अन्य दुई जना कक्षा १ मा अध्ययनरत थिए । (सौस)

प्रतिक्रिया