पश्चिमा मुलुकहरु जातीय संघीयतका पक्षमा

काठमाडौं, १० असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जातीय संघीयता ल्याउनका लागि पश्चिमा मुलुकहरु ठूलै धनराशी खर्चिएर लागी परेको आरोप लगाएका छन् ।
मिडिया इन्टरनेश्नलले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले माओवादी, एमालेलगायत दलहरु संघीयताकै कारण फुट्ने अवस्था आएको उल्लेख गरे । संघीयताकै कारणले नेपाली जनताहरु नै विभाजित हुने अवस्था आएको व्यवहारले पुष्टि भईसकेको उनले उल्लेख गरे ।
उनले भने, ‘चीन र भारतले समेत घुमाउरो भाषामा संघीयता नबनाउन सुझाव दिएका छन् ।’ संघीयताकै कारण मुलुकले नयाँ संविधान पाउन नसकेको उनको भनाई छ ।
‘संघीयताको विपक्षमा धारणा राख्ने म मात्रै एक्लो छैन,’ उनले भने, ‘म मात्रै संघीयताको विरोधमा बोल्ने एक्लो बृहस्पति होइन ।’
उनले अखण्ड सुदूर पश्चिमको आन्दोलन एमाओवादीले गरेको आरोप लगाए । ‘अखण्ड सुदूर पश्चिम हामीले गरेका थिएनौँ,’ अध्यक्ष केसीले भने, ‘संघीयता हुनु हुँदैन भनेर नै त्यहाँ जनताले स्वतस्फूर्त आन्दोलन चर्किएका थिए ।’
ताम्सालिङ् नेपालका नेता परशुराम तामाङले जातीय संघीयतामा मुलुक प्रवेश नगरे आगोजस्तै सल्किएको जनआक्रोश विष्फोट हुने चेतावनी दिए ।
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका सह–अध्यक्ष भूमिराज निरौलाले ठूला दलहरुको अकर्मण्यताका कारण मुलुक संकटमा फँसेको आरोप लगाए ।

प्रतिक्रिया