चीनद्वारा बेडा तैनाथ

बेइजिङ : छिमेकी राष्ट्र जापानसँग नौसैनिक घम्साघम्सी पर्ने छाँटकाँट देखापरिरहेका बेला चीनले पहिलो समुद्री बेडा तैनाथ गरेको छ । यसबाट जापानलगायत ‘साउथ चाइना सी’का कतिपय टापुको स्वामित्वबारे चीनसँग विवादमा तानिएका दक्षिणपूर्वी एसियाली राष्ट्र चीनप्रति सचेत भएको समाचारमा उल्लेख छ ।
चिनियाँ प्रतिरक्षा मन्त्रालयले मंगलबार जनाएअनुसार तैनाथ गरिएको बेडाको नाम ‘लियोनिङ’ हो । बेडाले चिनियाँ नौसैनिकको समग्र क्षमता बढाएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय सार्वभौमिकता र सुरक्षा तथा विकाससँग सम्बन्धित स्वार्थ रक्षाका लागि बेडा परिचालन गरिएको उसको भनाइ छ । ‘लियोनिङ’ चीन स्वयंले बनाएको बेडा भने होइन । युक्रेनबाट ल्याइएको पानीजाहाज मर्मत गरी यसलाई बेडाको स्वरूपमा ढालिएको र सन् २०१५ मा चीनले रैथाने बेडा नबनाइन्जेल यसले काम गर्ने रोयटर्सले जनाएको छ । राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जियाबाओको उपस्थितिमा चिनियाँ नौसेनालाई नयाँ बेडा हस्तान्तरण गरिएको हो ।
जापानसँग विवाद चुलिएका बेला चीनले बेडा तैनाथ गरे पनि यसको उद्देश्य एसिया–प्यासिफिक क्षेत्रमा अमेरिकी प्रभावसँग जुध्नु रहेको विश्लेषकको भनाइ छ । अमेरिकाको नयाँ फौजी नीतिले एसिया–प्यासिफिक क्षेत्रलाई केन्द्र बनाएकाले यस क्षेत्रमा अमेरिकी प्रभाव बढेर आफूमाथि सुरक्षा चुनौती आइलाग्ने सम्भावनालाई निस्तेज गर्न नौसैन्य क्षमता विस्तारकै कडीका रूपमा चीनले बेडा परिचालन गरेको धेरैको अनुमान छ ।
भियतनाम, फिलिपिन्सलगायत कपितय दक्षिणपूर्वी एसियाली राष्ट्रसँग ‘साउथ चाइना सी’ का कतिपय टापुको स्वामित्वबारे चीनको गम्भीर मतान्तर छ । साथै ताइवानसँग पनि उसको सम्बन्ध नाजुक छ । अमेरिकाले चीनसँग विवादमा तानिएका राष्ट्रलाई समर्थन गर्दै आएको छ । यी राष्ट्रसँग मिलेर अमेरिकाले आफूमाथि सुरक्षा चुनौती सिर्जना गर्ने सम्भावना देखेपछि चीनले पनि आफ्नो सैन्य क्षमता विस्तार गरिरहेको छ । केही समयअघि चिनियाँ जनमुक्ति सेनाका एक वरिष्ठ अधिकारीले परमाणुरहित क्षेप्यास्त्रको विकास, सुधार एवं यसको संख्या विस्तारमा चीन अग्रसर भएको खुलासा गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया