जुवाखालका सहयोगी प्रहरीका घुमुवा

बुटवल, १० असोज । चाडपर्व नजिकिँदै गएका बेला शान्ति सुरक्षा सुदृढ राख्ने र जुवातासलगायत गतिविधि नियन्त्रणमा खटिने प्रहरी नै जुवाखालका सहयोगी भएको खुलासा भएको छ ।

जुवाखाल चलाउने समूहसित पैसा उठाएर उनीहरूलाई जुवा खेलाउन सहयोग गर्नेमा प्रहरी नै रहेको खुलेको हो । इलाका प्रहरी कार्यालय बुटवलले जुवा खेलाउनेलाई सहयोग गरेको अभियोगमा प्रहरीकै घुमुवालाई नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
बुटवलमा जुवा खेलाउने दुईजनासहित जुवा खेलाउन सहयोग गर्न पैसा लिने गरेको आरोपमा घुमुवा प्रहरीलाई पक्राउ गरी थुनामा राखिएको छ । प्रहरीले बुटवल गोलपार्क र देवीनगरबाट जुवा खेलाउनेहरूबाट पैसा उठाएर जुवा खाल सञ्चालनमा सहयोग गर्ने घुमुवा प्रहरीलाई थुनामा राखेको हो । जुवाखाल सञ्चालन गरेको अभियोगमा तीन दिनअघि पक्राउ परेकाले प्रहरीलाई जुवा खेलाउन सहयोग गर्न भन्दै पैसा दिएको बताएपछि यस्तो रहस्य खुलेको हो । अनुसन्धान गर्दा वडा प्रहरी कार्यालय, रामनगरमा कार्यरत प्रहरी जवान हरिप्रसाद पौडेलले जुवा खेलाउनेबाट पैसा लिएको पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दीपक थापाले बताए ।
प्रहरी जवान पौडेलले जुवा खेलाउने बुटवल–१३ देवीनगरका डम्बर शेरचनबाट पैसा लिएको स्वीकार गरेका छन् । प्रहरीले जुवाको खालबाट एक दर्जन व्यक्तिलाई ५२ हजार रुपियाँसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिलाई सार्वजनिक अपराधअन्तर्गत कारबाही अगाडि बढाइने डिएसपी थापाले बताए । उनले जुवा खेलाउनेसँग साप्ताहिक रूपमा पैसा लिने प्रहरीलाई विभागीय कारबाही अगाडि बढाउने बताउँदै थुनामा राखेको र घटनामा अरू कोही संलग्न भए नभएको थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया