संवैधानिक संकट निम्ताउन एमाओवादी दोषी

काठमाडौं, ९ असोज । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमाओवादी नेतृत्वको वर्तमान सरकारले मुलुकमा संवैधानिक संकट उत्पन्न गराएको आरोप लगाएका छन् ।
काठमाडौंको घट्टेकुलोमा आज आयोजित कार्यक्रममा उनले मुलुकमा नयाँ संविधान नबनाउन एमाओवादीले संवैधानिक संकट बनाएको दाबी गरे । ‘संविधानसभा विघटन गरेर संवैधानिक संकट उत्पन्न गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदमा बस्ने अधिकार छैन,’ उनले भने, ‘एमाओवादीले मुलुकलाई हरेक क्षेत्रबाट प्रहार गरेर अस्तव्यस्त बनाउँदै छ ।’
एमाओवादीले नयाँ संविधान बनाउन नचाहेर संविधानसभा विघटन गरेको उनको आरोप थियो ।
विघटित संविधानसभामा कांग्रेसको सानो उपस्थिति रहे पनि लोकतान्त्रिक संविधान बनाउन मेहनत गरेको सिंहको भनाई थियो । उनले भने, ‘थोरै उपस्थिति भएर हुनुपर्छ नयाँ संविधान बनाउन दबाव उत्पन्न गर्न सकिएन ।’
मुलुकको विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि वार्ता, सहमति र सहकार्य मात्रै बिकल्प रहेको महामन्त्री सिंहले बताए । ‘सहमतिका लागि प्रधानमन्त्री भट्टराईले त्याग गर्नु पर्छ,’ उनले भने, ‘कामचलाउ भईसकेका प्रधानमन्त्री पदमा बसेर सहमतिको बाधक बन्नु हुँदैन ।’
प्रधानमन्त्री भट्टराई पदबाट बहिर्गमन हुने नमाने कांग्रेसले सडक आन्दोलन चर्काएर हटाउने चेतावनी सिंहको थियो । उनले भने, ‘एमाओवादी र भट्टराई सहमतिमा नआए सडकबाट हटाउँछौं ।’

प्रतिक्रिया