पाँच महिनामा डेढ अर्ब ठगीको उजुरी

काठमाडौं, ८ असोज । -गोरखा ताङफाँट–६ का ३६ वर्षीय भवन भट्ट र उनका भाइ शिशिर भट्टले व्यावसायिक कारोबारका क्रममा बुटवल–१० का तेजेन्द्र खड्कालाई लुम्बिनी बैंकको दुई करोड रुपियाँको चेक दिए । तर, चेक साट्न जाँदा ‘बाउन्स’ भयो । खड्काले महानगरीय प्रहरी परिसर काठमाडौंमा भट्ट दाजुभाइविरुद्ध १५ वैशाखमा उजुरी हाले । उजुरीमा भट्टले युनाइटेड ब्रुअरीको १५ करोड रुपियाँ बराबरको सेयरसमेत ठगी गरेको उल्लेख छ । भवन भट्ट बिबी एयरलाइन्सका मालिक हुन् । उनी प्रहरीको फरार सूचीमा छन् ।
-राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख अशोकदेव भट्टकी श्रीमती प्रतिभासेन भट्टलाई ठगीकै आरोपमा प्रहरीले पक्राउ गर्‍यो । भट्टले राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक र जवान पदमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग ४६ लाख ३५ हजार रुपियाँ ठगी गरेको उजुरी परेको थियो ।
-‘गुड फर पेमेन्ट’ जारी गरी करोडौँ रुपियाँ ठगी गरेको आरोपमा चाबहिलस्थित जनरल फाइनान्स लिमिटेडका अध्यक्ष उपेन्द्रनारायण श्रेष्ठ, कम्पनी सचिव लक्ष्मण श्रेष्ठ र निर्देशक कपुरप्रसाद वैंजुलाई प्रहरीले पक्राउ गर्‍यो । केन्द्रीय अनुसन्धान ब्युरोबाट पक्राउ परेका उनीहरूले सर्वसाधारणबाट नक्कली चेक तथा छाप प्रयोग गरी सात करोड ८२ लाख ५४ हजार नौ सय ७९ रुपियाँ ठगी गरेको उजुरी परेको थियो ।

-गोरखा डेभलपमेन्ट बैंकका तत्कालीन कर्जा प्रमुख दीपक रानामगर ठगी गरी फरार भएपछि सिआइबीले पक्राउ गर्‍यो । उनले बैंकको ११ करोड ६ लाख १८ हजार चार सय ६९ रुपियाँ ठगी गरेको उजुरी परेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा पाँच महिनाभित्र परेका ठगी मुद्दाका बिगो परिणाम देख्दा प्रहरी नै झस्किन थालेका छन् । यस अवधिमा परेका ६८ वटा उजुरीमा कुल डेढ अर्ब रुपियाँभन्दा बढी बिगो दाबी गरिएको छ ।
प्रहरीका अनुसार ठूला ठगीमा उच्च सामाजिक प्रतिष्ठा भएका ‘ठूला’ व्यक्तिहरू संलग्न छन् । बाउन्स चेक दिएर ठग्ने प्रवृत्ति सबैभन्दा बढी देखिएको छ । गत वैशाखदेखि भदौ अन्तिमसम्म एक अर्ब ५४ करोड ९८ लाख ९६ हजार तीन सय ६६ रुपैयाँ ठगी भएको दाबी प्रहरीमा आएको छ । ठगीको महलभित्र पर्ने बाउन्स चेक, नक्कली बिल भर्पाइ, नक्कली कागजपत्रसम्बन्धी उजुरी मात्रै यसमा समावेश गरिएका छन् । त्यसमध्ये २५ प्रतिशत बाउन्स चेकसित सम्बन्धित छन् ।
सबैभन्दा ठूलो परिणामको ठगीसम्बन्धी उजुरी २८ वैशाखमा परेको थियो । त्यसमा एक अर्ब १० करोड, ३८ लाख ५४ हजार तीन सय ६३ रुपियाँ बिगो दाबी गरिएको छ । त्यसपछि १७ करोड नौ लाख ८६ हजार दुई सय २६ को बिगो दाबी गर्दै १७ वैशाखमा उजुरी परेको छ । १८ असारमा १६ करोड ९१ लाख ५५ हजार ५ सय ५५ रुपियाँको उजुरी पर्‍यो । पाँच महिनामा परेका ६८ वटा उजुरी लाखभन्दा तलका छैनन् ।
पाँच महिनाभित्रका ठगी मुद्दाका बिगो दाबीसम्बन्धी तथ्यांकबारे जानकारी गराउँदा परिसर प्रमुख जयबहादुर चन्दले समेत सुरुमा पत्याएनन् । एसएसपी चन्दले मुद्दा फाँटका डिएसपी अरुण विसीलाई परिणामबारे ‘रिचेक’ गराउँछु भने । वास्तविकताको जानकारी लिएपछि एसएसपी चन्दले भने, ‘यो त ठूलो परिणामको ठगी हो, यसले भविष्यमा डरलाग्दो समस्या निम्तिन सक्छ ।’
यसप्रकारका ठगी धेरैजसो चेक बाउन्सबाट भएका छन् । कतिपय भने फाइनान्सबाट भएका छन् । केही व्यक्तिको प्रभाव देखाई सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत विभिन्न सरकारी निकायमा जागिर लगाइदिन्छु भनेर पनि ठगी भएका छन् । कति भने घरजग्गाका कारण ठगिएका छन् ।
एसएसपी चन्दका अनुसार ठगीमा अधिकांश प्रतिष्ठित घरानाका व्यक्ति संलग्न भएको देखिन्छ । उदाहरण दिँदै एसएसपी चन्दले भने, ‘भट्ट बिबी एयरलाइन्सका मालिक हुन्, कारोबार बिग्रिएपछि उनले आºना व्यावसायिक ‘पार्टनर’लाई ठगेको देखिन्छ । प्रतिभासेन अनुसन्धान विभागका पूर्वप्रमुखकै श्रीमती हुन्, उनले जागिर लगाइदिन्छु भन्दै ठगेको देखिन्छ । त्यस्तै, गुड फर पेमेन्टका नाममा जग्गा कारोबारदेखि विदेश लैजाने नाममा पहुँचावालाहरूले नै ठगेको देखिन्छ ।’
घरानियाँ वर्गकै व्यक्ति ठग्ने कार्यमा संलग्न हुनुमा नियत, बिग्रँदो कारोबार र कतिपय अवस्थामा उजुरीकर्ताकै कमजोरी मुख्य कारण रहेको एसएसपी चन्दको भनाइ छ । उनले भने, ‘पैसा डुबेपछि जो–कोही पनि उठाउन चाहन्छ, नदिए उसले विभिन्न अपराधका बाटो अपनाउन पुग्छ । विगतमा भएका अपहरण, हत्याका पछि यिनै कारण छन् । प्रहरी मात्रै नभई नागरिकसमेत सचेत हुन आवश्यक देखिन्छ ।’

प्रतिक्रिया