आठ क्विन्टल काँच प्रशासनबाटै चोरी

बाग्लुङ, ९ असोज । बाग्लुङको सुरक्षा केन्द्रबिन्दु सिडिओ कार्यालयबाटै चार लाख रुपियाँ बराबरको काँच चोरी भएको छ ।

गोली बनाउन प्रयोग गरिने आठ सय किलोग्राम काँच सिडिओ कार्यालय परिसरमा रहेको चञ्चलादेवी भगवती मन्दिरबाट चोरी भएको हो । प्रहरीका अनुसार काँचको मूल्य अहिले प्रतिकेजी पाँच सय रुपियाँभन्दा बढी पर्छ ।
एयर गन, गोली तथा मूर्ति बनाउन प्रयोग हुने काँच सामान्य मानिसलाई जानकारी नहुने भएकाले जानकार व्यक्तिको संलग्नता हुन सक्ने आशंका गरिएको छ । काँच कहिले चोरी भएको भन्नेबारे समेत प्रहरी प्रशासन बेखबर देखिएको छ । काँचको मूल्य, महत्त्व र चोरीलाई प्रहरी प्रशासनले सामान्य भएको बताएको छ भने त्यससँग सम्बन्धित जानकारले अहिले पनि काँचको महत्त्व बढिरहेको र त्यसको दुरुपयोग हुन सक्ने बताए ।
सहायक सिडिओको क्वार्टर, नगर प्रहरीको आडमा रहेको मन्दिरबाट काँच चोरी भएको सिडिओ कार्यालयका नायब सुब्बा टेकनाथ शर्माले बताए । मन्दिरको झ्यालको आरा करौँतीले काटेरभित्र पसेर काँच चोरी गरेको प्रहरीले जनाएको छ ।
मन्दिर बडादसँैको बेलामा एकपटक मात्र खुल्ने हुँदा चोरी कहिले भएको हो भन्नेसमेत खुल्न नसकेको शर्माको भनाइ छ । अञ्चलाधीशको कार्यालय भएको समयमा काँच राखिएको हुन सक्ने अनुमान गरिएको छ । ‘प्रशासन परिसरको मन्दिरमा काँच राखिएको बारे अहिलेका सिडिओ सापलगायत अन्य प्रशासनका कसैलाई पनि थाहा भएको पाइएन,’ डिएसपी कृष्णप्रसाद सिवाकोटीले भने, ‘मूल्यवान चिज भएको थाहा भए त्यहीअनुसार राखिन्थ्यो ।’ काँचको भ्यालु बजार मार्केट कस्तो छ भन्नेबारेमा बुझिरहेको उनले बताए । कवाडी सामान संकलन केन्द्र र मालढुंगा नाकामा चेकजााँच कडा गरिएको उनले बताए ।
प्रशासन परिसरमा काँच राखिएको र चोरीबारे आफूलाई जानकारी नभएको सिडिओ महादेव पन्थले बताए । उनले आफू केही दिनदेखि जिल्लाबाहिर रहेकाले जिल्ला आएर थप बुझेर मात्र प्रतिक्रिया दिने बताए ।

प्रतिक्रिया