टीके प्रथा अन्त्य गर्न नेविसंघको माग

काठमाडौं, ८ असोज । नेपाल विद्यार्थी संघ निकट विद्यार्थी नेताहरुले माघको पहिलो साता हुन लागेको ११ औं महाधिवेशन हुनेमा आशंका जनाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेविसंघका नेताहरुले पदमा बसिरहन नेतृत्वले महाधिवेशन सार्ने तयारी गरेको आरोप लगाए । उनीहरुले भने, ‘पदमा टिकिरहने व्यक्तिवादी चरित्रका कारण महाधिवेशनमा अन्यौलमा परेको हो ।’
नेविसंघको माघ–५, ६ र ७ गते नेविसंघको ११ औं महाधिवेशन तोकिसकेको छ ।
विद्यार्थी नेता लेखनाथ पोखरेलले महाधिवेशन विधि सम्मत तोकिएकै समयमा हुने दावी गरे । उनले भने, ‘कांग्रेसले ह्वीप जारी गरिसकेकाले महाधिवेशन रोकिदैन ।’ महाधिवेशन तयारीको काम ९० प्रतिसत सम्पन्न भईसकेको उनले बताए ।
निवर्तमान महामन्त्री मनोजमणि आचार्यले एकता महाधिवेशन दुबै पक्षको सहमतिमा हुनु पर्ने जिकिर गरे । संस्थापनले अहिले एक्लौटी ढंगले प्रक्रिया अगाडि बढाईरहेको भन्दै उनले चिन्ता प्रकट गरे ।
उनले महाधिवेशन नभई टीके प्रथाबाट फेरि पनि नेतृत्व चयन गरिए नेविसंघ नरहने चेतावनी दिए ।
निवर्तमान उपाध्यक्ष नैनसिंह महरले महाधिवेशनका लागि आवश्यक प्रक्रिया अगाडि नबढेको आरोप लगाए । उनले फेरि पनि टीके प्रथाबाट संगठन चलाउने षडयन्त्र भईरहेको दाबी गरे ।

प्रतिक्रिया