बिन्ती बिसाउने एमाले नेता निष्काशित

बाग्लुङ, ८ असोज । नेकपा (एमाले) बाग्लुङले पूर्वराजासामु रुँदै देश बचाउन बिन्ती गर्ने जिल्ला सदस्यलाई कारबाही गरेको छ । शनिबार बाग्लुङ आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग रुवावासी एमाले जिल्ला सदस्य जब्बरबहादुर लामिछानेलाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निष्कासन गरेको हो ।

एमाले बाग्लुङका अध्यक्ष जनक पौडेलले लामिछानेले प्रतिगामी चलखेललाई बल पुग्ने गरी राष्ट्रियता जोगाउन राजा सक्रिय हुनुपर्नेजस्ता आपत्तिजनक अभिव्यक्ति दिएका कारण निष्कासन गरेको बताए । पार्टीको घोषित नीति, गौरव र प्रतिष्ठामाथि आँच आउने तथा अन्य सार्वजनिक कार्यक्रममा समेत पार्टीनेताप्रति अनास्था फैलाउने क्रियाकलापमा संलग्न भएकाले पार्टीको विधान ०२४ को धारा ४९ बमोजिम कारबाही गरेको पौडेलको भनाइ छ ।
कारबाही भएपछि प्रतिक्रिया दिँदै लामिछानेले पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक भएकाले आफू नागरिकका हैसियतले भेट्न गएको बताए । उनले एमालेले कारबाही गरेकोमा धन्यवाद दिँदै अब आफूले राष्ट्रवादी नयाँ पार्टी बनाउन सक्ने उल्लेख गरे । अन्य पार्टीमा जाने सम्भावनाबारे प्रश्न गर्दा कुनै पनि पार्टीमा आफू नजाने उनको भनाइ थियो ।

प्रतिक्रिया