मोरङमा क्रान्तिकारीको चन्दा ‘आतंक’

विराटनगर, ८ असोज । राष्ट्रिय र जिल्ला सम्मेलनमा जुटेका एमाओवादी र नेकपा–माओवादीका विद्यार्थी संगठन अनेरास्वावियु क्रान्तिकारीले मोरङका निजी शैक्षिक संस्थामा ‘चन्दा आतंक’ मच्चाएका छन् । दुईवटै संगठनले राष्ट्रिय र जिल्ला सम्मेलनको सहयोगार्थ भन्दै चन्दा संकलन कार्यलाई तीव्रता दिएपछि मोरङका निजी शैक्षिक संस्थामा आतंक फैलिएको छ ।

एक सातादेखि सुरु गरिएको चन्दा अभियानले शैक्षिक संस्थाका शिक्षक र सञ्चालकसमेत आतंकित छन् । अखिल क्रान्तिकारीका नाममा चन्दाका लागि बारम्बार धम्की आएको शिक्षक बताउँछन् । उनीहरू भन्छन्, ‘चन्दा नदिएमा भौतिक कारबाही गर्नेसमेत धम्की आएको छ ।’ भौतिक कारबाहीको धम्की आएपछि पठनपाठन गराउने वातावरणसमेत नभएको शिक्षकले गुनासो छ । मोरङका विराटनगर, बेलबारी, पथरी, उर्लाबारी, रंगेली, विराटचौकलगायत मुख्य बजार र ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा समेत अखिल क्रान्तिकारीले चन्दालाई तीव्रता दिएका छन् । जबरजस्ती चन्दा संकलन गर्ने काम गरिएको भन्दै निजी विद्यालयका सञ्चालक र शिक्षकले अवैध रूपमा चन्दा संकलन गर्नेमाथि कारबाही हुनुपर्ने माग गरेका छन् । निजी विद्यालय र उच्च माविमा क्रान्तिकारीका नाममा चन्दा माग गर्ने र धम्की दिने क्रम एक सातादेखि जारी रहेको शिक्षकहरूको भनाइ छ । ‘स्वैच्छिक चन्दा संकलन गर्नु ठिकै हो तर नदिए भौतिक कारबाही गर्ने धम्की आएको छ,’ एक शिक्षकले भने ।
उच्च माध्यमिक विद्यालय संघ (हिसान) मोरङका अध्यक्ष बलराम पन्तले एउटा शैक्षिक संस्थामा एकजना विद्यार्थी बराबरको रकम चन्दा माग गर्ने गरिएको बताए । उनले भने, ‘एकजना विद्यार्थी बराबर चन्दा दिने हो भने एउटा शैक्षिक संस्थाले २० हजारदेखि ६ लाख रुपियाँसम्म दिनुपर्ने भन्दै राजनीतिको मूलधारमा आइसकेको दलका भ्रातृसंगठनले अवैध रूपमा गर्ने चन्दा संकलनले समस्या पारेको छ ।’ निजी विद्यालयको साझा संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङका अध्यक्ष खम्बसिंह बस्नेतले आफूहरूले कसैलाई पनि चन्दा दिने/नदिने औपचारिक निर्णय नगरेका कारणले माग गर्न आउनेलाई चन्दा दिन समस्या भएको बताए । उनले भने, ‘व्यक्तिगत रूपमा अखिल क्रान्तिकारी समर्थित विद्यार्थी चन्दा माग गर्नका लागि विद्यालय–विद्यालय जाने गरेको सूचना आएको छ ।’
एमाओवादीको भ्रातृसंगठन अखिल क्रान्तिकारीका केन्द्रीय समितिका सचिवालय सदस्य तथा कोचिला राज्य समितिका संयोजक जीवन भट्टराईले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न आफूहरूले निजी विद्यालय तथा उच्च माविका सञ्चालकसँग चन्दा माग गरेको स्विकार गरे । ‘लामो समयपछि शैक्षिक संस्थासँग हामीले चन्दा मागेका हौँ,’ उनले भने, ‘हामीले स्वैच्छिक रूपमा चन्दा माग गरेका हाँै जबर्जस्ती गरेका छैनौँ ।’ आफूहरूले एक वर्षपछि मात्र शैक्षिक संस्थामा चन्दा संकलन गरेको उनको जिकिर छ । त्यसैगरी, नेकपा–माओवादीको भ्रातृसंगठन अखिल क्रान्तिकारीका कोचिला राज्य समिति इन्चार्ज जयराम सुन्दासले आफूहरूले शिक्षण संस्थाहरूसँग हार्दिकतापूर्वक सहयोग चन्दा दिन अनुरोध गरेको बताए । ‘विद्यार्थी संगठनले शिक्षण संस्थाकै सहयोगमा आफ्नो गतिविधि गर्ने हो सोहीअनुसार स्वैच्छिक चन्दा मागिएको हो,’ उनले भने, ‘कतिदेखि कति रुपियाँसम्म माग्दा आतंक हुन्छ भन्ने कुराको त सीमा नै छैन नि ।’
एमाओवादीसम्बद्ध अखिल क्रान्तिकारीको राष्ट्रिय भेला ९ र १० असोज काठमाडौंमा हुँदै छ भने नेकपा–माओवादीको भ्रातृसंगठन अखिल क्रान्तिकारीको पनि काठमाडौंमा नै १५ देखि १९ असोजमा राष्ट्रिय सम्मेलन हँुदै छ । उनीहरूले सोही राष्ट्रिय भेला र राष्ट्रिय सम्मेलनको सहयोगार्थ भन्दै मोरङमा तीन सय २२ निजी विद्यालय र १५ उच्च माध्यमिक विद्यालयबाट चन्दा संकलन गरिरहेका छन् ।

प्रतिक्रिया