‘सर्प देख्दा सातोपुत्लो उड्थ्यो’

भाइबहिनी हो, भाइबहिनी हो, म तिमीहरूकै दाजु सागर थापा हुँ । मलाई नचिने पनि नेपाली राष्ट्रिय टोलीको फुटबल त तिमीहरूले पक्कै हेरेको हुनुपर्छ । म अहिले राष्ट्रिय टोलीको कप्तान पनि हुँ । मेरो जन्म वि.सं. २०४२ साल मंसिर ६ गते काठमाडौंमा भएको हो । एक बहिनी र तीन दाजुभाइमध्ये म कान्छो छोरा हुँ । म कान्छो भए पनि पुलपुलिएको छोराचाहिँ हैन नि †
बुबा जागिरमा हुनुहुन्थ्यो । कखरा आमाले पाटीमा चकले लेख्न र चिन्न सिकाउनुभयो । बालमन्दिर स्कुल विराटनगरमा नर्सरीमा भर्ना भएर यूकेजीसम्म पढेँ । १ कक्षादेखि ८ सम्म विराटनगरकै महेन्द्र स्कुलमा पढेँ । ९ कक्षा काठमाडौंको डेफोडिल स्कुलमा पढेँ अनि अन्तिम १० कक्षाचाहिँ कलंकीको एलआरआई स्कुलमा पढेँ । स्कुले जीवनमा पढाइमा राम्रो त कहिल्यै हुन सकिनँ । अलि चाम्रो, ठीकै खालको विद्यार्थी थिएँ । गणित र साइन्स विषयमा त साह्रै कमजोर र लद्दु । नीलो पाइन्ट, सेतो सर्ट, कालो छालाको जुत्ता, काँधमा भिर्ने झोलामा टन्न किताबकापी बोकी विराटनगरमा १ किमि टाढाको स्कुल पैदलै पुग्थेँ ।
बिहानै स्कुल जानुपर्ने कारणले प्राय: निद्रा पुग्दैनथ्यो । मेरो नानीदेखि नै अलि बढी सुत्ने बानी थियो । आँखामा झ्याप्पझ्याप्प पानी छम्केर मुख धोएपछि बल्ल निद्रा भाग्थ्यो । त्यति गर्दागर्दै पनि कहिलेकाहीँ अल्छी लाग्थ्यो, स्कुल जान मन लाग्दैनथ्यो । अनि त उही पुरानो फर्मुलाको प्रयोग, ‘आज पेट दुख्यो वा टाउको दुख्यो’ बहाना बनाउँथेँ । घरका सदस्यहरू सोध्नुहुन्थ्यो, ‘बाबु † तँलाई अहिले कस्तो छ ? अलि बिसेक भयो कि डाक्टरकहाँ जाने हो कि ?’ उहाँहरूको व्यवहार देखेर मेरो कलिलो मनलाई भित्रैदेखि हिक्कहिक्क र दिक्कदिक्क लागेर आउँथ्यो । त्यसपछिचाहिँ स्कुल नजानलाई कहिल्यै बहाना बनाइनँ । निद्रा नपुगे पनि खुरुखुरु स्कुल जान्थे ।
सानो बेलामा भूत र सर्पदेखि सारै डर लाग्थ्यो । गाउँले दाजुहरू कुरा गर्नु हुन्थ्यो, भूत राँको बालेर आउँछ । अँध्यारोमा कसैले टर्च बालेर हिँडे पनि झसङ्ग हुन्थेँ । स्कुल आउँदाजाँदा बाटामा हरहरे, धामन, करेत र गोमन सर्प सधैं देखिन्थे, मलाई डर लागिरहन्थ्यो । कुनै–कुनै साथी अचम्मका हुन्थे, सर्प नदेखिएको दिन रुखको सानो सुकेको हाँगो फाल्दै कराउँथे, ‘ऊ साँप †’ यताउति हेर्‍यो साँप कतै छैन, तापनि कलिलो र सानो मुटु ढुकढुक गर्न थाल्थ्यो । अनि त के खोज्छस् कानो आँखा भइहाल्यो । ‘किन ढाँटिस्, किन झुक्याइस्’ भन्दै हामी साथीहरू आपसमै मारमुङ्ग्री गर्न थाल्थ्यौँ । त्यतिले छाक नपुगेपछि हामी फुच्चेहरू अर्को टोलमा गएर ठाँटले आँट देखाउँदै र हावामा निहुँ खोज्दै दादागिरी देखाउँदै हिँड्थ्यौँ ।
सानोमा म दुब्लो–पातलो, सोझो कम बोल्ने, अनुशासित खालको बच्चा थिएँ । स्कुलमा हुने खेलकुदबाहेक अन्य कुनै कार्यक्रममा कहिले भाग लिइनँ । लाइन्स क्लब विराटनगरको आयोजनामा भएको फुच्चेहरूको ५ किमि दौड प्रतियोगितामा प्रथम भएर मेडल पाएको थिएँ ।
एक पटक कक्षाकोठामा हामी चार साथी हल्ला गरेर बसिराखेको थियौँ । मिस (म्याम) ले हामी चारै जनालाई लोप्पा ख्वाउँदै झापडैझापड हिर्काउन थाल्नुभयो । त्यो मेरो स्कुले जीवनको प्रथम र अन्तिम झापड भएको हुनाले अहिले नि बेलाबेलामा याद आउने गर्छ ।
फुटबलमा मेरो सानैदेखि लगाव र झुकाउ थियो । गुच्चा खेल्ने उमेरमा हामी बच्चाहरू मोजाको बल बनाएर घर र टोल छेउछाउको चउरमा खेल्थ्यौँ । मोजाको बल खेल्दा कहिलेकाँही जोडले कसिएको हातले हैन, लातले बेसरी घुस्सा प्रहार गर्‍यो, परिणाम त फुस्सा † बल अलिकति माथि पुगेर जहीँको त्यहीँ । बलभित्र हालेको कुरा छरर्र छरिन्थ्यो । त्यस दिनको खेलको समाप्ति हामी भुराहरू होहो..हाहा गरेर घण्टौँ हाँसेपछि गथ्र्यौँ । गाउँठाउँका दाजुहरू राम्रो फुटबल खेल्नुहुन्थ्यो । म फुच्चे बेलामा महेन्द्र गोल्डकप हेर्न जान्थेँ । मभित्र रहेको फुच्चे फुटबलरमा फुटबलप्रति रुचि बढ्दै गयो । १४ वर्षको उमेरदेखिचाहिँ पूरै जीउज्यान छाडेर फुटबलमा लागेँ । सुरुसुरुमा बाआमा, दाजुको खुबै गाली खान्थेँ । गाउँले छरछिमेक पनि यो त बिग्रियो भनेर नाकमुख खुम्च्याउँथे । पछि मैले खेलेको देखेर सबैले प्रोत्साहन दिन थाल्नुभयो । गालीको सट्टा ताली बजाउन थाल्नुभयो । मेरो म्याच परेको दिन बुबाआमा, दाजुबहिनी मात्रै हैन, पूरै गाउँ र टोल नै उल्टेर खेल हेर्न जान्थे । ‘वाह सागर, राम्रो हानिस् † लल, खेलखेल, वकअप सागर †’ भन्दै मैदानमा मेरो हौसला बढाउँथे ।
सम्पत्तिको नाममा बल्लतल्ल एउटा इन्डियन काँडेदार बुट जोडेको थिएँ । खेल्दाखेरि भिजेर त्यो बुट भारी न भारी हुन्थ्यो । सिलाइ उध्रेर गोडाको औँला बाहिर निस्किन्थ्यो, किलाले घोचेर हैरान पाथ्र्यो । बुट झिकेर आपैँmले ठोकठाक गर्‍यो अनि फेरि खेल्यो । भिजेको बुटलाई रातभरि हाते पङ्खा हल्लाएर सुकायो अनि बिहानै स्कुल जाँदा झुन्डाएर मोचीकोमा लगेर घण्टौ पर्खेर सिलाइन्थ्यो । पुन: म्याच खेल्ने दिन त्यही बुट लगाएर खेल्थेँ ।
व्यावसायिक खेलाडी भएपछि खाने कुरामा पनि परहेज गर्नुपर्छ, भाइबहिनी हो । शरीरलाई हानि पुर्‍याउने खाने कुरा खानु हुन्न । लागू पदार्थ त झन् हेर्नु पनि हुन्न । खेलाडी भएपछि शारीरिक र मानसिक दुवै ऊर्जा चाहिन्छ । दाल, भात, तरकारी, आफ्नो साबिकको खानाबाहेक शारीरिक उर्जा प्राप्त गरेर खेलमा फाइट गर्न डाइट पनि चाहिन्छ । डाइटमा मेरो महिनाको १२ देखि १५ हजार छुट्टै खर्च हुन्छ । मानसिक उर्जा चाहिँ युरो कप आदि खेलहरू हेरेर, अध्ययन र चिन्तन गरेर प्राप्त गर्छु ।
करिब १०–११ महिनाअगाडि साफ गेममा बंगलादेशविरुद्ध खेलिरहेका थियौँ, खेल बराबरीमा चलिरहेको थियो । मैले फ्रिकिक हान्ने मौका पाएँ । पछाडिबाट हाम्रो कोचले तोप पड्काउँदै भन्नुभयो, ‘खेल सकिन ३० सेकेन्ड बाँकी छ, पास हैन सोझै पोस्टमा चार्ज गर्नू ।’ खुट्टा तन्काउन एकपटक मैदानमा बसउठ गरेँ । मैले मनमनै सोचिसकेको थिएँ, बललाई बनाना कट हान्छु भनेर । ३८ यार्ड (११४ फिट) टाढाबाट बल प्रहार गरेँ, बल केराझैँ अलि बांगो हुँदै सुइय माथि उड्दै गयो । गोलकिपरले उफ्रेर समाउन खोज्यो, तर त्यो बल जालीभित्र छिरिहाल्यो । दर्शकमा खैलाबैला मच्चियो । सबै उठेर उफ्रेर ताली बजाउन थाले । रेफ्रीले पिरपिरपिर सिटी बजाएपछि खेल समाप्त भयो । गोल हानेपछि म सोचिरहेको थिएँ, बच्चा बेलादेखि लागेर कडा र बडा मिहिनेत गरेको बल्ल सफल भयो । अचानक खेलाडी साथीहरूले बुई चढाएर मैदानमा घुमाउन थालिहाले । पछि मैले थाहा पाएँ, त्यस साताको विश्वका पाँच उत्कृष्ट गोलमा मेरो त्यो गोल पनि परेको रहेछ । मैले हानेजस्तै गोल ब्राजिलका रोनाल्डिन्होले पनि हान्नुभएको रहेछ, भाइबहिनी हो † अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै मैले हानेको त्यही गोल नै मेरो अहिलेसम्मको प्रथम र अन्तिम हो । राष्ट्रिय स्तरमा चाहिँ मैले ५३ वटा गोल गरिसकेको छु ।
भाइबहिनी हो, वि.सं. २०५९ सालमा एलआरआई स्कुलबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि मेरो स्कुले जीवन सदाका लागि समाप्त भयो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया