कारागार प्रशासनले नक्कली पत्र नचिन्दा….

काठमाडौं, ७ असोज । नक्कली कागजात देखाएर जगन्नाथ देवालस्थित केन्द्रीय कारागार प्रशासनलाई जिल्याएर मुक्त भएका कैदी प्रहरी फन्दामा परेका छन् ।
नेपाली सेनाका पूर्वअमल्दार सिन्धुलीको रानीवास–२ का २९ वर्षीय गंगाहरि न्यौपाने पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो
(सिआइजिबी) ले शनिबार सुन्धारास्थित चितवन गेस्टहाउसबाट न्यौपानेलाई पक्राउ गरेको हो । न्यौपाने अनुशासन तथा आचरणविपरीतका कार्यमा संलग्न भएको भन्दै नेपाली सेनाको समरी सैनिक अदालतले ११ जेठबाट गणना हुने गरी तीन वर्ष कैद सजाय सुनाएको थियो । तर, केन्द्रीय कारागार प्रशासनमा ११ जेठबाट लागू हुने गरी सैनिक अदालतले तीन महिनाको मात्रै कैद सजाय सुनाएको पत्र देखाएर उनी मुक्त भएका थिए । उक्त पत्रमा अदालतको फैसलामुताविक
११ भदौमा कैद भुक्तान हुने उल्लेख छ ।
प्रहरीका अनुसार आफन्तले नक्कली कागज बनाई न्यौपानेलाई मुक्त गराएका थिए । उक्त पत्रको सिरानमा अति जरुरी भनी ‘नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना’ उल्लेख छ । पत्रको एकातर्फ टेलिफोन नम्बर उल्लेख छ भने अर्कातिर सैनिक विशेष अदालत, जंगीअड्डा उल्लेख छ । त्यसमाथि भने नेपाल सरकारको छाप लगाइएको छ । ११ भदौमा केन्द्रीय कारागारलाई लेखिएको पत्रको चलानी नम्बर २१३८ छ । कैदमुक्त गराइदिने विषयको पत्रमा सैनिक अदालतले न्यौपानेलाई गरेको फैसला त्रुटिपूर्ण भएको उल्लेख छ । पुनरावेदनका न्यायाधीश जनार्दन अधिकारीको अध्यक्षतामा गठित पुनरावेदन विशेष समितिको निर्णयअनुसार सैनिक अदालले गरेको फैसला गलत रहेको पत्रमा उल्लेख छ ।
पत्रमा सोही समितिको आदेशअनुसार तीन महिनाको मात्रै कैद भुक्तान गरिने निर्णय गरिएको हँुदा न्यौपानेलाई ११ भदौबाट लागू हुने गरी कैदमुक्त गराउने भनिएको छ । पत्रको अन्तिममा एकातर्फ बोधार्थ भनी रक्षा मन्त्रालय कानुन विभाग, कार्यरथी विभाग जंगी अड्डा र कार्यरथीको कार्यालय उल्लेख छ । पत्रको अर्कातर्फ भने उपरथी नीरेन्द्रप्रसाद अर्यालको हस्ताक्षरसहितको नाम उल्लेख छ ।
प्रहरीले उक्त पत्र नक्कली भएको जनाएको छ । केन्द्रीय कारागार प्रशासनले भने पत्र सक्कली हो कि नक्कली छुटयाउन नसक्दा न्यौपानेलाई मुक्त गराएको थियो । सिआइबीका डिएसपी जगदीश पोखरेलले नक्कली पत्र सक्कलीजस्तै देखिएपछि कारागार प्रशासन झुक्किएर न्यौपानेलाई मुक्त गरेको पाइएको बताए । उनले भने, ‘पत्र हेर्दा सक्कलीजस्तै छ, त्यसैले होला कारागार पनि झुक्कियो ।’
डिएसपी पोखरेलका अनुसार कारागारले न्यौपाने छुटेको पत्र सेनाको कार्यालयमा पठाउँदा गलत मान्छे छुटाइएको थाहा पाएको थियो । ‘कैदी छुटेको तीन दिनपछि कारागारले जानकारीसहित पत्र सेनाको कार्यालय पठायो, तीन वर्ष कैद भुक्तान गर्ने भनी अदालतले फैसला गरेको कैदी तीन महिनामा नै छुटेको जानकारी पाएपछि सेनाले छानबिन गर्‍यो । त्यसपछि मात्रै न्यौपानेलाई छुटाउनका लागि तयार पारिएको पत्र नक्कली रहेको जानकारी कारागारले पायो, पोखरेलले भने ।

प्रतिक्रिया