‘भट्टराईको विकल्प गच्छदार’

काभ्रे, ७ असोज । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक केन्द्रीय कमिटी बैठकले वर्तमान सरकारका प्रधानमन्त्री डा.बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय चुनावी सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ ।

भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेन चौथो शक्ति मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा सरकारको गठनको प्रस्ताव गर्ने निर्णय गरेको छ । धुलिखेलको मिराबेल रिसोर्टमा शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठकले नौ वटा एजेन्डामा छलफल गरेको थियो ।
सरकार गठनका लागि निर्वाचनको अवधि, प्रतिनिधिको संख्या, कानुनी अड्चन प्याकेजमै सहमति गर्नु पर्ने बैठकले निर्णय गरेको छ । बैठकपछि पत्रकार सम्मेलनमा पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष गच्छदारले अब हुने निर्वाचनमा पार्टी तेस्रो शक्तिमा आउने दाबी गरे । त्यसका लागि तयारी गर्न आइतबार राजनीतिक समितिको बैठक, ८ र ९ असोजमा राष्ट्रिय भेला र १५ असोजदेखि जिल्लामा पार्टी कमिटी गठन र पुनर्गठन कार्यक्रम तय भएको उनले जानकारी दिए ।
अब हुने संविधानसभाको निर्वाचन पाँच वर्षको हुनुपर्ने, संविधानसभाका लागि निश्चित अवधि तोक्नुपर्ने, प्रचलित निर्वाचन प्रणालीलाई निरन्तरता दिनुपर्ने र निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने निर्णय गरेको महासचिव जितेन्द्र देवले जानकारी दिए । बैठकले संघीय समाजवादी आन्दोलनबीच लामो समयदेखि चल्दै आएको एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया