‘राष्ट्रपति चुप बस्नुहुन्न’

विराटनगर, ७ असोज । एमाले स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले दसैँअघि नै गैरमाओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने दाबी गरेका छन् । सहमतिको सरकारमा माओवादी सहभागी भए पनि नेतृत्व भने अन्य दलले गर्ने उनको दाबी छ ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग प्रधानमन्त्रीले आफैँ कुर्सीबाट बहिर्गमन नभए पनि राजनीतिक दलहरूको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन हुने दाबी गरे । ‘प्रधानमन्त्रीले सहजै कुर्सी नछाडे पनि माओवादीबाहेकका दलको आग्रहमा राष्ट्रपतिको पहलमा गैरमाओवादीको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ,’ उनले भने । ‘राष्ट्रपति, राष्ट्र र संविधानको पालक र संरक्षक भएकाले नयाँ सरकार गठनका लागि पहल गर्नुपर्छ,’ नेता ओलीले भने, ‘एमाओवादी र प्रधानमन्त्री बाबुराम भट्टराई सहमतिमा नआए मुलुकलाई यही अवस्थामा राख्न मिल्दैन ।’
राष्ट्रपतिले मुलुकलाई निकास दिन नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिए । ‘राष्ट्रपतिको क्षेत्राधिकारको कुरा जेसुकै भए पनि रक्षक र पालकको हैसियतले एक मात्र निर्वाचित संस्था राष्ट्रपति नै हो,’ उनले भने, ‘माउसुली भित्तामा टाँसिएजस्तो टाँसिने प्रधानमन्त्रीलाई हटाएर अन्तरिम संविधानको धारा ४३ अनुसार सहमतिको
सरकार बनाउनुपर्छ ।’
देशमा माओवादी नेतृत्व असफल भइसकेको प्रमाणित भएका कारणले पुन: उसलाई नै नेतृत्व दिएमा देश ठूलो दुर्घटनामा फस्ने उनको तर्क थियो । माओवादीले जसरी पनि आफ्नै नेतृत्वमा सरकार हुनुपर्छ भन्ने अड्डी कस्दा अहिलेसम्म राजनीतिक सहमति नजुटेको र सहमतीय सरकार गठन हुन नसकेको उनको भनाइ छ ।
एमाले, कांग्रेससहितको राष्ट्रिय सरकार बनेको अवस्थामा एमाओवादी बुरुक्क उफ्रिएर एकलौटी शासन गर्न खोजेकाले राजनीतिक संकट निम्तिएको उनले दाबी गरे ।
यसैबीच, नेपाल जेसिजका कार्यक्रमको उद्घाटनका लागि मोरङको विराटचोक पुगेका एमाले नेता ओलीले प्रधानमन्त्रीका आफ्नो दाबेदारिता प्रस्तुत गरे । उनले आफू प्रधानमन्त्री पदका लागि सक्षम रहेको बताउँदै दावेदारिता प्रस्तुत गरे । ‘प्रधानमन्त्रीका लागि पार्टीभित्र सबै कुरा मिलाइसकिएको छ,’ उनले भने, ‘मैले प्रधानमन्त्री चलाउन पाए देशलाई विभिन्न संकटबाट जोगाउनेछु र भइरहेका विभिन्न समस्याबाट देशलाई मुक्त राख्नेछु ।’

प्रतिक्रिया