अख्तियारले प्रमाण भेटाउन सक्दैन

काठमाडौं, ६ असोज । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले शिविरका लडाकुको रकम अनियमितता भएको आरोपमा सत्यता नरहेको दाबी गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले लडाकुको रकम हिनामिना भएको भन्ने आरोप सबै हल्लामात्र रहेको बताए । उनले रकम अनियमितता भएका बारेमा प्रमाण दिन चुनौती दिए ।
एमाले निकट युवा संघ नेपालले अख्तियारमा दिएको दिएको उजुरीको कुनै तुक नरहेको बताएका उनले प्रोपोगान्डाका लागि मात्र उजुरी दिएको बताए । उनले भने, ‘उजुरी परे पनि अख्तियारले कुनै पनि प्रमाण भेट्न सक्दैन ।’
युवा संघले फर्जी लडाकुका नामका एमाओवादीले चार अर्ब रुपियाँ भ्रष्टाचार गरेको भन्दै शुक्रबार अख्तियारमा तीन नेता विरुद्ध उजुरी दिएको थियो । उजुरी पर्नेमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र संगठन विभाग प्रमुख कृष्णबहादुर महरा छन् ।
प्रवक्ता सापकोटाले निर्वाचन गराउने राष्ट्रिय सरकारको नेतृत्वमा आफूहरुको पनि दाबी रहने दोहराएका छन् । उनले भने, ‘राष्ट्रपति पनि कांग्रेसकै छन्, प्रधानमन्त्री पनि दिने हो भने शक्ति सन्तुलन विग्रन्छ ।’

प्रतिक्रिया