गठबन्धनले पाँच स्थानमा आमसभा गर्ने

काठमाडौं, ६ असोज । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले विपक्षी दलहरुसँगको बार्तालाई निरन्तरता दिदै निर्वाचनका लागि जनपरिचालन गर्ने निर्णय गरेको छ ।
गठबन्धनको आज काठमाडौंमा बसेको बैठकले पाँच विकास क्षेत्रमा आमसभा गर्ने निर्णय गरेको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए । उनले भने, ‘संघीयता, संविधान र निर्वाचनका लागि दबाव दिन आमसभा गर्ने निर्णय गरेका छौं ।’
आमसभाहरु असोज–१७ देखि २६ गतेसम्म हुने छन् । असोज १७ गते बिराटनगरमा, १९ गते जनकपुर, २१ गते नेपालगन्ज, २३ गते पोखरा, र २६ काठमाडौंमा गठबन्धन दलहरुको संयुक्त आमसभा हुने सिंहले बताए । जनकपुर र विराटनगरमा मधेसी मोर्चाले सभाको तयारी गर्ने छ । पोखरा र नेपालगञ्जमा एमाओवादी तथा काठमाडौंमा आयोजक समिति बनाएर सोही समितिले आमसभाको तयारी गर्ने सिंहले बताए ।
गठबन्धले राष्ट्रिय सहमति कायम गरी निर्वाचनमा जानका लागि वार्ता प्रक्रियालाई अगाडि बढाउने समेत निर्णय गरेको छ । मुलुकको राजनीतिक अन्योलको निकासका लागि राष्ट्रिय सहमतिबाट अघि बढ्न वार्ता र छलफललाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको प्रवक्ता सिहंले बताए । गठबन्धनको बैठक लामो समय पछि बसेको हो ।
गठबन्धनमा एमाओवादी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, फोरम (गणतान्त्रिक), संघीय सदभावना पार्टी, तमलोपा नेपाललगायत सरकारमा सहभागी एवम् सरकारलाई समर्थन गर्ने दलहरु आबद्ध छन् । (फाईल तस्विर)

प्रतिक्रिया