त्रिवेणीधाम फन्को

नवलपरासी जिल्लाको पूर्वी–दक्षिणपट्टि रहेको त्रिवेणीधाम नेपालका प्रमुख धार्मिक स्थलमध्येको एक हो । सोनभद्र, तमसा र नारायणी नदीको संगमस्थल रहेको त्रिवेणीधामको पूर्वमा चितवन जिल्ला, दक्षिणमा भारतको बिहार राज्यको वाल्मीकि नगर पर्छ । हिन्दू धर्मावलम्बीले भगवान् विष्णुका रूपमा पुज्ने र कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला पाइने अन्तिम क्षेत्र त्रिवेणी भएकाले हिन्दू ग्रन्थमा त्रिवेणीधामलाई मोक्ष क्षेत्र भनिएको छ । प्राचीनकालमा देवताको सभास्थल भएकाले त्रिवेणीको पुरानो नाम सभापुर पनि हो ।
महर्षि वाल्मीकिले त्रिवेणी क्षेत्रमै दिव्यज्ञान प्राप्त गरेको र यही ठाउँमा बसेर रामायण लेखेको इतिहास भेटिन्छ । श्रीमद्भागवत पुराण र रामायणलगायत ग्रन्थमा यो क्षेत्रलाई पवित्र धार्मिक स्थलका रूपमा वर्णन गरिएको छ । त्रिवेणिधाम मुख्य मन्दिर क्षेत्र, वाल्मीकि आश्रम र गजेन्द्र मोक्ष क्षेत्र गरी तीनवटा क्षेत्रमा फैलिएको छ । नारायणी नदीपूर्व चितवनमा रहेको वाल्मीकि आश्रम वाल्मीकि ऋषिको तपोभूमिका रूपमा परिचित छ । यहाँ प्राचीन विष्णु मन्दिर, यज्ञशाला, सीता पाताल प्रवेश स्थल, लवकुशको पाठशालालगायत प्राचीन सम्पदा छन् । लामो समयसम्म बेवारिसे अवस्थामा रहेको यो स्थानमा अहिले प्यागोडा शैलीका मन्दिर निर्माण गरिनुकासाथै प्राचीन वस्तुको संरक्षण गर्न थालिएको छ ।
त्रिवेणीधामलाई धार्मिकस्थलका रूपमा चिनाउने प्रमुख स्थान गजेन्द्र मोक्षधाम हो । त्रिवेणी बजारदेखि दुई किलोमिटर उत्तरमा रहेको यो ठाउँलाई सदियौँदेखि गजग्राहाका रूपमा पूजिँदै आइएको थियो । ०५२ सालदेखि मुक्तिनाथ पीठाधीशको अग्रसरतामा गजेन्द्र मोक्षधामका रूपमा यसलाई विकसित गरिएको हो । श्रीमद्भागवतको अष्टम अध्यायमा गोहीले निल्न लागेको गज (हात्ती) लाई भगवान् विष्णुले सोही ठाउँमा उद्धार गरेको उल्लेख छ । गजेन्द्र मोक्षधाममा ठूलो शिला छ, जसलाई विष्णुले मोक्ष गरेपछि जड (शिला) बनेको ग्रह (गोही) भएको विश्वासमा पूज्ने गरिन्छ । मुक्तिनाथ पीठाधीशको पहलमा ०५७ सालमा महायज्ञ लगाएर यहाँ मठमन्दिर, यज्ञशाला, प्रवचन कक्ष, गौशाला र वेदविद्याश्रम बनाइएको छ ।
त्रिवेणी बजारमा रहेका मठ–मन्दिर र घाटहरू यहाँका मुख्य आकर्षण हुन् । त्रिवेणीघाटमा रहेको स्वर्ण लेपनयुक्त शिवालय कप्तान बखानसिंहले १९७२ तिर निर्माण गरेको इतिहास छ । त्रिवेणीधाम आउने तिर्थयात्रीले त्रिवेणीघाटमा स्नान गरेर पहिला यही मन्दिरमा पूजाआजा गरेर अन्य मन्दिरमा दर्शन गर्न जाने प्रचलन छ । शिवालयबाहेक बेंकटेश, लक्ष्मीनारायण, दुर्गा मन्दिर र नागाबाबाको कुटीजस्ता दर्जन बढी मठ मन्दिर त्रिवेणी बजार क्षेत्रमा रहेका छन् ।
महत्त्वपूर्ण धार्मिकस्थल भए पनि अहिले त्रिवेणीधाम ओझेलमा परेको छ । माघे र साउने संक्रान्ति, एकादशी, औँसी र पूर्णिमामा भक्तजन आउने भए पनि अन्य दिनमा आक्कल/झुक्कल मात्रै मानिस त्रिवेणीधाम पुग्ने गर्छन् । पूर्व–पश्चिम राजमार्ग दाउन्ने पहाडमाथि बनेपछि त्रिवेणीको चहलपहल ओरालो लाग्न सुरु गरेकामा माओवादी द्वन्द र मधेश आन्दोलनपछि त्रिवेणी आउने भक्तजन र पर्यटकको संख्या ह्वात्तै घटेको विगत ६० वर्षदेखि त्रिवेणीघाटमा डुंगा चलाउँदै आएका राधेलाल मल्ल बताउँछन् । पाल्पा, नवलपरासी, चितवन, तनहुँ र स्यांजाको व्यापारिक नाका भएकाले पनि पूर्व–पश्चिम राजमार्ग बन्नुअघिसम्म यहाँ मानिसको चहल–पहल हुन्थ्यो । सीमाक्षेत्रमा तैनाथ एसएसबी र प्रहरीले दुख: दिने गरेकाले यहाँ आउने भारतीय भक्तजनको संख्या पनि ८/१० वर्षयता पातलिएको स्थानीय बासिन्दा बताउँछन् । यातायात असुविधाका कारण पनि पर्यटकको संख्या घटेको उनीहरू बताउँ छन् ।
नारायणी नदीमा पुल नभएकाले वाल्मीकि आश्रम जान चाहने भक्तजनले भारतको वाल्मीकि नगर हँुदै लामो यात्रा गर्न वा नारायणी नदीमा डुंगा र जंगलको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । गजग्राह जानका लागि पनि सवारी साधन नपाइने हुँदा मानिस पैदल यात्रा गर्न बाध्य छन् ।
‘यातायातको राम्रो व्यवस्था नभएकाले धेरै मानिस चाहेर पनि त्रिवेणी आउन पाएका छैनन् । सवारीसाधन असुविधाकै कारणले एकपटक यहाँ आएका धर्मावलम्बी अर्कोपटक आउन गार्‍हो मान्छन,’ शिवालयका मुख्य पुजारी राजेन्द्रप्रसाद अधिकारी भन्छन् । यस क्षेत्रको पर्याप्त प्रचारप्रसार पनि हुन सकेको छैन । राज्यले पनि त्रिवेणीको विकास र प्रवद्र्धनका लागि खासै चासो देखाएको छैन ।
त्रिवेणी प्रवेश गर्ने मुख्य नाका गण्डक ब्यारेजको डिलदेखि त्रिवेणीघाट प्रवेश गर्ने ठाउँमा माछा र रक्सीको खुलेआम बिक्री हुन्छ । मन्दिरक्षेत्र सुनसान भए पनि रक्सी पसलमा भने भिडभाड देखिन्छ । नेपालमा खुला र सस्तोमा रक्सी खान पाइने भएकाले सीमापारिबाट भारतीय पनि आउने गर्छन् यहाँ ।
स्थानीयबासीको निरन्तर दबाबपछि सरकारले सहरी विकास डिभिजन कार्यालयमार्फत त्रिवेणी बजारमा सडक कालोपत्रे गर्ने, ढलहरू बनाउने र मन्दिर परिसर मर्मत गर्ने काम गरेको छ । त्यस्तै, गोपीगन्जदेखि रानी नगरसम्म र त्रिवेणी ब्यारेजदेखि बजारसम्मको बाटो मर्मत र पिच गर्ने काम भइरहेको छ ।
त्रिवेणीधाम प्रकृति र आध्यात्मिकताको संगमस्थल भएकाले यहाँ इको टुरिजम र धार्मिक पर्यटनको धेरै सम्भावना छ । महत्त्वपूर्ण स्थल भएर पनि उचित प्रचार–प्रसार र सुविधाको कमीले त्रिवेणीधाम तेजहीन बन्दै गएको छ । सरकारी क्षेत्रको बेवास्ता, स्थानीयको असक्षमता र प्रचार–प्रसारको कमीले लुकेको त्रिवेणीधामको ओज र आकर्षण नारायणीका माछा र मदिराले धमिल्याउन थालेको छ । नेपालीको कमजोरीको फाइदा उठाउँदै भारतको वाल्मीकि नगर र सोनापुरमा सीता पाताल प्रवेश मन्दिर (सीतामढी), वाल्मीकि आश्रम र गजेन्द्र मोक्षधाम बनाएर व्यापक प्रचार–प्रसार गरिएको छ । यसले त्रिवेणीधामलाई थप ओझेलमा पार्ने निश्चित छ ।

प्रतिक्रिया