‘कर्ण’ लेख्नुअघि : कर्ण लेखेपछि

समय गतिशील छ । सुगति, अगति वा गति, यी समययात्राका नाम हुन् । समयलाई बुझ्नु र कर्म गर्नु समयसँग हिँड्नु हो । समयअनुरूप कर्म र स्वयं कर्ताबीचको त्रिवेणी मिलनबाट कुनै पनि व्यक्ति र व्यक्तित्वको उचाइ चुलिन्छ । कसलाई को मन पर्छ वा को कसको व्यक्तित्वबाट प्रभावित हुन्छ, त्यो व्यक्तिको स्वभावमाथि निर्भर गर्दछ । केही कमबेसी त होला तर हरव्यक्तिको मनमा हजारौँ प्रकारका भावहरू तरेली पर्छन् । व्यक्ति कस्तो र कति साधना गर्छ, त्यसका आधारमा सीपग्रहण सामथ्र्य र सिर्जना–भाव झ्याङिन्छ, सार्वजनिकीकरण हुन्छ, र त्यसै अनुरूपको व्यक्तित्व निर्माण हुन्छ । फरक यत्ति हो कसैको व्यक्तित्व कसैको आडमा अग्लिन्छ र कसैको व्यक्तित्व आफ्नै पौरख र क्षमताको करिष्मा लिएर उजेलिन्छ ।
मेलै महाकाव्यको नायक बनाएको पात्र ‘कर्ण’ कर्मको पसिनाले नुहाएको र कर्मकै घाम तापेर हुर्केको तथा वर्तमानकै तन्नेरी संवेदना प्रतिध्वनित हुने महाभारतकालीन पात्र कर्ण हो । वीरवर कर्णका विषयमा धेरै विद्वान्ले धेरै विधामा धेरै लेखिसक्नुभएको छ । अधिकांश लेखकका प्रिय पात्र हुनुपर्छ कर्ण † कर्णको व्यक्तित्व चामत्कारिक छ । उनकै धैर्य, लगन, साहस, क्षमता, करुणा र शालीनतासँगै उठेको उनको संघर्षशील जीवनशक्ति † त्यो भव्य व्यक्तित्वलाई महाकाव्यमार्फत स्मरण गर्ने कोसिस गरेको हुँ । उनको जन्म, पढाइ, प्रतिस्पर्धा, अवसर, युद्ध र छलपूर्ण हत्या शृंखला शृंखलाबद्ध रूपमा सिलसिलेबार छन् ।
कर्णको सान्दर्भिकता
वीरता भनेको युद्ध मैदानमा पुगेर शत्रुलाई छपाछप छप्काउनु मात्रै हो कि शत्रु नै भए पनि उसको जीवन–अस्तित्वलाई स्वीकारेर करुणा प्रदर्शन गर्नु ? लाग्छ– करुण नभई व्यक्ति वीर हुन सक्तैन । करुणाहीन र उत्तेजक आवेग वीरता हैन क्रूरता हो । यस महाकाव्यका नायक कर्ण– वीर पनि छन्, करुणावान् पनि छन् । कर्णले अर्जुनहरू सबैलाई चटाचट काटेर हत्यावीर हुन पनि चाहेनन् । उनले अर्जुनहरूलाई नसकेरै नमारेका पनि होइनन् । व्यक्ति मारेर प्रवृत्ति मर्दैन । व्यक्तिलाई त उसका पापकर्मबारे उसकै अन्त:चेतनामार्फत आत्मबोध गराएर सुधार्ने हो । असहमतिको अन्त्य हत्या हुन सक्तैन । कर्ण हत्याहीन युद्धचेतनाबाट सामाजिक चेतना उमार्न चाहन्थे । धेरै व्यक्तिहरू आफ्नै धरातल नबुझी मनको लड्डु घिउसँग खाएरै मर्छन् । महाभारतका कतिपय ठूला भनिने पात्रहरू केवल कागजी बाघजस्तै लाग्छ, कसोकसो वर्तमान नेपालकै जस्तो । कर्ण पात्र पनि हो र युगबोधको चेतना–झुल्को पनि र भन्न सकिन्छ, एउटा सत्य उन्मुख प्रवृत्ति पनि, वीरता र करुणा बीचको सन्तुलनबाट उठेको व्यक्तित्व † यो प्रवृत्तिलाई न्यायसंगत उचाइ दिनु वा उठाउनु साह्रै कठिन छ काव्यमा ।
सामन्त संस्कारविरुद्ध लड्ने जनताका पक्षपाती वीरोचित नायक कर्णको व्यक्तित्वमा वाणी भर्ने अभ्यास गरिरहँदा ०६२/६३ को जनआन्दोलन उत्कर्षमा थियो । संयोगै मान्नुपर्छ, हस्तिनापुर दरबारविरुद्ध जनताको प्रतिनिधि आवाजका रूपमा कर्णलाई सम्बोधन गरिरहँदाको बखत नेपाल सामन्त दरबार र अविवेकी हतियारको चेपुवामा थियो । देशले धेरै कर्णहरूलाई संघर्षमा डाकिरहेझैँ लाग्थ्यो र कर्णहरू चरम आन्दोलित थिए पनि । इतिहास बदल्ने त्यो समयखण्ड, कर्णचेतना र मुक्तिको लडाइँ † मेरै कर्मथलो रेडियो नेपालमा पनि पटकपटक स्पष्टीकरण खाँदै र निलम्बनको चक्कर खेप्दै थिएँ त्यतिखेर । सुरक्षाकर्मी पटकपटक मेरो घर खानतलासी गर्न र धम्क्याउन आएका थिए । पढेको महाभारत, रोजेको कर्ण, भोगेको वस्तुस्थिति र खोजेको उज्यालोबीच उही पात्र कर्ण र कर्णहरूको सान्दर्भिकता झन् बढेको पाएँ ।
कर्ण र वर्तमान
आज पनि घरघरमा कर्ण देख्छु । उनी खोलामा फ्याँकिए, तर आज कुपोषणले वा खान नपाएर कति बालबालिका मरेकै छन् । उनले जनताको छोरो भएकै कारण द्रोणाचार्यकहाँ पढ्न पाएनन्, आज पनि कयौँले राम्रो विद्यालय, महाविद्यालय वा विश्वविद्यालय देख्नसम्म पाएका छैनन् । उनलाई प्रतिस्पर्धा गर्नै नदिएर अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर घोषणा गरियो, आज पनि सम्पर्कसूत्रकै आधारमा क्षमताहीनले महत्त्वपूर्ण पद र पगरी पाएकै छन् । उनलाई छल गरेर मारियो, आज क्षमतावान्हरूको क्षमतालाई कुल्चेर उसको प्रतिभाको हत्या गरिएकै छ । उनले परशुरामकहाँ गरेको हतियार अभ्यास र नेपालमा भएका र हुँदै गरेका विभिन्न सशस्त्र विद्रोहबीच पनि अध्ययनका लागि प्रशस्त समता भेटिन्छ । त्यो कालखण्डको मायावी युद्ध आजको छापामार युुद्ध हो । आज पनि समाजमा प्रशस्त कर्णहरू छन् र तिनले पनि नियतिको उही पुरानो रूप भोगेकै छन् । कर्ण नायक हुन् तर इतिहासदेखि आजसम्म उनको नायकत्व निषेध गरिएको छ । स–सम्मान कर्णको नायकत्व स्थापित गर्न र वर्तमानमा धेरै कर्णहरूको सम्भावनाको हार्दिक सम्मान गर्ने चेतनाले म कर्ण लेख्न प्रेरित भएँ । जातीय, क्षेत्रीय वा अन्य आधारमा हुने शोषणका कारण सीमान्तकृत भएका वा अन्यायमा परेका व्यक्ति वा समुदायमाथिको न्यायीकरण यो युगको उज्यालो हो । मैले त्यही उज्यालोमा वाणीको अक्षर लेख्न चाहेँ । मेरा अक्षरले कतै छन्दको बाटो लिए त कतै गद्यको गति । गद्य वा पद्य † यी त बाटा हुन्, बाटोभन्दा गति र गन्तव्य ठूलो कुरा हो । मेरो प्रयास कर्णहरूको खोजी, सम्मान र यथास्थानमा स्थापना हो । जहाँ गल्ती भएको छ त्यहीँ सच्याउनुपर्छ । कर्णमाथि युगले गल्ती गर्‍यो अब त्यही गल्ती त्यहीँबाट सच्याउन चाहन्थेँ र कोसिस गरेँ ।
समयको हतारो
राजनीतिक कारणले ‘कर्ण’ लेख्दालेख्दै यसलाई पूरा गर्न भ्याउँला कि नभ्याउँला भन्ने हतारो थियो मनमा । त्यहीबीचमा यसलाई थाती राखेर ०६२ पौषमा ‘आगो छोपेर कतिन्जेल’ कविता संग्रह सार्वजनिक गरेँ । ०६२ पौष द्वन्द्व र तनावको उत्कर्ष बेला थियो । त्यतिखेर कर्ण लेखनको गति केही धिमा भयो तर रोकिएन र ‘कर्ण’ आयो । यो म र मजस्ता ठाउँ र अवसर खोजेर संघर्षरत युवाको प्रतिनिधि कथा हो भन्ने लाग्छ । कर्ण, कुन्ती, युधिष्ठिरका पाँच भाइ तथा सबै हस्तिनापुर धेरथोर आए पनि कर्ण सन्दर्भ र कर्ण कथामै हेलिएको छु ।

प्रतिक्रिया