एक सय सभासदले मागे संविधानसभा

काठमाडौं, ५ असोज । निवर्तमान सभासदलहरुले विघटित संविधानसभा पुनःस्थापना गर्न माग गरेका छन् ।
विभिन्न दलका झण्डै एक सय निवर्तमान सभासदहरुको सिंहदरबारमा आज बसेको सर्वदलीय भेलाले नयाँ संविधान जारी गर्न संविधानसभा पुनःस्थापनाको माग गरेको कांग्रेसका निवर्तमान सभासद शोभाकर पराजुलीले बताए । उनले भने, ‘भेलामा सहभागी झण्डै एक सय सभासदले संविधानसभा पुनःस्थापना माग गरेका छौं ।’
भेला पछि जारी विज्ञप्ति अनुसार राष्ट्रिय संकट समाधानको सर्वोत्तम विकल्प पुनःस्थापनानै रहेको उल्लेख छ । उनीहरुले संविधानका विवादित विषयहरुमा सहमति गरेर छोटो समयका लागि संविधानसभाको पुनःस्थापना गर्नु पर्ने माग गरेका हुन् ।
अन्तरिम संविधान संशोधन विना कुनै पनि चुनाव हुन नसक्ने जनाएका उनीहरुले असंवैधानिक र असंभव निर्वाचनमा नजान आग्रह गरे ।
‘संविधान संशोधन व्यवस्थापिका संसदले मात्र गर्न सक्ने संवैधानिक प्रावधान छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ असंवैधानिक र असंभव कार्य दलहरुले गर्नु हुँदैन ।’
उनीहरुले व्यक्ति, कुनै दल वा संस्थाले एक्लै वा सामूहिक निर्णय गरेका आधारमा संविधानको धारा संशोधन हुन नसक्ने जनाएका छन् ।
‘जनप्रतिनिधिमूलक संस्था नहुँदा संवैधानिक अंगमा पदाधिकारी नियूक्त गर्ने अवस्था रहँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक अंगहरुमा रहेको अपूर्णता समेतलाई मध्यनजर गर्दा संविधानसभाको अविलम्ब पुनःस्थापनाले मात्र संकटको समाधान दिन्छ ।’
संविधानसभाका ६ सय एक सभासद मध्ये झण्डै एक सय सभासदको भेलाले पुनःस्थापनाको माग गरेको हो ।

प्रतिक्रिया