देशभर ओम उपत्यकामा वर्षाद

काठमाडौं : शुक्रबार दुई नेपाली चलचित्र ओम र वर्षाद  प्रदर्शनमा आउँदै छन् । ओम फ्रेस चलचित्रअन्तर्गत देशभरका हलबाट प्रदर्शन हुँदै छ भने वर्षाद उपत्यकाबाहिर प्रदर्शनपछि उपत्यकामा भित्रिएको हो । ओम रामजी लामिछानेको निर्देशनमा तयार भएको चलचित्र हो भने वर्षादका निर्देशक हुन्– सानु शाक्य ।
के आर इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ओममा अभिनेत्री झरना थापाको दुई फरकफरक भूमिकामा अभिनय रहेको छ । नायिकाको दुई फरक भूमिकाका कारण चलचित्र पनि फरक शैलीको बनेको प्रस्तुतकर्ता करण क्रेजीले बताए । उनले भने, ‘यसअघिका कुनै पनि चलचित्रमा झरनालाई दुई भूमिकामा उतारिएको छैन, त्यसैले दर्शकका लागि बिल्कुलै फरक स्वाद हुने हामीले विश्वास लिएका छौँ ।’ अभिनेत्री नायिका झरना थापाको ग्ल्यामरस युवती र ‘जेसी’ भूमिका गरी दुई फरक गेटअपमा अभिनय रहेको छ ।
चलचित्रमा सुमन सिंह, झरना थापा, दीक्षा कुँवर, मोहन श्रेष्ठ, करण क्रेजीलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ भने राजेश खड्गी र भूपाल कार्की निर्माता छन् । ग्यांग्स्टारको कथावस्तुमा निर्माण भएको यो चलचित्रले प्रत्येक मानिसका सपना फरकफरक हुन्छन् तर ती सबै पूरा हुँदैनन् भन्ने विषयवस्तु उठाएको छ ।
त्यस्तै, विभिन्न कमेडी र मायाप्रेमका विषयवस्तु समेटिएको वर्षाद गजेन्द्र रञ्जित र मोहनकृष्ण श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा  नयाँ अनुहार निर्मल सेन्चुरीको साथमा सबिन श्रेष्ठ, किरण केसीलगायत कलाकारको मुख्य भूमिका रहेको छ । माता मनकामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम् अधिकारीको लेखन, कृष्ण श्रेष्ठको छायांकन, हरि लम्सालको संगीत तथा शंकर बिसीको नृत्य निर्देशन रहेको छ । उच्छृंखल र छाडा चलचित्र आइरहेको समयमा प्रदर्शनमा आएको यस चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्देशक सानु शाक्यले बताए । (सौस)

प्रतिक्रिया