विद्यार्थीको विदेशमोह

काठमाडौंका घरघरै झुन्डिएका हुन्छन्–विद्यार्थीलाई विदेशका मोह देखाइदिने कन्सल्ट्यान्सीका बोर्डहरू । लेखिएको हुन्छ–अबोर्ड स्टडी । ती बोर्डमा झुन्डिन्छन्, धेरैका आँखा र त्यसमा लेखिएका देशहरू– अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया… । त्यसमा थोरै मिसिएको हुन्छ, कन्सल्ट्यान्सीका सपना, विद्यार्थीका सपना वा उनीहरूको दिमागी पत्रेचट्टानमा सुरक्षित इम्प्रेसनको सपना । विदेशमोह पछिल्लो समय झन् चुलीमा छ । चाहे–पढ्न होस् वा खाडीको भूमिमा पसिना बगाउन नेपाली युवा विदेश पुगिरहेका हुन्छन् । यस लेखको उद्देश्यचाहिँ विदेश पढ्न जाने विद्यार्थीका सपना र अनुभूति     लेख्नु हो ।
पुतलीसडकको भिडभाडमा एक्लै हिँडिरहेकी सुष्मा महर्जनको सपना पनि तीनै हजारौं विद्यार्थीकै जस्तो छ, जो विदेश पसेर ‘पढ्न’ चाहन्छन् वा पढाइसँगै पैसा पनि कमाउन चहन्छन् । यही सहरको एउटा घरमा झुन्डिइएको कन्सल्ट्यान्सीको ढोकाबाट बाहिरिँदै गरेकी उनको चेहरामा पोतिएको छ– एकखाले उत्साह । उनी चाँडै यो नेपाल छोड्न चाहन्छिन् र उड्न चाहन्छिन् युरोपको कुनै एउटा भव्य देशमा । उनले छाड्नेछिन् आफ्ना बाबुआमा, दाजुभाइ वा सारा आफन्त । उता पुगेर उनी मास्टर्स डिग्री पढ्नेछिन् । ‘विदेशको इजुकेसनल टेस्ट लिएर त हेरौँ न’ भिसाको तयारीमा जुटेकी यी बाला केही डकुमेन्टलाई आफ्नो ब्यागमा हाल्दै मुस्कान फ्याँकिन् ।


सुष्माजस्तै अहिले थुप्रै युवाको आँखा कन्सल्ट्यान्सी वा एम्बेसीको ढोकामा टाँस्सिएको छ । एम्बेसीतिर, कन्सल्ट्यान्सीतिर वा एयरपोर्टतिर उभिइरहेका युवाको लाइनमा केही सपना र केही अभीप्सा पनि खाँदाखाँद लाइन लागिरहेका हुन्छन् । विदेश नै किन त ? श्रीलंकाको रुहाना विश्वविद्यालयबाट भर्खरै द्वन्द्व, विकास तथा शान्ति अध्ययनमा स्नातककोत्तर गरेर फिरेका २५ वर्षे केशव दाहाल र २६ वर्षे प्रेम विक एकै स्वरमा भन्छन्– ‘ग्लोबलाइजेसनको जमानामा संसार बुझ्न विदेश नगई कहाँ सुख ?’ तर, त्यही सुख खोज्दै गर्दा उनीहरूसँग दु:खका कथा पनि धेरै हुन्छन् । ‘विदेशको ठाउँ, सबै पराई नै हुन्छन् नि, अझ हामी बस्ने मातरा (स्थान) मा नेपालीहरू ६ जना मात्र थियौँ’ केशवले भने । ‘यद्यपि हामीले त्यहाँ प्रशस्त इन्ज्वाय पनि गर्‍यौ नि’ प्रेम भन्छन् ।
विदेश बस्दा नेपाली विद्यार्थीका आफ्नै सुख, प्राप्ति र दु:ख हुन्छन् । देश छोडेर आउँदा ‘होमसिक’ एउटा समस्या छँदै छ, विदेशीले बेलाबेलामा दिने दु:खले नेपालका उही दु:खी गल्लीहरू पनि सम्झाउँछन् । भलै ती गल्ली नेपालमा हुँदा घृणित नै किन नहोऊन् ? ‘आँखाभरि साथीभाइ र परिवारको सम्झनाले पिरोल्छ,’ विदेशबाट फर्किनेहरू भन्छन् । अस्ट्रेलियाको सिड्नीमा इन्टरनेसनल लिडरसिपमा एमबिए पढ्दै गरेका कृष्ण केसी भन्छन्, ‘अभियस्ली साथीभाइ र नातागोताको सम्झनाले धेरै सताउँछ ।’ तैपनि, उनी त्यहाँ नेपालमा भन्दा दोब्बर रमाइलो गर्छन् रे । त्यहीँ भएका नेपाली साथीहरूसँग महिनामा १/२ पटक ‘आउटिङ’, ‘गेट–टुगेदर’ मा सामेल हुन्छन् रे ।
०००
कन्सल्ट्यान्सीमा भेटिने विद्यार्थीहरूको एउटै आवाज हुन्छ– हामी पढ्न जाँदै छौँ । तर, साथमा अर्को सपनाले पनि थिचिरहेको हुन्छ–पैसा कमाउने । भन्नचाहिँ पढ्न जाँदै छौँ भन्छन् । उनीहरू विदेश पस्नुमा राज्य र शिक्षा प्रणाली पनि जिम्मेवार छ । अस्तव्यस्त नेपाली शिक्षा प्रणालीप्रतिको वितृष्णा एउटा मुख्य कारण हो– विद्यार्थीहरू विदेश लाग्नु । अहिले नेपालका केही विश्वविद्यालय र विदेशका विश्वविद्यालयबीच साझेदारीपूर्ण शैक्षिक संरचना बनेको छ, जसले विद्यार्थीलाई सहयोगी र मैत्रीपूर्ण व्यवहार गर्छ । विदेशको ‘एजुकेसनल टेस्ट’ लिनका लागि त्यसले मद्दत गर्छ । त्रिभुवन विश्वविद्यालय र श्रीलंकाको रुहाना विश्वविद्यालयबीच पनि एउटा विषयमा यस्तै साझेदारी छ । विषय हो– द्वन्द्व, विकास तथा शान्ति अध्ययन । यस क्रममा दुई सेमेस्टर नेपालमा पढेर बाँकी दुई सेमेस्टर श्रीलंकामा गएर पढ्न पाउने व्यवस्था पनि छ । त्यसबाहेक पछिल्लो समयमा युरोपदेखि संयुक्त राज्य अमेरिकाका विभिन्न विश्वविद्यालयमा यस्तै किसिमको साझेदारी गर्न लागिपरेका छन् नेपालका विश्वविद्यालयहरू ।
नेपाल र विदेशको तुलना खुब गर्छन् उता (विदेश) को लाइफ टेस्ट गरेर आएकाहरू । पढ्न गएकाहरू नेपाल फर्केपछि संघर्षको यात्रामा हुन्छन् । तात्तातो मास्टर्स डिग्री लिएर आएका प्रेम भन्छन्– ‘हामी सम्भावनाको खोजी गर्दछौँ, हामीसँग ज्ञान, सीप र क्षमता छ, राज्यले केही न केही स्पेस दिनुपर्छ ।’ श्रीलंका र नेपाल उस्तै खाले द्वन्द्वमा फसेको थियो । त्यस द्वन्द्वलाई राम्रो तबरले श्रीलंकामा रूपान्तरण गरिएको उनीहरूको आँखाले देखेको छ । त्यही अनुभव र ज्ञानलाई रिफ्रेन्स लिँदै केशव भन्छन् ‘यहाँ द्वन्द्वको व्यवस्थापन मात्र गरिएको छ, रूपान्तरण गर्न बाँकी छ, त्यसका लागि ज्ञान र क्षमता चाहिन्छ । हो, हामी त्यो टेक्निकल स्किलसहित नेपाल फर्केका छौँ ।’
विदेशीे जिन्दगीबीच पनि उनीहरू नेपालकै सपना बोकिरहेका हुन्छन् । अस्ट्रेलियाको आधुनिक जिन्दगीसँग अभ्यस्त भइसकेका कृष्ण आफ्नो भविष्य नेपालमै देख्छन् । पढाइ सकेर नेपालमा आएरै काम गर्ने उनको सोच छ । त्यो सोच त्यहाँका समग्र नेपाली विद्यार्थीको प्रतिनिधि सोच भन्न रुचाउँछन् उनी । उतै बसेर ‘पिआर’मा एप्लाई गर्नेसँग पनि सपना भने नेपालसँगै जोडिएको हुन्छ रे । श्रीलंकाको सिस्टमको फ्यान भएका छन् केशव । उनीसँग त्यहाँको सिस्टमको रोचक स्मरण पनि छ । ‘मेरो साथीको सामानसहितको एउटा ब्याग हराएको थियो त्यो ब्याग जस्ताको तस्तै केही समयपछि फिर्ता पाइयो, त्यहाँ कुनै सामान हराउनै कठिन छ,’ उनले सुनाए ।
विश्वविद्यालयको छुट्टीसँगै नजिकैको समुद्र किनार पुगेर आनन्द लिनु, त्यहाँका माझीसँग संगत गर्दै परपर पुगेर माछा मार्नु, श्रीलंकाली साथीसँग सिंहाली भाषामा जिस्कनु अब अतीत भइसकेका छन् केशव र प्रेमका लागि । विदेशमा त्यही कुरा र प्रसंग मिस गर्छन् विद्यार्थी, जुन यहाँचाहिँ लास्टै झिँजो मान्छन् । ‘त्यहाँको स्वच्छ हावा, असल मानिसलाई कहिलेकाहीँ काठमाडौंको प्रदूषणले सम्झन बाध्य बनाइदिँदोरहेछ’ नोस्टाल्जिक भावमा प्रेम बोले । पार्टटाइम गरेर पढाइ खर्च जुटाइरहेका कृष्णका लागि अहिले समुद्र टाढा छैन । उनी समुद्रको छाललाई छुन जुनबेला पनि पुग्न सक्छन् । तर, उनले चाहिँ अहिले नेपालको डाँडा मिस गरिरहेका छन् । उनले खासमा त्यहाँको समुद्रको छालभन्दा पनि ‘संघर्ष’लाई देखिरहेका छन् । भन्छन्, ‘प्रत्येक पाइलामा संघर्ष छ यहाँ, इन्डिपेन्डेन्ट बन्न गतिलो पाठशाला बनेको छ संघर्ष ।’
थप मास्टर्स डिग्रीका लागि आइफोनमा विश्वविद्यालय सर्च गरिरहेका केशव यो देशसँग अहिले उति अपेक्षा राख्ने पक्षमा छैनन् । प्रत्येक ठाउँमा उनलाई राजनीतिको धुवाँ गनाउँदो रहेछ । यद्यपि ‘हल्लाखोर’ भएर बस्नुभन्दा प्रयास गर्नुपर्ने तर्क राख्छन् प्रेम । उनलाई लाग्छ, ‘प्रगति र अवसरका लागि प्रतिक्रियाको अन्तहीन शृंखला बन्द गर्नुपर्छ ।’ समस्याप्रतिको तीव्र प्रतिक्रियाबीच पनि विद्यार्थी विदेश जान छोडेका छैनन्, उनीहरूको विदेश सपनाले बिट मारेको छैन । त्यसैले त लाइन लागिरहन्छन् विद्यार्थी–कन्सल्ट्यान्सीहरूमा, एम्बेसीहरूमा, एयरपोर्टमा ।

प्रतिक्रिया