“डन” को अफिसका भित्ताभित्र पेस्तोल र गोली

काठमाडौं, ५ असोज । प्रहरीले ललितपुरका चर्चित ठेकेदार वीरेन्द्र महर्जनले ललितपुरको लेलेमा सञ्चालन गरेको ‘महर्जन रोडा ढुंगा उद्योग’बाट हतियार बरामद गरेको छ । आºनो कार्यालयको भित्ताभित्र उनले अत्याधुनिक दुईवटा पेस्तोल, लोड गरिएका चारवटा म्यागजिनसहित १७ राउन्ड गोली लुकाएर राखेका थिए ।
प्रहरीले महर्जनलाई भने पक्राउ गर्न सकेको छैन । उद्योगमा सुरक्षागार्ड बसेका मकवानपुर कुलेखानी–८ का दोर्जे लामालाई पक्राउ गरिएको छ । लामाले हतियारबारे आफूलाई जानकारी नभएको बयान प्रहरीलाई दिएका छन् ।
महर्जनसित हतियार भएको गोप्य सूचना पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरस्थित अपराध शाखा र प्रहरी वृत्त चापागाउँको प्रहरी टोलीले उनको उद्योगमा छापा मारेको थियो । उद्योगमा सबै खानतलासी गर्दा केही फेला नपरेपछि प्रहरीले महर्जनको कार्यालय रहेको कोठाको भित्ता फोरेको थियो । भित्ताभित्र हतियार फेला परेपछि प्रहरी टोली नै जिल्लिएको थियो ।
क्रसर उद्योगमा प्रहरी पुग्दा महर्जन कार्यालयमा थिएनन् । प्रहरीले उनको कार्यकक्षमा रहेका टेबुल, घर्रा, दराजदेखि कोठाको कुना–कुना ‘सर्च’ गर्‍यो । तैपनि, केही फेला परेन । केही प्रहरी सूचना ‘कन्फर्म’ गर्नतर्फ पनि लागे । हतियार महर्जनकै कार्यकक्ष भएको ‘कन्र्फम’ भएपछि प्रहरीले खोजी कार्य दोहोर्‍यायो । फेरि पनि केही भेटिएन । अन्तत: कोठाको भित्ता नै फोर्ने निष्कर्षमा प्रहरी पुग्यो ।
करिब आधा भित्ता भत्काएपछि प्रहरीले गाह्रोभित्र दुईवटा पेस्तोल, लोड गरिएको चारवटा म्यागजिनसहित १७ राउन्ड गोली बरामद गर्‍यो । ‘सुरुमा अफिसको खानतलासी लिइयो, केही नभेटिएपछि कोठाको गाह्रोभित्र लुकाइराखेको हुन सक्ने शंका भयो, फोरेर हेर्दा गोलीसहित पेस्तोल भेटियो,’ ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी वसन्त पन्तले भने ।
प्रहरीका अनुसार महर्जनको कार्यकक्ष रहेको भित्ताबाट मेडइन इटाली लेखिएको ७.६५ एमएम गोली लाग्ने अत्याधुनिक एक पेस्तोल, मेडइन बुल्गेरिया लेखिएको ९ एमएम गोली लाग्ने अर्को पेस्तोल र त्यसमा फिट हुने १७ राउन्ड गोली बरामद गरिएको छ । एसपी पन्तका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ । महर्जनले हतियार कुन प्रयोजनका लागि कहाँबाट ल्याए भन्ने अझै खुलेको छैन । ‘महर्जन फरार छन्, पक्राउ परेपछि  सबै भेद खुल्नेछ,’ पन्तले भने ।
को हुन् महर्जन ?
ललितपुरका चर्चित क्रसर उद्योग व्यवसायी वीरेन्द्र महर्जन ‘कुमारीपाटीका माडे’का रूपमा चिनिन्छन् । विवादमा आइरहने उनी ललितपुरका चिर्चित ठेकेदार पनि हुन् । ललितपुरमा हुने सबैजसो ठेक्कापट्टाको पहिलो हक उनैको हुने गर्छ । प्रहरीका अनुसार ठेक्कापट्टा लिनकै लागि उनले आपराधिक समूह गठन गरेको प्रहरीको दाबी छ ।
३ माघ ०५९ मा हत्या गरिएका बेबिलोन डिस्कोका मालिक राकेश लिम्बूका सहयोगी बताइने महर्जन ललिपुर क्षेत्रका ‘डन’ पनि मानिन्छन् । विभिन्न दलको राजनीतिक छत्रछायामा ठेक्कापट्टाको धन्दा सञ्चालन गर्दै आएका महर्जन एकताका रोयल क्यासिनोका मालिक तथा पूर्वराज ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहको विश्वासपात्र पनि मानिन्थे ।
सिंहसँग रहँदा उनले क्यासिनोमा खेल्नेहरूलाई चर्को ब्याजमा पैसासमेत लगाउने गरेको प्रहरी स्रोतको भनाइ छ । लेनदेनकै कारण झगडा परेपछि महर्जन सिंहबाट टाढिएका थिए । कुमारीपाटीमा ५० करोड मूल्यबराबरको भव्य महल बनाउँदै गरेका महर्जनलाई द्वन्द्वकालमा माओवादीले भौतिक कारबाही गर्ने सूचीमा राखेको  थियो ।
अहिले ललितपुरकै एक कांग्रेस नेतानिटक मानिने महर्जनले बेलाबखत गृहमन्त्री विजयकुमार गच्छदारको समेत सहयोग पाउँदै आएका छन् । स्रोतका अनुसार महर्जनले कुमारीपाटीका व्यापारीबाट रकम संकलन गरी गृहमन्त्री गच्छदार र शरद्सिंह भण्डारीलाई ‘उपहार’ भन्दै विलासिताका सामग्री उलब्ध गराएका थिए ।

प्रतिक्रिया